कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

१७ वर्षपछि गाउँमा सडक

हरि गौतम

रुकुम पश्चिम — मुसीकोट नगरपालिका–१० गलमपाटीका ६८ वर्षीय दलबहादुर बुढा दंग छन् । केही दिनअघि उनको घरको मुनि भएर सडक खनियो । आश मारिसकेको योजना अघि बढेर सडक नै बनेपछि बुढा खुसी छन् । 

१७ वर्षपछि गाउँमा सडक

उनी मात्र होइन, छिमेकी दामोदर बुढाको सडक सपना वर्षौंपछि पूरा भएको छ । बुढाको घरमाथि हुँदै गलमपाटी गाउँमा सडक पसेको छ । गाउँलाई बीचमा पारेर खनिएको यो सडक धेरै वर्षअघि नै बन्नुपर्ने हो । लामो समयसम्म रोकिएको सडक निर्माण सुचारु भएपछि गलमपाटीका बासिन्दा दंग छन् । सबैतिर सडक पुगे पनि नगरपालिकाभित्रकै गलमपाटी गाउँ सडक सञ्जालमा जोडिन सकेको थिएन । ‘हरेक वर्ष बजेट पर्ने तर सडक निर्माणले खासै गति नलिने भएको थियो,’ दलबहादुरले भने, ‘लामो समयसम्म पनि सडक नबनेपछि हामीले आश मारिसकेका थियौं ।’ अब सडक बनेपछि गाउँमा अन्य सुविधा पनि थपिने उनको अपेक्षा छ ।’


गलमपाटीलाई जोड्न जिल्लाकै पहिलो ग्रामीण सडकको योजना बनेको थियो– शितलपोखरी–झुल्खेत–चुनवाङ सडक । झुल्खेत र चुनवाङको बीचमा पर्ने गलमपाटीमा निर्माण थालिएको १७ वर्षपछि सडक पुगेको हो । साविक जिल्ला विकास समितिले २०५९ सालमा सडक निर्माण थालेको थियो । राप्ती लोकमार्गमा जिल्ला जोडिएपछि शीतलपोखरीबाट साँख, चौखावाङ हुँदै चुनवाङलाई सदरमुकाम मुसीकोटसँग जोड्ने सडक निर्माण गर्ने जिविसको योजना थियो ।


ग्रामीण सडक सञ्जाल सुधार आयोजनाले ‘आस्फल्ट कंक्रिट’ प्रविधिको सडक निर्माण गरिरहेको छ । ३५ किलोमिटर लामो सडककमध्ये करिब साढे १८ किलोमिटर सडकलाई ‘आस्फाल्ट कंक्रिट’ बनाइन लागिएको आयोजनाले जनाएको छ । सडकमा उच्च गुणस्तरीय कालोपत्र गरिनेछ । सडकमा ३० एमएम बाक्लो कालोपत्र गरिने आयोजनाले जनाएको छ । सडक ४८ करोड ९४ लाख रुपैयाँको लागतमा निर्माण भइरहेको हो । ५ वर्षमा निर्माण भइसक्ने सडक मुसीकोट नगरपालिकाको ४, ७, ९ र १० नम्बर वडामा पर्छ । सडक निर्माणको जिम्मा पीएच/शंकरमाली निर्माण सेवाले लिएको छ । सडक निर्माणको काम धमाधम चलिरहेको निर्माण कम्पनीले जनाएको छ ।


साढे १८ किलोमिटरमध्ये पहिलो ट्र्याक खोल्न साढे २ किलोमिटर मात्रै बाँकी छ । रुकुम पश्चिमको मुसीकोट नगरपालिकाभित्र पर्ने सम्पूर्ण गाउँमा सडकको ट्र्याक खोलेर रुकुम पूर्वतर्फ निर्माण गरिरहेको आयोजनाले जनाएको छ ।


सडक निर्माणको काम सकिए रुकुम पूर्वको भूमे र रोल्पाको परिवर्तन गाउँपालिकामा पनि सडक सुविधा पुग्नेछ । सबैभन्दा पहिले सुरु भएको गाउँ छिर्ने सडक सबैभन्दा पहिला पक्की हुने भएपछि खुसी लागेको जनता आधारभूत विद्यालय गलमपाटीका प्रधानाध्यापक चूडामणि रोकायले बताए । ‘सडक निर्माण सुरु भएदेखि गाउँमा सडक आएको देख्न चाहने धेरै जनाको इच्छा पूरा हुन सकेको थिएन,’ उनले भने, ‘अब सडक पक्की नै हुने भएपछि गाउँले दंग छौं ।’


ठेकेदार कम्पनीले ट्र्याक खोल्ने, डबल कटिङ गर्नेलगायत अन्य कामलाई तीव्रता दिइरहेको १० नम्बर वडा सदस्य धनबहादुर खड्काले बताए । ‘हाम्रो र स्थानीयको दबाब पनि निरन्तर रह्यो,’ उनले भने । आयोजना सुरु हुनुअघि हरेक वर्ष विनियोजन हुने १० लाखदेखि २० लाख रुपैयाँ मर्मतमै सकिने गरेको थियो । यसअघि १५ वर्षमा सडकको ११ किलोमिटर मात्रै ट्र्याक खोलिएको थियो ।

प्रकाशित : पुस २९, २०७६ ०९:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?