कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

एक सातादेखि सञ्चार सम्पर्क विच्छेद

राजबहादुर शाही

मुगु — हिमपातका कारण एक सातादेखि जिल्लाभर सञ्चार सम्पर्क विच्छेद भएको छ । हिमाली बस्तीमा बाक्लो हिउँ परेका कारण टेलिफोन सेवा अवरुद्ध भएको हो । जसका कारण जनजीवन कष्टकर बनेको छ ।

पुस १८ को भारी हिमपातका कारण टेलिफोन सेवा अवरुद्ध बनेको हो । हिमपातले टावरमा क्षति पुर्‍याएपछि टेलिफोन, जिएसएम मोबाइल र इन्टरनेट सेवा ठप्प छ । नेपाल टेलिकमको सिडिएए प्रविधिको टेलिफोन र मोबाइलले समेत राम्ररी काम नगरेको स्थानीयको गुनासो छ । टेलिफोन अवरुद्ध भएपछि स्थानीयबासी आफन्तसँग सम्पर्कविहीन बनेका हुन् । सञ्चार सेवा अवरुद्ध भएको एक साता बित्दासमेत मर्मत नहुँदा स्थानीयबासी सास्ती भोग्न बाध्य छन् ।


सञ्चार समस्याकै कारण गत बुधबार रोवास्थित जिउकाकी ३५ वर्षीया सुत्केरी धनरुपा विकले ज्यान गुमाइन् । सञ्चार सम्पर्क भइदिएको भए जिल्ला अस्पतालबाट एम्बुलेन्स बोलाएर उनको ज्यान बचाउन सकिने परिवारको भनाइ छ ।


इन्टरनेट सेवा बन्द हुँदा सरकारी र गैरसरकारी कार्यालयका कामकाज प्रभावित बनेका छन् । स्थानीय सञ्चार माध्यममा समेत यसको असर परेको छ । ‘इन्टरनेट चलाउन नपाउँदा समाचार सम्प्रेषणमा समस्या भएको छ,’ स्थानीय सञ्चारकर्मी कविराज कार्कीले भने, ‘आजभोलि भन्दाभन्दै धेरै दिन बितिसक्यो, सञ्चार समस्याकै कारण सानो काममा पनि सास्ती ब्यहोर्नु परिरहेको छ ।’


एक सातादेखि सदरमुकाम गमगढीसँग ग्रामीण क्षेत्रको सम्पर्क विच्छेद भएको छ । रुघा, कार्कीबाडा, रोवा, पिना, बालै, मुन्दु, ताल्चा, भामबाडा, श्रीनगरलगायत क्षेत्रमा सञ्चार सम्पर्क हुनसकेको छैन । इन्टनेट नहुँदा आर्थिक कारोबारमा समस्या भएको बैंक तथा वित्तीय संस्थाका प्रतिनिधिको गुनासो छ । कृषि विकास बैंक, राष्ट्रिय वाणिज्य बैंक र एनआइसी एसिया बैंकले चेक भुक्तानी गर्न र रकम जम्मा गर्न समस्या भएको जनाएका छन् । जिल्लाबाहिर रकम पठाउन समस्या भएको वित्तीय संस्थाको गुनासो छ । सञ्चार सेवा अवरुद्ध हुँदा कामकाज ठप्प जस्तै बनेको ज्योति लाइफ इन्स्योरेन्सका जिल्ला संयोजक अच्युत भण्डारीले दुःखेसो पोखे ।


जिल्लाभरका अधिकांश सरकारी कामकाज समेत प्रभावित बनेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । जिल्ला तथा माथिल्लो तहका निकायमा सम्पर्क हुन नसकेको हो । भारी हिमपातका कारण कालीकोटको महाबु लेकमा रहेको टावर बिग्रिएपछि नेटवर्कमा समस्या भएको नेपाल टेलिकम, क्षेत्रीय निर्देशनालयले जनाएको छ ।


समुद्र सतहदेखि ३ हजार ६ सय फिट उचाइमा रहेको महाबु लेकमा करिब ७ फिटसम्म हिउँ जमेको छ । भारी हिमपातका कारण सो स्थानमा प्राविधिक पुग्न नसक्दा समयमै समस्या समाधान गर्न नसकिएको निर्देशनालयका प्राविधिक प्रमुख शिवराज खनालले बताए । ‘टावर क्षेत्रमा बाक्लो हिउँ जमेकाले हेलिकोप्टर ल्यान्ड गर्न पनि समस्या छ, मर्मतका लागि गएका प्राविधिक बीच बाटोमै अलपत्र परेका छन्,’ उनले भने, ‘हिउँ पग्लिन सुरु भएपछि टावर मर्मतको काम सुरु गरिनेछ ।’ उनले टावर मर्मत हुन अझै केही दिन लाग्ने जानकारी दिए ।


टेलिफोन र इन्टरनेट समस्याका कारण कर्णालीको प्रमुख पर्यटकीय गन्तव्य रारा घुम्न आएका पर्यटकलाई समेत समस्या भएको छ ।महाबु लेकमा टावर बिग्रिएपछि छिमेकी जिल्ला हुम्लामा पनि १ सातादेखि सञ्चार सेवा अवरुद्ध छ ।

प्रकाशित : पुस २८, २०७६ ११:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?