२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७६

प्रदेश योजना आयोगका उपाध्यक्षहरु लुम्बिनीमा भेला हुँदै

घनश्याम गौतम

बुटवल — प्रदेशहरुको दोस्रो आवधिक योजना निर्माण र प्रदेश योजना आयोगको अवस्था र अबको भूमिकामा छलफल गर्न सातै प्रदेश योजना आयोगका उपाध्यक्षहरु लुम्बिनीमा भेला हुने भएका छन् । 

लुम्बिनी प्रदेश योजना आयोगको आयोजना एवं समन्वयमा रूपन्देहीको लुम्बिनीमा बिहीबारदेखि २ दिने भेला हुन लागेको हो । भेलामा कोशीबाहेक सबै प्रदेशका योजना आयोगको उपाध्यक्ष, सातै प्रदेशका पूर्वमुख्यमन्त्रीहरु र लुम्बिनी प्रदेशका वर्तमान मुख्यमन्त्रीको सहभागी रहने छन् ।

लुम्बिनी प्रदेश योजना आयोगका उपाध्यक्ष नहकुल केसीले बुधबारसम्ममा कोशीबाहेक ६ प्रदेशका योजना आयोगका उपाध्यक्षहरु, मधेश प्रदेशका पूर्वमुख्यमन्त्री लालबाबु राउत, गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री लीला गिरी र कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री महेन्द्रबहादुर शाहीको उपस्थिति रहने बताए ।

शुक्रबारसम्म चल्ने भेलामा सबै प्रदेशहरुको दोस्रो आवधिक योजनाबारे छलफल, संघीयता कार्यान्वयनमा प्रदेश योजना आयोगहरुको अहिलेसम्मको भूमिका, अधिकार प्रत्यायोजनको अवस्था र अबका दिनमा आयोगले खेल्नु पर्ने भूमिकाको विषयमा गहन छलफल हुनेछ । ‘अहिलेसम्मको समग्र अवस्थाको समीक्षा, भोलिका दिनको योजना र आयोगको भूमिकाका विषयमा छलफल हुनेछ,’ केसीले भने, ‘दोस्रो आवधिक योजना निर्माण र संघीय सरकारको १६ औं योजनाको अन्तरसम्बन्ध र एकरुपता ल्याउने विषय पनि छलफलको विषय छ ।’ अन्य प्रदेशका अहिलेसम्मका अभ्यास र उठेका विषयबस्तु माथि पनि छलफल गरेर प्रदेशहरुको विकासको योजना तयार हुने उनले बताए ।

लुम्बिनी प्रदेश योजना आयोगका प्रशासकीय प्रमुख पोषणराज भण्डारीले संघ, प्रदेश र स्थानीय तहको समन्वयको विषय पनि भेलामा छलफल हुने बताए । भेलाको लुम्बिनीका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले उद्घाटन गर्ने कार्यक्रम छ ।

प्रकाशित : आश्विन २४, २०८० १८:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भारतका २ ब्रान्डका गुणस्तरहीन मसला आयतमा प्रतिबन्ध लागेको छ । अन्य खाद्य सामग्रीबारे पनि अब सरकारले मुख्य रुपमा के गर्नुपर्छ ?