कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मनबाट हटेन माघी

थारु समुदाय तीव्र बस्ती विकाससँगै भीडमा खुम्चिए पनि माघीको रौनक भने अहिले पनि उस्तै 
चाँदनी कठायत

(वीरेन्द्रनगर) — सुर्खेत उपत्यकामा थारू जाति अन्य जातिभन्दा झण्डै २४ वर्ष जेठो मानिन्छन् । २००० सालमा दाङबाट थारू बसाइँ सरेर उपत्यकामा बस्न थाले, जति बेला अन्य जातिका मान्छेहरू औलोको डरले उपत्यकाको डाँडाकाँडातिर बस्थे । २०२४ सालमा औलो उन्मूलन भएपछि मात्र उपत्यकामा अन्य जातिको बसाइँ सुरु भएको हो ।

मनबाट हटेन माघी

अहिले सुर्खेत उपत्यका विभिन्न जाति, वर्ग र समुदायको साझा फूलबारी भएको छ । यसको प्रभावस्वरुप उतिबेलाका भूमिपुत्र थारु समुदाय उपत्यकाको केन्द्र भागबाट सीमान्तकृत भएका छन् । उनीहरूको माघी–संस्कृति उत्तिकै जीवन्त छ । ‘अनेक संस्कृतिबीच हाम्रो संस्कृति पनि बाँचिरहेको छ,’ थारु अगुवा जग्गुलाल चौधरी भन्छन्, ‘कहिलेकाहीँ थारुहरूको चाड भनेर हेपिएको महसुस हुन्छ, तैपनि हामीले हाम्रो पर्वलाई मनाइरहेका छौं ।’ कुनै समय उपत्यकामा एकछत्र राज रहेको थारुमाथि अहिले बाह्य समुदायबाट हस्तक्षेपसमेत भएको उनले बताए ।


२०६८ सालको जनगणनाअनुसार सुर्खेतमा थारूहरूको संख्या ६ हजार ६ सय ३१ रहेको छ । सुर्खेत उपत्यकामा बसोवासको सुरुवात गरेका थारु समुदाय अहिले सर्दै–सर्दै वीरेन्द्रनगर नगरपालिकाको तल्लो भेगमा पुगेका छन् । बजार क्षेत्रमा थारु समुदायको बसोबास नरहेको थारु कल्याणकारी सभाका अध्यक्ष बेचुलाल चौधरीले बताए । उनका अनुसार पहिले थारु समुदाय हालको मुख्य बजार क्षेत्र रहेको ठाउँमा बस्थ्यो । अहिले नगरपालिकाको २, ३, ८, ९, १० ११ र १२ नम्बर वडामा थारुहरूको बसोबास छ । ‘विस्तारै हाम्रा पुर्खाले आफ्नो घर जग्गा गुमाए, हामी तलतिर झर्‍यौँ,’ उनले भने, ‘अहिले त जताततै अन्य समुदायको बसोबास रहेको छ ।’


तीव्र बस्ती विकाससँगै भीडमा खुम्चिए पनि माघीको रौनक भने अहिले पनि उस्तै रहेको थारूहरू बताउँछन् । वीरेन्द्रनगर–१२ का स्थानीय सञ्जुसिंह चौधरीले बरु अन्य समुदायका व्यक्तिले माघीलाई ‘थारूको चाड’ भनेर चिन्ने गरेका बताए । वीरेन्द्रनगर नगरपालिकामा थारू समुदायका ३६ वटा गाउँ छन् । थारूहरूले माघ १ गतेदेखि नयाँ वर्ष थालनी भएको मान्छन् । त्यसैले पुस मसान्तमा गत सालको सबै कारोबारको अन्त्य र माघ १ गतेदेखि नयाँ करोबारको थालनी गर्ने चलन रहेको छ ।


सोही परम्पराअनुसार माघीको पहिलो हप्ताभित्र घरका सबैजना बसेर घर व्यवहारबारे छलफल थालिसकिएको सञ्जुसिंहले बताए । ‘सामूहिक कामकाजको सम्बन्धमा छलफल गरी गाउँको नेतृत्वकर्ता बडघर, चौकीदार, गुरुवा, केसौका, चिखया चयन गरिन्छ,’ उनले भने, ‘यसको लागि सबै गाउँमा छलफल सुरु भइसकेको छ ।’ थारु समुदाय माघीसहित अटुवारी, गुरही, अष्टिम्की (कृष्णाष्ठमी), दसैं–तिहार, धान रोपेर सकिएपछि हर्धावा, धान काटेर भित्र्याएपछि तेन्द्या, होरीलगायत पर्व मनाउने गर्दछन् । उतिबेलाको सुर्खेत उपत्यका सांस्कृतिक रुपमा समेत बहुरङ्गी भएको छ । यसले थारूको दसैं (माघी)लाई ओझेलमा पारेको छैन, बरु झन्–झन् जीवन्त बनाएको छ ।


थारू कल्याणकारीणी सभाका अध्यक्ष चौधरीका अनुसार थारु जाति सोझासिधा भएकैले किनारामा पारिएका हुन् । उनीहरूलाई बाहिरबाट आएकाहरूले एक गिलास रक्सी खुवाएर जग्गा हत्याएका थिए । यसले गर्दा उपत्यकाको मुटुबाट थारूहरू किनारामा धकेलिए पनि उनीहरूको पर्वलाई भने अन्य जातजातिले पनि उत्तिकै माया गरिरहेका छन् । ‘टाठाबाठाको मायाजालमा परेर हामीले हाम्रो घरजग्गा उनीहरूको कब्जामा परेको पत्तै पाएनौं,’ उनले भने, ‘हामी जहाँ पुगे पनि हाम्रो माघी भने हामीसँगै छ ।’ पछिल्लो समय सुर्खेत उपत्यका हुने विभिन्न मेला–महोत्सवमा पनि थारु संस्कृति निकै रुचाइने उनले बताए ।

प्रकाशित : माघ १, २०७६ १०:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?