उद्योगले थाल्यो मादल उत्पादन

विप्लव महर्जन

(सल्यान) — शारदा नगरपालिका–१ श्रीनगरमा मादल उद्योग स्थापना भएको छ । २ युवा व्यवसायीले उद्योग सञ्चालन गरी मादलको व्यवसायिक उत्पादन थालेका हुन् । यहाँको मादल दाङ, नेपालगन्ज, सुर्खेत र बुटवललगायत ठाउँमा निकासी हुने गरेको उद्योग सञ्चालक प्रदीप चन्दले बताए ।

उद्योगले थाल्यो मादल उत्पादन

उद्योगबाट दैनिक ६ मादल उत्पादन भइरहेका छन् । एउटा मादलको मूल्य १ हजार ८ सयदेखि २ हजार रुपैयाँसम्म रहेको छ । उद्योगमा बादी समुदायका व्यक्तिले नियमित रोजगारी पाइरहेका छन् । उद्योग सञ्चालन गरेपछि गाउँगाउबाट मादलको माग आउन लागेको सञ्चालक चन्दले बताए । उद्योगमा कच्चापदार्थ काठमाडौंबाट ल्याइने गरिएको छ । उनले ३ जनालाई रोजगारीसमेत दिएको जानकारी दिए । एक जनाले दैनिक २ मादल उत्पादन गरिरहेको चन्दको भनाइ छ ।


‘विभिन्न मेलापर्व, चाडबाड र औपचारिक कार्यक्रममा मादलको माग हुन थालेपछि उद्योग नै सञ्चालन गरेको हुँ,’ उनले भने । उनले मादललाई सजावटको सामग्रीको रुपमा प्रयोग गर्ने क्रम बढेपछि माग पुर्‍याउन भ्याइनभ्याइ भएको जनाए । उद्योग स्थापनाले लोपोन्मुख मादल संरक्षणमा पनि टेवा पुर्‍याइरहेको अर्का सञ्चालक मित्रलाल भण्डारीले बताए । उनका अनुसार उद्योगमा मासिक खर्च कटाएर ५० हजार रुपैयाँ आम्दानी भइरहेको छ । ‘मादल बनाउने कच्चा पदार्थ जिल्लामा नपाउने भएकाले काठमाडौंबाट ल्याउनुपर्दा उत्पादन केही महँगो पर्न गएको छ,’ उनले भने, ‘जिल्ला बाहिरबाट समेत माग बढ्न थालेपछि कालीगढलाई भ्याइनभ्याइ छ ।’


बजार तथा कच्चा पदार्थको अभावमा एक दशकअघि मादल बनाउने पेसा छाडेका सिद्धकुमाख गाउँपालिका–३ का छविलाल नेपालीले उद्योगबाट नियमित रोजगारी मिलेको बताए । ‘जीविकोपार्जनमा समस्या भएपछि मादल बनाउने पुर्ख्यौली पेसा छाडिएको थियो,’ उनले भने, ‘अहिले यही सीप नै आम्दानीको मुख्य स्रोत बनेको छ ।’ उद्योगमा रोजगारी पाएपछि घरखर्च चलाउन र छोराछोरीलाई पढाउन सजिलो भएको उनको भनाइ छ । जिल्लाको एक मात्र उद्योग भएकाले पुराना मादल मर्मतको चापसमेत बढेको उनी बताउँछन् ।


उद्योगमै रोजगारी पाइरहेका अर्जुन बादीले पुर्ख्यौली सीप प्रयोग गरी परिवार पाल्न सजिलो भएको सुनाए । उनले उद्योगबाट मासिक १६ हजार रुपैयाँ आम्दानी भइरहेको सुनाए ।

प्रकाशित : पुस २५, २०७६ १०:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारले यस वर्ष ल्याउने वार्षिक नीति तथा कार्यक्रम मुख्य रुपमा कुन क्षेत्रमा बढी केन्द्रित हुनुपर्छ ?