कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

बर्दियाको मधुवनमा बाघको आक्रमणबाट महिलाको मृत्यु

बर्दियाको सम्झना सामुदायिक वनमा ४ वर्षयता बाघको आक्रमणबाट १३ जनाको मृत्यु
कमल पन्थी

बर्दिया — बर्दियाको मधुवन नगरपालिका-३ धनौरास्थित जंगलमा घाँस काट्ने क्रममा बाघको आक्रमणबाट ५२ वर्षीया महिलाको मृत्यु भएको छ ।

शुक्रबार अपराह्न ४ बजेतिर सम्झना सामुदायिक वनमा घाँस काट्ने क्रममा काली वंशीको बाघको आक्रमणबाट मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं डीएसपी हिक्मत बहादुर बोहोराका अनुसार बर्दिया राष्ट्रिय निकुञ्ज र भारतको कतरनीयाघाट आरक्ष क्षेत्र जोड्ने अन्तर्राष्ट्रिय जैवीक मार्गमा ती महिलालाई बाघले आक्रमण गरेको थियो ।

महिलाको घटनास्थलमै मृत्यु भएको र शव पोस्टमार्टमका लागि सदरमुकाम गुलरीया लैजाँदै गरिएको डीएसपी बोहोराले बताए । महिलाको शव पौने ५ बजेतिर भेटिएपछि पोस्टमार्टमको तयारी गरिएको प्रहरीले जनाएको छ ।

उक्त सामुदायिक वनमा ४ वर्षयता बाघको आक्रमणबाट १३ जनाको ज्यान गइसकेको छ । मृत्यु हुनेमध्ये अधिकांश घाँस काट्न जाने महिलाहरू नै रहेका छन् । वन कार्यालय, राष्ट्रिय निकुन्ज र प्रहरीले जंगलमा घाँस काट्न जाँदा एक्लै नजान आग्रह गर्दै आए पनि स्थानीयहरू बाध्यतावश एक्लै पनि जाने गर्छन् ।

उक्त घटनास्थल सदरमुकाम गुलरीयाबाट २५ किलोमिटर पश्चिमतर्फ पर्छ । जहाँ प्राय: दिउँसो पनि बाघहरू ओहोरदोहोर गर्ने गर्छन् ।

प्रकाशित : भाद्र २२, २०८० १८:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रतिपक्षको विरोध र नाराबाजीबीच प्रतिनिधिसभा बैठक चलाउन खोज्ने सभामुखको कदमबारे तपाईंको के टिप्पणी छ ?