कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सधैं जडीबुटी खोज्न दौडधुप

एलपी देवकोटा

जुम्ला — वर्षको आधा समय उनको पाटनमै बित्छ । पातारासी–३ का राज्य बोहरा वैशाखदेखि करिब तीन महिना यार्चा टिप्न जान्छन् । हिउँद लागेपछि फेरि सेतकचिनी र भुत्लेलगायत जडीबुटी टिप्न पाटन उक्लन्छन् । जडीबुटी संकलनबाटै आठ जनाको परिवार धानिरहेका छन् ।

सधैं जडीबुटी खोज्न दौडधुप

‘बुटी टिप्न जाँदा दुःख–कष्ट त हुन्छ, तर त्यति नगरी पेट पाल्न सकिँदैन,’ उनी भन्छन् ।जुम्लामा जडीबुटी संकलनको भरमा जीवन धान्ने बोहरा एक्ला होइनन् ।


जुम्लाका विभिन्न गाउँका बासिन्दा बर्सेनि उनी जसरी पैसा कमाउन पाटन जाने गर्छन् । बुटी टिप्ने यात्रा जोखिमपूर्ण भए पनि आम्दानीको आसले उनीहरू पाटन उक्लन्छन् । विशेषगरी जिल्लाको पातारासी, गुठीचौर, तिला, हिमा, सिंजा, कनकासुन्दरी र तातोपानी गाउँपालिकाका बासिन्दा जडीबुटी संकलनका लागि पाटन जान्छन् ।


पातारासी गाउँपालिकाकै हिरा बुढा जडीबुटीबाट वर्षमा करिब ५ लाख कमाउँछन् । सिजनमा उनको परिवारका सबैजना पाटन जान्छन् । जडीबुटी जुम्लाका स्थानीयका लागि आम्दानीको भरपर्दो स्रोत हो ।


डिभिजन वन कार्यालयका अनुसार जुम्लाका विभिन्न पाटनमा ७० भन्दा धेरै प्रकारका जडीबुटी पाइन्छन् । तीमध्ये ५० देखि ५५ प्रकारका जडीबुटी कानुनी रूपमा संकलन र बिक्री गर्न पाइन्छ । कार्यालय प्रमुख दिनेश खत्रीले गत आर्थिक वर्षमा जडीबुटी निकासी तथा संकलन पुर्जीबापत ६८ लाख रुपैयाँ राजस्व संकलन भएको बताए । उनका अनुसार यो वर्ष सबैभन्दा बढी सेतकचिनी संकलन गरिएको छ । सेतकचिनीको २७ हजार ३ सय केजीको संकलन पुर्जी काटिएको उनले जानकारी दिए । धुपीको ३५ हजार केजी र पदमचालको ३१ हजार केजीको संकलन पुर्जी काटिएको छ ।


पातारासी गाउँपालिकाबाट मात्र करिब १३ हजार जना जडीबुटी संकलनका लागि पाटन जाने गरेका अध्यक्ष लक्षीमन बोहरा बताउँछन् । ३२ सय घरधुरी रहेको गाउँपालिकाका ८० प्रतिशत जडीबुटी संकलनमा संलग्न छन् । उनले भने, ‘पहिले–पहिले यार्चा टिप्नमात्रै जान्थे । अचेल भने सेतकचिनी कुट्की, जटामसी, वन लसुन र पाखनवेद धेरै टिप्ने गर्छन् ।’ तिला गाउँपालिकाको पाटन पनि जडीबुटीका लागि आकर्षक मानिन्छ । यहाँका स्थानीय जडीबुटी संकलनका लागि छिमेकी जिल्लाका पाटनमा समेत पुग्ने गर्छन् । यार्चालगायत जडीबुटी


टिप्नका लागि डोल्पा, मुगु, जाजरकोटका पाटनमा पुग्ने गरिएको स्थानीय जनक सिंहले बताए । यद्यपि जुम्लाका सबै पाटनमा सेतकचिनी पाइने भएकाले पछिल्लो समय यसमै धेरैको ध्यान जाने गरेको उनको भनाइ छ । कोही आफैं संकलन गरेर बेच्छन् भने कोही ठेकेदारका लागि जडीबुटी संकलन गर्न पाटन जान्छन् । डिभिजन वन कार्यालयले दर्तावाला जडीबुटी व्यावसायिक फर्मलाई मात्र संकलन तथा निकासी पुर्जी दिने गरेको छ । ती फर्मले स्थानीयलाई संकलनका लागि पाटन पठाउँछन् ।


ज्यानको जोखिम


जडीबुटी संकलन गर्नेले जोखिम पनि उत्तिकै मोल्ने गरेका छन् । हिमपहिरो र हिमपातजस्ता प्राकृतिक प्रकोपले कतिको ज्यान जान्छ । गत मंसिर अन्तिम साता जडीबुटी संकलन गर्न पाटन गएका एकजना बेपत्ता भए भने एक जनाको मृत्यु भयो । डीएसपी लालबहादुर धामीले जडीबुटी संकलनका लागि पाटन जानेहरू दुई–तीन महिना उतै हराउने हुनाले मृत्यु वा बेपत्ताको जानकारी ढिला आउने बताए ।


तिलाकी तुलु बोहराले करिब तीन साताअघि मुखैमा आएको मृत्युलाई परास्त गरिन् । सेतकचिनी पकाउन पाटन गएका उनीसहित १४ जना हिमपातका कारण तीन दिनसम्म ओडारमै बस्न बाध्य भएका थिए । अर्का एकजनाको त चिसोले कठ्यांग्रिएर मृत्यु भयो । ‘जति दुःख भए पनि बुटी टिप्न पाटन नगई हुँदैन,’ उनले भनिन्, ‘यसपालि त हिउँले निकै सतायो, बल्लबल्ल बाँचेर घर फर्कियौं ।’ बेपत्ता भनिएकाहरू फर्केर आएपछि गाउँलेले अचम्म मानेको उनले अनुभव सुनाइन् ।

प्रकाशित : पुस २४, २०७६ १०:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?