कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

फैलिँदै ड्रागन खेती

प्युठान, अर्घाखाँची, दाङ, पाल्पा — पछिल्लो समय पहाडी जिल्लामा ड्रागन फलको व्यावसायिक खेती फस्टाएको छ । पहाडी जिल्लाका विभिन्न समथर फाँट र पाखोबारीमा समेत अहिले किसानले यसको खेती विस्तार गरेका छन् । पहाडी जिल्ला प्यूठान, अर्घाखाँची, पाल्पासँगै दाङमा अहिले ड्रागनको खेती भइरहेको छ ।

फैलिँदै ड्रागन खेती

प्यूठान–४ बिजुवारका नवीनकुमार श्रेष्ठ र लोकबहादुर गुरुङले ०७८ माघबाट खेती सुरु गरेका थिए । उनीहरूको फार्ममा अहिले लहरै फल लागेका छन् । खेती गरेको १५ महिनाबाटै उत्पादन सुरु भएको उनीहरूले बताए । अहिले तेस्रो चरणमा फलिरहेको छ । पहिलो र दोस्रो लहरको फल बजारमा बिक्री भइसकेको छ ।

‘१३ वर्षजति काठमाडौंमा बसेर आईटी पेसामा संलग्न रहें,’ गुरुङले भने, ‘गाउँ फर्किएर नयाँ केही गरौं भन्ने लागेको थियो । जिल्लामा लामो समय आईटी क्षेत्रमै काम गरें । गुल्मीबाट इन्टरनेट ल्याएर पनि काम गर्‍यौं ।’ अहिले झिमरुक फाँटस्थित पुण्यखोलामा ड्रागन खेती गरिरहेको उनले बताए । ‘१० रोपनी जग्गामा ३ हजार विरुवा छन्,’ उनले भने, ‘पहिलो उत्पादन हो, पछि विस्तार गर्दै जाने हो ।’ एउटै बोटबाट ४० केजीसम्म फल्ने सुनेको उनले बताए । पहिलो र दोस्रो लट पाकेर बजारसम्म पुगिसकेको उनले बताए । ‘तेस्रो लट बजार पठाउने तयारी गर्दै छौं,’ उनले भने, ‘अहिलेसम्म ५५ लाख रुपैयाँ खर्च भइसकेको छ ।’

टर्की र कडकनाथ पालनका लागि पुण्यखोलामा फर्म सञ्चालन गरिएको अर्का व्यवसायी गुरुङले बताए । ‘अहिले व्यवसाय ड्रागन फ्रुटसम्म आइपुगेको छ,’ उनले भने, ‘ड्रागनको बीचमा रहेको खाली जग्गामा कुरिलो पनि लगाएका छौं ।’ अहिले कुरिलो विस्तारको तयारीमा रहेको उनले बताए । अहिलेसम्म उत्पादन भएको ड्रागनका लागि बजारको समस्या नरहेको उनले बताए । जिल्लामा सबै उत्पादन खपत हुँदैन । प्रतिकिलो ६ सय रुपैयाँमा ड्रागन फ्रुट बिक्री भइरहेको उनले बताए । ‘जिल्लामा कसैले यसको व्यावसायिक खेती गरेका थिएनन्,’ गुरुङले भने, ‘त्यसैले बजार राम्रो छ । अहिले गाउँ–गाउँमा मानिसहरूले पनि दुई–चार बोट लगाउन थालेका छन् ।’

अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–७ फुदवाङका मेघराज भट्टराईले ड्रागन फ्रुटको खेतीबाट आम्दानी गर्ने जमर्को गरेका छन् । घरको छतमा १ सय ५० बोट लगाएका छन् । जसबाट १० क्विन्टल उत्पादन हुने आशा गरेका छन् । पछिल्लो समय पहाडमा पनि ड्रागन राम्रो उत्पादन हुन थालेपछि कृषक आकर्षित हुन थालेका छन् । ड्रागन रोपेको तीन वर्षमै फल दिएको उनले बताए । ‘मैले पूर्वमन्त्री लोकेन्द्र विष्टले दाङमा गरेको ड्रागन खेतीका बारेमा युट्युबमा देखेर खेती सुरु गरेको हुँ,’ उनले भने, ‘घरको छतमै सोचेभन्दा राम्रो फल्यो । अब यसलाई विस्तार गरेर बारीमा खेती गर्छु ।’ उनले केही फल बिक्री पनि गरिसकेका छन् । किलोको १ हजार रुपैयाँमा बिक्री भएको छ । सुरुमा छतमा खेती गर्दा छिमेकीले गाली गरेका थिए । पहाडमा परीक्षणका लागि छतमा खेती गरिएको हो ।

एउटा बोटमा ५० किलोसम्म फल उत्पादन छ । पहाडमा पनि खेती सफल भएपछि उनी उत्साहित छन् । अब व्यावसायिक रूपमै यसको खेती गर्ने योजना रहेको उनले सुनाए । एउटा बोटले १५ वर्षसम्म फल दिन्छ । ‘मुटु रोग, क्यान्सर, सुगरजस्ता रोगको प्रतिरोधात्मक क्षमता वृद्धि गर्छ भन्ने छ,’ उनले भने, ‘अर्घाखाँचीका फलफूल पसलमा यो फल पाइँदैन । माग धेरै छ, उत्पादन थोरै भो, अब ठूलो क्षेत्रफलमा खेती गरेर माग धान्ने कोसिस गर्नेछु ।’ यसको महत्त्व बुझेकाले खोजीखोजी किन्ने गरेको उनले बताए ।

पूर्वमन्त्रीले भित्र्याएको खेती

लोकेन्द्र विष्ट मगर माओवादी पार्टीको उच्च तहसम्म पुगे । सांसद्, मन्त्री भए र अन्त्यमा स्वैच्छिक अवकाश लिए । अनि, सुरु गरे कृषि कर्म । ५८ वर्षीय विष्ट दाङमा व्यावसायिक ड्रागन खेती गर्ने पहिलो व्यक्ति हुन् । ०७२ साउनदेखि पार्टी छोडेका विष्ट निरन्तर कृषिमा छन् । रुकुमको मुरुमा जन्मिएका उनी देशमा सशस्त्र युद्ध हुनुअघि नै भूमिगत भइसकेका थिए । सुरुमै जेल परे । चारपटक गरी १० वर्ष जेल बसे । उनी दुईपटक सदन र दुईपटक सरकारमा सहभागी भए । स्वास्थ्य मन्त्री र पर्यटन मन्त्री भए । पार्टीका महत्त्वपूर्ण जिम्मेवारीमा बसे । पार्टीमा पनि नेताहरूले मागी खाने होइन भन्ने विचार राखे । केही न केही इलम गर्नुपर्छ भने तर अरुले नमाने पनि उनी भने कृषि कर्ममा लागे ।

०७२ सालमा ड्रागन फ्रुटको खेती गर्न जग्गा खोज्दै दाङ आए । ६ महिना बस्दा पनि जग्गा पाएनन् । त्यसपछि निराश भएर काठमाडौंतिरै फर्के । फर्कंदै गर्दा कालो धानको खेती गर्ने सोच आयो । अनि काठमाडौं गएर जग्गाको खोजी गरे । काभ्रेको भकुण्डेवेशीमा ५३ रोपनी जग्गा पाए । ७ लाख लगानी गरेर खेती गरे । १३ लाखको धान उत्पादन भयो । ६ लाख नाफा भयो । अर्को वर्ष काठमाडौंको साँखुमा खेती गरे ।

०७५ सालमा फेरि दाङ झरे । सुरुमा तुलसीपुर उपमहानगरपालिका–१८ बिजौरीमा ८४ कट्ठा जग्गा भाडामा लिएर धान खेती गरे । त्यसपछि ६६ कट्ठा जग्गा भाडामा लिएर ड्रागन खेती थाले । रातो र सेतो ७ हजार ड्रागन फ्रुटका विरुवा लगाए । अहिले विष्टकहाँबाट विरुवा खरिद गरेर धेरैले खेती गरिरहेका छन् । उनीबाट सिकेर व्यावसायिक खेती गर्नेहरू धेरै छन् । ड्रागन फ्रुटको नेपालमा सफल उत्पादन भइसकेको छ । अहिले पनि ठूलठूला होटेलमा डेजर्टका रूपमा प्रयोग भइरहेको छ ।

यसबाट जाम, वाइन, चकलेट, बिस्कुट, पाउडर, फेसवासलगायतका सामग्री बनाउन सकिने विष्टले बताए । यो फल जेठ/असारदेखि मंसिरसम्म पाँचदेखि सातपटकसम्म फल्ने गर्छ । यसको फूल रातिमा फुल्ने भएकाले यसलाई रातकी रानी पनि भन्ने गरिन्छ । यसको हाँगा काटेर रोप्न सकिन्छ । यसको विरुवा बलियो नहुने भएकाले अड्याउन पोल ठड्याइन्छ । यो तराईदेखि १ हजार ५ सय मिटरको उचाइसम्म खेती गर्न सकिने उनले बताए । रातो प्रतिकेजी ८ सय र सेतो ७ सय रुपैयाँमा बिक्री भइरहेको विष्टले बताए । रातो फलको बिरुवा एउटाको ३ सय र सेतोको २ सय रुपैयाँमा बिक्री भइरहेको उनले बताए । ‘अब म कृषिमै सम्भावना देखाउन चाहन्छु,’ उनले भने, ‘अरूलाई पनि कृषिकर्म गर्न प्रोत्साहन गर्छु ।’

पाल्पाको तानसेन नगरपालिका–७ काजीपौवाका युवा सन्दीप अधिकारीले ड्रागन खेती गर्न थालेको एक वर्ष भयो । आम्दानी सुरु भएको छैन । विरुवा हुर्केर फुल्न थालेका छन् । परीक्षणका लागि २ सय बोटबाट सुरु गरिएको खेती अहिले जिल्लामा सफल भएको छ । इन्टरनेट र सामाजिक सञ्जालमार्फत खेती गर्ने तरिका सिकेका थिए । यस वर्ष आफैं केही विरुवा पनि तयार गरेका छन् । ‘मैले परीक्षणका लागि लगाएको थिएँ,’ उनले भने, ‘जे सोचेको थिएँ । त्यसभन्दा धेरै राम्रो हुँदै गएको छ ।’ ड्रागन अहिले सेतो र रातो फूल फुलेको छ । बजारमा रातो महँगोमा बिक्री हुन्छ । सेतोको भाउ त्यति राम्रो छैन । उनी पहाडमा सफल होला कि नहोला भन्नेमा थिए । तानसेन नगरपालिका, संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम, ग्रामीण आर्थिक विकास संघबाट उनले विरुवा सहयोग पाएका हुन् । ‘विदेश जानेभन्दा पनि नयाँ जातका खेती गर्ने रहर जाग्यो,’ उनले भने, ‘यही क्रममा सहयोगी संस्था पनि भेटियो ।’ विरुवा खरिद गर्न पनि सेतो र रातोको फरक मूल्य छ । सेतो २ सयदेखि ३ सय र रातो ३ देखि ५ सय रुपैयाँ प्रतिबिरुवा मूल्य पर्छ । उनले ड्रागनसँगै लहरेआँप पनि लगाएका छन् । संघसंस्थाको पहलमा सस्तो व्याजदरमा ऋण समेत लिएर काम अगाडि बढाएका छन् ।

तिनाउ–१ कचलका युवा टेकबहादुर रास्कोटीले पनि १ हजार बढी ड्रागनका विरुवा लगाएका छन् । ८ सय विरुवा अहिले फुल्ने क्रममा छन् । पहिलो लट फल्यो । पाकेको फल कचल गाउँका बासिन्दालाई चखाएको रास्कोटीले बताए । ‘गत वर्ष तीन सय पिलरमा १ हजार विरुवा लगाएको थिएँ,’ १५ वर्षजति डोजर अपरेटर भएर काम गरेका उनले भने, ‘आफैं केही काम गरौं भनेर नयाँ जातको खेती लगाएको हो ।’ पहिलो लट गाउँमै ४ सय रुपैयाँ किलोमा बिक्री गरेको उनले सुनाए । उनले लटलटमा ड्रागनको विरुवा लगाएका छन् । चौतारी कृषि समूह गठन गरेर अघि बढेका रास्कोटीले यसपटक आफैंले ५ सय बढी विरुवा बनाएका छन् । ‘हेर्दा सिउँडीजस्तै देखेर धेरै गाउँले अचम्म पनि परे,’ उनले भने, ‘पछि फुलेर फलेपछि भने अहिले सबैले राम्रो मानेका छन् ।’ दाङका अगुवा किसान लोकेन्द्र विष्टको ड्रागन खेतीले उनलाई यता डोर्‍याएको हो । त्यहाँबाट सेतो विरुवा ल्याएका हुन् । झापाबाट ल्याएको रातोको विरुवा अब फल्ने क्रममा छन् । ‘यो खेतीका लागि पहिला अध्ययन नै गरें,’ उनले भने, ‘परीक्षणका रूपमा सुरुमा केही विरुवा लगाएँ । त्यसपछि बल्ल अरू विरुवा लगाएर व्यावसायिक खेती सुरु गरेको हुँ ।’

प्रकाशित : श्रावण १४, २०७९ ०८:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?