नगरबाटै विद्यालय अनुगमन

प्रविधिबाट गरिने अनुगमनले शिक्षकलाई अनियमित हुन तथा लापरबाही गर्न रोकेको छ
हरि गौतम

(रुकुम पश्चिम) — चौरजहारी नगरपालिका–५ स्थित माध्यमिक विद्यालय खहरेका प्रधानाध्यापक नेत्रबहादुर बुढाले मंसिरमा दुई दिन नगरका पदाधिकारीलाई स्पष्टीकरण दिए । नगरको शिक्षा, युवा तथा खेलकुद शाखाबाट उनलाई विद्यालयमा किन हाजिर नभएको भनेर सोधियो । कालिका आधारभूत विद्यालयका प्रधानाध्यापक लालबहादुर घर्तीले गत असोजमा पहिलो मौखिक स्पष्टीकरण दिए । 

नगरबाटै विद्यालय अनुगमन

दुवै विद्यालयका प्रधानाध्यापकलाई विद्यालयमै गएर स्पष्टीकरण सोधिएको होइन, न उनीहरूलाई नगरपालिकामै बोलाइयो । २ नम्बर वडाको विजयेश्वरीडाँडामा रहेको शाखाबाटै उनीहरूलाई फोनमार्फत स्पष्टीकरण सोधिएको हो । शाखाले कार्यालयबाटै विद्यालयको अनुगमन गर्ने गरेका उदाहरण हुन् यी ।


शाखाले नगरभित्रका २३ विद्यालयको अनुगमन विद्यालय नपुगेरै गरिरहेको छ । शैक्षिक परामर्श तथा प्रविधि कार्यक्रममार्फत नगरपालिकाले विद्यालयको गतिविधि कार्यालयबाटै अनुगमनको व्यवस्था मिलाएको हो । नगरपालिकामा रहेका ४० विद्यालयमध्ये पहिलो चरणमा २३ विद्यालयमा कार्यक्रम लागू छ ।


पठनपाठनमा लापरबाही गर्ने, समयमा नआउने, समय नहुँदै विद्यालय छाड्ने शिक्षक र विद्यालय नआउने विद्यार्थीको अनुगमनका लागि कार्यक्रम सुरु गरिएको शिक्षा, युवा तथा खेलकुद शाखा संयोजक शेरप्रसाद ढकालले बताए । २३ विद्यालयलाई इन्टरनेट र सफ्टवेयरमार्फत कार्यालयमा जोडिएको छ । शिक्षकले विद्यालयमा गर्ने हाजिरीको जानकारी शाखामा इन्टरनेटमार्फत पुग्ने गरेको छ ।


गत वर्षदेखि नै ९ माध्यमिक, ८ आधारभूत (१–८) र ६ प्राथमिक गरी २३ विद्यालयको अनुगमन कार्यालयबाटै भइरहेको शाखाले जनाएको छ । ‘को शिक्षक आयो, को आएन, कसले आधा दिनमै विद्यालय छाड्यो भन्नेबारे हामीलाई दैनिक जानकारी हुन्छ,’ ढकालले भने, ‘विद्यार्थीको उपस्थिति दर समेतको अनुगमन कार्यालयबाटै भइरहेको छ ।’ विद्यालयमा शिक्षकबाट हुने लापरबाही र विद्यार्थीले गर्ने कमजोरीको अनुगमन गर्नका लागि नगरपालिकाले यस्तो विधि अपनाएको उनले जानकारी दिए । उनका अनुसार २३ विद्यालयका सबै शिक्षकको रेकर्ड कार्यालयमा पुग्नेगरी राखिएको छ ।


शिक्षकले विद्यालयमा पुग्नेबित्तिकै डिजिटल हाजिरीमा उपस्थिति जनाउँछन् । उक्त उपस्थिति सफ्टवेयरमार्फत सोझै शिक्षा, युवा तथा खेलकुद शाखा कार्यालयमा पुग्छ । शिक्षक विद्यालय नआएको यसैबाट थाहा हुने ढकालले जनाए । जानकारी आएपछि शाखाले आवश्यक निर्णय लिने गरेको छ । २३ मध्ये कति विद्यालयका विद्यार्थीको पनि हाजिरी कार्यालयमा पुग्ने गरेको छ । सबै विद्यार्थीको उपस्थिति हेर्नेगरी मिलाउने काम भइरहेको शाखाले जनाएको छ ।

‘शैक्षिक परामर्श तथा प्रविधि कार्यक्रमले शिक्षकलाई अनियमित हुन तथा लापरबाही गर्नबाट रोकेको छ,’ संयोजक ढकालले भने, ‘यो कार्यक्रम सुरु गरिएपछि शिक्षकहरू दौडादौड गरेर भए पनि समयमै विद्यालयमा पुग्न थाल्नु भएको छ, विद्यालय विदा नभई विद्यालय छाड्ने क्रम अन्त्य भएको छ ।’ उनले चालू आर्थिक वर्षभित्रै सबै विद्यालयमा कार्यक्रम लागू गरिने जानकारी दिए । त्यसको तयारीस्वरुप सबै विद्यालयमा नगरपालिकाले इन्टरनेट जडान गरिसकेको छ ।


कार्यक्रमका लागि नगरपालिकाले विद्यालयलाई अनुदान दिएको छ । प्रतिमाध्यमिक विद्यालय २ लाख २० हजार, आधारभूत विद्यालय (१–८) १ लाख ९६ हजार र प्राथमिक विद्यालय (१–५) लाई १ लाख ९० हजार रुपैयाँ अनुदान दिइएको थियो । पछिल्लो पटकको प्रविधिले शिक्षक तथा विद्यार्थीलाई नियमित बनाइरहेको मावि खहरेका प्रधानाध्यापक बुढाले बताए । विद्यालयको सबै गतिविधि सोझै कार्यालयमा पुग्ने भएकाले शिक्षक र विद्यार्थी अनुशासित हुन बल पुगेको उनको भनाइ छ ।


बालबालिकाको रुचि र युग सुहाउँदो शिक्षण पद्धतिका लागि शैक्षिक परामर्श तथा प्रविधि कार्यक्रम सुरु गरिएको नगरपालिका प्रमुख विशाल शर्माले बताए । ‘यो विज्ञान र प्रविधिको युग हो भन्ने तर वैज्ञानिक प्रविधिलाई विद्यालय शिक्षामा नजोड्ने भन्ने सुहाएन,’ उनले भने, ‘शिक्षण सिकाइमा समेत प्रविधिलाई प्राथमिकतामा राखेका छौं ।’


प्रकाशित : पुस २५, २०७६ १०:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कोशीका मुख्यमन्त्री हिक्मत कार्कीले विश्वासको मत लिँदा प्रदेश सभाको बैठकमै उपस्थित नहुने कांग्रेसको शैलीबारे तपाईंको के टिप्पणी छ ?