नाम मात्रको जिल्ला अस्पताल- कर्णाली - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नाम मात्रको जिल्ला अस्पताल

भीमबहादुर सिंह

जाजरकोट — जिल्ला अस्पताल जाजरकोटमा स्वास्थ्यकर्मी अभावले उपचारमा समस्या भएको छ । ४२ जना स्वास्थ्यकर्मीको दरबन्दी रिक्त भएपछि अस्पताल करार र प्रशिक्षार्थी स्वास्थ्यकर्मीको भरमा चलिरहेको हो । 

अस्पतालमा सात जना विशेषज्ञसहित ६५ जनाको दरबन्दी छ । तर विशेषज्ञ चिकित्सक, स्वास्थ्यकर्मी, औषधि, पूर्वाधार र उपकरणलगायतको अभाव भएपछि सामान्य बिरामीसमेत जिल्ला बाहिर गएर उपचार गराउन बाध्य छन् ।


‘अभावै अभाव भएको अस्पतालमा कसरी बिरामीको उपचार गर्ने ?,’ अस्पतालमा कार्यरत डा. अमीन शाहले भने, ‘अस्पतालको अवस्था हेर्दा दिक्क लागेर आउँछ ।’ अस्पतालबाट बिरामीलाई भरपर्दो उपचार सेवा दिन नसकिएको उनले बताए । अस्पतालमा एक जना पनि अनुभवी तथा विशेषज्ञ चिकित्सक नहुँदा भर्खर एमबीबीएस कोर्ष पूरा गरेका चिकित्सकले उपचार गर्दै आएका छन् । अस्पताल विकास समितिकी अध्यक्ष धर्मशीला बस्नेतले चालु आर्थिक वर्षमा काम सुरु गर्नेगरी सुविधासम्पन्न भवन निर्माणका लागि टेन्डर भइसकेको बताइन् । जनशक्ति, एम्बुलेन्स र उपकरणलगायतको माग गर्दै विभिन्न निकायमा धाए पनि बेवास्ता भएको उनको गुनासो छ ।


अस्पताललाई ४ वर्षअघि १५ बाट ५० शैय्यामा स्तरोन्नति गरिएको थियो । जनशक्ति तथा उपकरण नहुँदा अस्पताल आफै रोगीजस्तो बनेको स्थानीय युद्धजीत सिंहले वताए । ‘अन्यत्रको स्वास्थ्यचौकीले दिने सेवा पनि यो अस्पतालमा पाइँदैन,’ उनले भने । सम्बन्धित निकायले अस्पताल सुधारमा ध्यान नदिएको उनको आरोप छ । उनले अस्पतालमा सधैं औषधिको अभाव हुने गरेको सुनाए ।


स्वास्थ्यकर्मीको समायोजनले अस्पताल जनशक्तिविहीन बनेको हो । अहिले अस्पतालमा कार्यालय सहयोगीसहित २३ जना मात्र स्वास्थ्यकर्मी कार्यरत छन् । ८ स्टाफ नर्सको दरबन्दी रहेकोमा एक जना मात्र कार्यरत छिन् ।


स्वास्थ्य सेवा व्यवस्थापक, बालरोग, स्त्रीरोग, बेहोस बनाउने, जनरल फिजिसियन, अर्थोपेडिक सर्जन र पेडियाट्रिसियन गरी ७ जना विशेषज्ञ डाक्टरको दरबन्दी छ । तर कुनै पनि विशेषज्ञ चिकित्सक अस्पतालमा छैनन् । ३ जना मेडिकल अधिकृत र १ जना आयुर्वेद चिकित्सकको दरबन्दी पनि रिक्त छ । त्यस्तै मेडिकल ल्याब टेक्नोलोजिस्ट, रेडियोग्राफी टेक्नोलोजिस्ट र स्वास्थ्य सहायक पद लामो समयदेखि खाली छ । पब्लिक हेल्थ नर्स, ल्याब टेक्निसियन, फार्मेसी सहायक, एनेस्थेसिया सहायक, ल्याब असिस्टेन्ट र ३ अहेबको दरबन्दीसमेत रिक्त रहेको व्यवस्थापन समितिले जनाएको छ ।


स्वास्थ्य सेवा कार्यालयका प्रमुख डा.रवीन भुषालले बिरामीको संख्या दिनदिनै बढिरहेको बताए । ‘दैनिक १ सय ५० जनासम्म बिरामी आउने गरेका छन्,’ उनले भने, ‘तर भरपर्दो सेवा पाउन सकेका छैनन्, बाहिर रेफर गर्नुपर्ने बाध्यता छ ।’


स्वास्थ्यकर्मीलाई समयमै तलब र अतिरिक्त भत्ता दिन नसक्दा भएका जनशक्तिको पनि सदुपयोग हुन नसकेको उनको भनाइ छ । अस्पतालमा स्वास्थ्य बीमाको औषधि सकिएको र अन्य औषधि आपूर्ति नभएको उनले बताए ।

उनका अनुसार प्रदेश सरकारले कर्णालीमा काम गर्ने स्वास्थ्यकर्मीलाई १३५ प्रतिशतसम्म थप प्रोत्साहन भक्ता दिने निर्णय गरे पनि स्वास्थ्यकर्मी आउने छाँटकाँट देखिएको छैन ।


प्रदेश सरकारले जनस्वास्थ्य, जिल्ला अस्पताल र जिल्ला आयुर्वेद औषधालयलाई एउटै कार्यालय वनाएपछि व्यवस्थापन झन् लथालिंग छ । जनशक्ति पूर्ति र उपकरणको व्यवस्था नगर्दा अस्पताल नाम मात्रको बनेको अध्यक्ष बस्नेतले गुनासो गरिन् । उनले अस्पताल ५० शैय्या बनेदेखि नै विशेषज्ञ चिकित्सक जिल्लामा नआएको जानकारी दिइन् ।

प्रकाशित : माघ ३, २०७६ १०:४२
प्रतिक्रिया
पठाउनुहोस्

कति सुखी हुँदो हो जीवन

राजधानीका सडकमा गीत गाएर गुजारा चलाउने दृष्टिविहीनहरुलाई प्रहरीले पक्रेर अबदेखि सडकमा ‘गीत गाउन र माग्न पाइादैन’ भनेपछि उनीहरु धेरै डराएका छन् । काठमाडौंमा अनेक हन्डर खाएर बस्दै आएका उनीहरुको जीवनचर्या झनै कष्टकर भएको छ । 
जनकराज सापकोटा

काठमाडौँ — त्यस दिन काठमाडौं अलिक चिसो थियो । उनी गोकर्णस्थित डेरा नजिकैको पसलबाट आधा किलो मासु किनेर फर्किंदै थिए । बाटैमा एक साथीको पसलमा छिरे । 

साथीले सोध्यो, ‘यति थोरै मासु बोकेर काँ हिँड्या नि ?’
उनले भने, ‘एक जनालाई आधा किलो मासु कसरी थोरै हुन्छ ?’

साथीले अविश्वास गरेपछि त्यही पसलको तराजुमा मासु जोखे । तौल त जम्मा ३ सय ४० ग्राम रहेछ ! आफू ठगिएको थाहा पाएपछि उनी छामछाम छुमछुम गर्दै फेरि त्यही पसल पुगे । भने, ‘मैले त स्कुलमा ५ सय ग्रामको आधा किलो भनेर पढेको थिएँ । काठमाडौंमा ३ सय ४० ग्रामको आधा किलो हुन्छ ?’ पसलेले बदमासी लुकाउन मुखाले जवाफ फर्कायो, ‘कहिलेकाहीँ झुक्किहाल्छ नि ।’ उसले अपुग मासु झोलामा हालिदियो ।

पाइला–पाइलामा ठेस र प्रत्येक खरिदमा ठगीको तीतो अनुभव बटुलिरहेका यी २४ वर्षीय दृष्टिविहीन मध्यपश्चिमको एक जिल्लाबाट काठमाडौं आएर बस्न थालेको ३ वर्ष भयो । स्नातक तेस्रो वर्षमा अध्ययनरत उनी परीक्षाका बेला फुत्त गृह जिल्ला पुग्छन् अनि जाँच सकेर काठमाडौं आइहाल्छन् । लामो कुराकानीपछि उनले आफ्नो नाम समाचारमा नराख्न अनुरोध गरे ।

‘म काठमाडौंका कैयन् गल्लीहरूमा पुग्न सकेको छैन,’ उनले सुनाए, ‘किनभने ती गल्ली मजस्ता दृष्टिविहीन पुग्न सक्ने खालका छैनन् । कहाँनेर खाल्डो हुन्छ, कहाँनेर पसलेले सामान थुपारेको हुन्छ अनि कुन चोकमा मोटरसाइकल र गाडीको पार्किङ हुन्छ, अनुमानै हुन्न ।’ यति हुँदा पनि उनी जेनतेन काठमाडौंमै अडिएका छन् ।
000
पोखरा खाल्डे मूल घर भएका २७ वर्षीय कृष्ण विश्वकर्मा काठमाडौं छिरेको नौ वर्ष भयो । यो बीचमा उनले लेखाजोखा गर्नै नसकिने अनेकन सास्ती र हैरानी भोगेका छन् । ६ वर्षअघि उनले आफूजस्तै दृष्टिविहीनसँग मन साटे । अनि पशुपतिको गुह्येश्वरीमा केही साथीभाइ बोलाएर २० हजार खर्च गरेर बिहे उम्काए । उनले १५ सय रुपैयाँ हालेर पाइन्ट किनेका थिए । दृष्टिविहीन हो भन्ने बुझेर पसलेले बदमासी गरेछन् । नयाँ पाइन्टमा ठाँटिएर ससुराली पुगेपछि पो उनले थाहा पाए, पाइन्टमा प्वाल परेको रहेछ । उनले त्यो क्षण सम्झिँदै सुनाए, ‘म लाजले पानी–पानी भएँ । अनि त्यो पसलेलाई सम्झेर मनमनै सरापें ।’

फुटपाथमा रोकेर राखेका बाइकमा ठोक्किएर कैयन् पटक उनको ह्वाइट केन भाँच्चिएको छ । उनले सुनाए, ‘लट्ठी त हाम्रो आँखा हो नि । बाइकवालाहरूलाई यस्तो कुरा के था ?’ जेनतेन सडक पेटी पहिल्याएर हिँड्दा पनि उनी कतिपटक खाल्डोमा परे । कतिपटक उनका घुँडा र पन्जा दर्फराए, त्यसको हिसाबै छैन । ‘बिहान हिँडेको बाटोमा फर्किंदा खाल्डो पारिएको हुन्छ,’ उनले भने, ‘अनि त चिनेको बाटो पनि नचिनेको भइदिन्छ ।’
000
संखुवासभा, चैनपुर घर भएकी दृष्टिविहीन सुजाता लामा आफूजस्तै दृष्टिविहीन श्रीमान् पदम तामाङ, एक छोरा र पक्षाघातले थलिएका ससुरासँग कपनस्थित डेरामा बस्छिन् । उनका श्रीमान् कोटेश्वरको एक दोहोरी साँझमा गीत गाउँछन् । उनी कृष्णलगायतका साथीसँग बिहानैदेखि सडक छेउमा बसेर गीत गाउँछिन् ।

ठ्याक्कै मिति त याद छैन तर अघिल्लो वर्षको वैशाखको बेला थियो । सुन्धाराबाट गीत गाएर घर फर्किन उनी ६ बजेतिर सडक छेउ उभिएकी थिइन् । तीन घण्टा कुर्दा कुनै पनि सार्वजनिक सवारीले उनलाई चढाएनन् । उनी हात उठाउँथिन्, गाडी नजिक पनि जान्थिन् तर माहुरीको गोलोझैं यात्रुहरूको झुन्ड बसको ढोकामा भइसक्थ्यो । अनि सहचालकको प्राथमिकतामा उनी पर्दैनथिन् । त्यतिबेला उनको मन साह्रै कुँडियो । अरू यात्रुले जस्तै उनले पनि त भाडा तिर्ने थिइन् । अरूले जति नै ठाउँ ओगट्ने थिइन् । न सहचालकले सघाए, न त घर फर्किन हतारिएका यात्रुले । सानो छोरा र ससुरा भोकै उनलाई कुरिबसेको सम्झिएर उनको मन झनै पोल्यो । धन्न ९ बजेपछि एक जना महिला मोटरसाइकल चालकले उनलाई घर पुर्‍याइदिएर सहयोग गरिन् । भनिन्, ‘डेरामा बाबु र बुबा भोकै मलाई कुरिबसेका रैछन् । त्यो दिन भात पकाएर खाँदा त मध्यरातै भयो ।’

हातमा सेतो छडी देखेपछि हतपती रोक्न नमान्ने सार्वजनिक सवारी, दृष्टिविहीन भन्ने जानेर सवारीभित्र हुने दुर्व्यवहार । यतिसम्म त सहेकै थिइन्, सुजाताले । तर सडक छेउछाउमा बसेर गीत गाउन र बटुवाबाट केही रुपैयाँ थाप्न पनि पाइँदैन भन्ने कुरा सुनेपछि उनी झसंग भएकी छन् ।

उनी, कृष्ण र सुजाता काठमाडौंमा अडिनुका पछाडि एउटै आधार छ । उनीहरू तीनै जना अर्का एक दृष्टि भएका सहयोगी साथीसँग मिलेर सडकमा गीत गाउँछन् । ठ्याक्कै तीनै वर्षजति भयो उनीहरूले सँगै सडकमा गीत गाउन थालेको । यतिन्जेल खासै पीर थिएन । कहिले कहाँ, कहिले कहाँ पुगेर गीत गाउँथे । दयालु मन भएकाहरूले केही रुपैयाँ दिन्थे । घर फर्किने बेला उनीहरू हिसाब गरेर पैसा भाग लगाउँथे ।

तर गत मंसिर २९ गते प्रहरी परिसर काठमाडौंले बौद्ध परिसर बाहिर माग्न बसेका र गीत गाइरहेका २२ जना दृष्टिविहीनलाई पक्राउ गर्‍यो । प्रहरीले अबदेखि सडकमा बसेर गीत गाउँदै माग्न पाइँदैन भनेर चेतावनी दिएर उनीहरूलाई छाडिदियो । त्यसपछि उनीहरू धेरै डराएका छन् ।

आ–आफ्नै कथा
यी सबैसँग हैरानीले भरिएको उस्तैखाले वर्तमान मात्रै छैन । दु:खले भरिएको उस्तैखाले विगत पनि छ । २०५८ सालतिरको कुरा हो । कृष्ण लमजुङको सूर्यपालस्थित घर बसेर उनी नजिकैको स्कुलमा ७ कक्षा पढ्थे । छिमेकी साथीको घर बस्न गएको रात उनले घरबाट गुहार–गुहार आवाज आइरहेको सुने । उनी दगुर्दै घर पुगे । ढोका छिर्नै लाग्दा भित्रबाट निस्केका एक हूल मान्छेले उनीमाथि आक्रमण गरे । ती को थिए, लुटेरा कि माओवादीको लडाकु ? कि को ? उनले कहिल्यै पत्तो पाएनन् । घटनामा उनको दायाँ आँखामा गम्भीर चोट लाग्यो । उनका बाले घरेलु उपचार गरे तर पनि बीसको उन्नाइस भएन । ६ महिनापछि बाले उनलाई पोखराको घारेपाटस्थित अस्पतालमा लगेर उपचार गराए । त्यतिबेलासम्म गम्भीर चोटको असर अर्को आँखामा फैलिवरी उनी दृष्टिविहीन भइसकेका थिए । त्यसपछि कृष्णको मन गाउँमा अडिएन । उनी विरक्तिएजस्ता भए ।

उनले सुनाए, ‘प्रत्येक पाइलामा ठक्कर खाने, हिँड्न पनि सुर नपाउने भएँ । त्योभन्दा पनि ठूलो चोट सबैले कठैबरी भन्दै दया देखाउँदा भयो ।’ उनी बेसुरा जस्तै भए र काठमाडौं आइपुगे । उनको चिनजान काठमाडौं बस्ने स्याङ्जाका दृष्टिविहीन प्रेम भुसालसँग भयो । उनी प्रेमसँगै कहिले बागबजार र रत्नपार्कबीचको आकाशे पुलमा त कहिले जमलको आकाशे पुल छेउमा टुसुक्क बस्थे । प्रेम खैजडी बजाउँथे अनि उनी घाँटीमा भिरेको मादलको खरी झर्ला कि झैं गरेर बजाउँथे र आफ्नै सुरुमा गीत गाउँथे ।

कहिले गाउँथे– तिमी बरु फेरियौ नीरमाया, म त उस्तै छु...
कहिले गाउँथे– भीरैमा चर्‍यो माली गाई
रुवाउँदै रुवाउँदै देवले किन छुटाउँछ चोखो माया लाउनेलाई...

उनले सुनाए, ‘सुरु–सुरुमा त दिनभर मादल बजाउँदा हातभरि फोका उठ्थ्यो । रगत नै झर्ला कि जस्तो हात लिएर डेरा फर्किन्थें ।’

झन्डै तीन वर्ष त्यसरी गीत गाएपछि प्रेम आफ्नै स्वास्थ्य समस्याका कारण गाउँ फर्के । कृष्णले अरू ५ जना दृष्टिविहीन साथी जम्मा पारेर सडक छेउछाउमा बसेर दोहोरी गाउन थाले । धेरै जना एकै ठाउँ बसेर झमझमी दोहोरी गाउँदा बाटोमा हिँड्ने बटुवाको पनि ध्यान खिच्यो अनि दुई जना बस्दाभन्दा धेरै पैसा जम्मा हुन थाल्यो । सडक छेउछाउ बसेर गीत गाउँदा पैसा कमाउने थाहा भएपछि दृष्टिविहीनका अरू समूह पनि थपिए । कृष्णले सुनाए, ‘हामी जस्तै गाउनेहरूको संख्या धेरै भएपछि आम्दानी पनि कम हुन थाल्यो ।’

सडक छेउमा धूलो र धूवाँको मुस्लो खाँदै गीत गाउनु सोचेजस्तो सजिलो छैन । कृष्णका अनुसार सबै मान्छे उस्तै मनकारी पनि हुँदैनन् । उनले भने, ‘हामीले त दु:ख र विरह सुनाउने हो । बाटो हिँड्ने कसैले कठै भन्ला नि भनेर आशा गर्ने हो । मान्छेले मान्छेको दु:ख त देख्छ ।’ तर कोही कोहीले दु:ख देख्दैनन् । एकचोटि त्यस्तै भयो । चारवर्षे छोरालाई काखामा राखेर कृष्ण सुन्धाराको छेउमा एक्लै गीत गाइरहेका थिए । एउटा मान्छे आयो र भन्यो, ‘भाइ मलाई एक हजारको खुद्रा देऊ न ।’ उनले अप्ठ्यारोमा परेको मान्छे ठानेर गोजी टकटक्याएर खुद्रा दिए । तर त्यो मान्छे एक हजारको नोट नै नदिई सबै पैसा कुम्ल्याएर कुलेलम ठोक्यो । कृष्णले गुहार त मागे तर मान्छेको भीडमा उनको स्वर कतै हरायो । अनि उनी एक छेउ लागेर क्वाँक्वाँ रोए । उनको रुवाई कसैले सुनेन ।
पहिलो समूहका साथीहरू आ–आफ्नै बाटो लागेपछि कृष्णको समूहमा मध्यपश्चिमका नाम नखुलाउने तन्नेरी, संखुवासभाकी सुजाता र सल्यानका दीपेन्द्र विश्वकर्मा मिसिए । दृष्टि भएका दीपेन्द्रलाई भने उनीहरूले स्पिकर र माइक बोक्न, हिसाब मिलाउन सहयोगी हुन्छ भनेर लिएका हुन् । समूहका सबैभन्दा नयाँ सदस्य स्नातक तेस्रो वर्षमा अध्ययनरत यिनै २४ वर्षीय दृष्टिविहीन हुन् । पहुँचयुक्त संरचना नभएको गाउँले बसाइ, अवसरको कमी अनि दृष्टि नभएकाप्रति गरिने विभेदयुक्त व्यवहारले मन कुँडिएर उनी कामको खोजीमा काठमाडौं छिरेका थिए । ६ वर्षको उमेरमा दादुराको संक्रमण भएपछि उनी दृष्टिविहीन बनेका हुन् । उज्यालो र अँध्यारोको मधुरो रङ उनी छुट्याउँछन् तर संसारको रङ खुट्याउन त्यति पर्याप्त छैन । अनेकतिर भौंतारिँदा पनि काठमाडौंमा जागिर नपाएको समयमा उनको चिनजान कृष्णसँग भयो । आफ्नो समूहबाट दृष्टिविहीन कमल मगर छुट्टिएपछि कृष्ण पनि कसैलाई भित्र्याउने सुरमा थिए । भनेजस्तै भयो ।

सुजाता काठमाडौं छिरेको आधा दर्जन वर्ष भइसक्यो । डेरामा एक्लै बस्दाबस्दा उक्ताएकी उनी तीन वर्षअघि कृष्णको समूहमा मिसिइन् । उनी सखारै डेराबाट निस्केर गीत गाउन हिँड्छिन् र दिउँसो अबेला फर्किन्छिन् । त्यसपछि उनका दृष्टिविहीन श्रीमान् कोटेश्वरको दोहोरी रेस्टुरेन्टमा गीत गाउन हिँड्छन् । सुजातालाई पनि दोहोरीमै गीत गाउने मन छ । दोहोरी सकेर मध्यरातमा घर फर्किन पनि श्रीमान्लाई जस्तो सजिलो हुँदैन । त्यसो त गीत गाएर दिउँसै घर फर्किंदा पनि सार्वजनिक सवारीमा भनेजस्तो सजिलो हुन्न । उनले भनिन्, ‘बसहरू हामीलाई देख्दा हतपती रोक्न खोज्दैनन् । कहिलेकाहीँ अरू यात्रुले नै घर पुर्‍याइदिन्छन् ।’

पछिल्लो यात्रा
केही समय अघिसम्म उनीहरूसँग मादल र खैजडी मात्रै थियो । पछि आम्दानीको केही हिस्सा छुट्याएर उनीहरूले स्पिकर, माइक र ब्याट्री किने । सबै जोड्दा झन्डै १५ हजार लगानी भयो । सुरु–सुरुमा उनीहरू रत्नपार्क र जमलतिर बसेर गीत गाउँथे । यात्रुको चहलपहल हुने ती ठाउँमा उनीहरूजस्तै दृष्टिविहीनहरूको धेरै समूह भएपछि र महानगरपालिकाले सडकमा बसी गीत गाएर माग्ने कामलाई निषेध गर्ने नीति लिएपछि उनीहरूले आफ्नो ठाउँ बदले । हिजोआज उनीहरू जोरपाटी, नारायणटार, माकलबारी, दक्षिणढोका, मूलपानी र बोडेतिर घुम्छन् ।

उनीहरू अघिल्लो दिन नै भोलि बिहान कहाँ भेट्ने भनेर निधो गर्छन् । अक्सर बिहान साढे ७ बजेतिर कहिले जोरपाटी त कहिले कोटेश्वरमा भेला हुन्छन् । आज कहाँ गएर गीत गाउने भनेर तय गर्छन् । अनि मान्छेको चहलपहल हुने चोकको एउटा कुनामा आफैंले बोकेर लगेको प्लास्टिकको सानो टुलमा टुसुक्क बस्छन् । कृष्णले सुनाए, ‘हाम्रो उपस्थितिले कसैलाई अप्ठ्यारो पर्ला कि भनेर हामी सुरुमा माफी माग्छौं ।’ त्यसपछि पेन ड्राइभमा ल्याएको गीतको ट्र्याक दीपेन्द्रले स्पिकरबाट बजाउँछन् । अनि लय पक्रेर उनीहरू पालैपालो गीत गाउँछन् ।

उनीहरूले सबैभन्दा धेरै यही गीत गुनगुनाउँछन्–
मागे जति वरदान पाको भा
कति सुखी हुँदो हो जीवन, दुवै आँखा देख्न पाको भा...

सुजाताले सुनाइन्, ‘मन भएकाहरूले दुई–चार पैसा दिन्छन् । नभएका सरासर बाटो लाग्छन् ।’ १२/१ बजेसम्म गीत गाएपछि उनीहरू पैसाको हिसाब निकाल्छन् । सबैले भागशान्ति गर्छन् । कृष्णले केही दिन पहिले बोडेमा घाँटी सुक्ने गरी घन्टौं गीत गाउँदा पनि एक रुपैयाँ जम्मा नभएको सुनाए र भने, ‘कहिले भागमा ४/५ सय पर्छ, कहिले अलि कम । कहिले त खाली हात नै ।’

दैनिक आम्दानी उनीहरू खान–लाउन र कोठा भाडामा सक्छन् । कृष्णले भने, ‘कुनै बेला धेरै आम्दानी भयो भने रहर पनि पूरा हुन्छ ।’ २४ वर्षीय दृष्टिविहीनले आफ्नो नाम उल्लेख नगर्नुको कारण खुलाउँदै गर्दा अनुहारमा खुसीको पातलो धर्सो देखियो । उनी कसैसँग प्रेममा रहेछन् । आफ्नो दु:खको सबै कथा, सडकमा गीत गाउँदै माग्ने आफ्नो दिनचर्या बताएरै उनले प्रेम गाँसेका रहेछन् । उनले भने, ‘अहिले बिहेका लागि परिवारसँग कुरा भइरहेको छ । त्यही भएर हो ।’ यतिबेला उनीहरूको मनमा अर्कै डर हुर्किरहेको छ । बौद्धबाट प्रहरीले दृष्टिविहीन उठाएपछि र महानगरपालिकाले गीत गाएर पैसा माग्न नपाइने बताएपछि दान दिनेहरू पनि हच्किन थालेको उनीहरूको अनुभव छ । कृष्णले भने, ‘सरकारले खान, लाउन पुग्ने काम दिन्छ भने सडकमा धूलो खाँदै गीत गाउने रहर कसलाई हुन्छ र ?’

नेपाल नेत्रहीन संघका अध्यक्ष रमेश पोखरेललाई दुई साताअघि काठमाडौं महानगरपालिकाका एक कर्मचारीले फोन गरेर सडकमा गीत गाएर माग्न बस्नेलाई उठाउने कुरा सुनाएका थिए । जवाफमा उनले विकल्प नदिई उठाउने हो भने आफूहरू आन्दोलनमा उत्रने चेतावनी दिए । कान्तिपुरसँग उनले भने, ‘जबर्जस्ती रकम उठाएको हैन । गीत संगीत सुनाएर, मान्छेको मन खुसी पारेर पैसा मागेको हो । विकल्प नदिने तर जबर्जस्ती उठाउने हो भने त हामी सिंहदरबार घेर्छौं ।’ उनले कुनै उपाय नभएरै दृष्टिविहीनहरू सडकमा पुगेको उल्लेख गर्दै भने, ‘सरकारले दिने मासिक १६ सय भत्ताले के हुन्छ ?’ चार वटा स–साना प्लास्टिकका कुर्सी अनि स्पिकर डोकोझैं पिठ्यूँमा बोकेर अघि लागे दीपेन्द्र । उनकै पाखुरा समातेर तीनै जनाले ह्वाइट केन अगाडि लगाउँदै पाइला अगाडि बढाए ।

प्रकाशित : माघ ३, २०७६ १०:३७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×