कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

विपक्षीको अवरोधपछि लुम्बिनी प्रदेशसभाको बैठक १ घण्टाका लागि स्थगित

घनश्याम गौतम

रूपन्देही — लुम्बिनी प्रदेशसभाको सोमबारको बैठक पनि विपक्षी दलको अवरोधपछि १ घण्टाका लागि स्थगित भएको छ । सभामुख तुलाराम घर्तीले बैठक सुरु गरेलगत्तै प्रमुख प्रतिपक्ष दल एमालेका प्रमुख सचेतक तुलसीप्रसाद चौधरीले बोल्नका लागि समय माग गरेका थिए ।

विपक्षीको अवरोधपछि लुम्बिनी प्रदेशसभाको बैठक १ घण्टाका लागि स्थगित

सभामुखले समय उपलब्ध गराएपछि उनले सरकारले विपक्षीले राखेका माग नसुनेको र सरकारले अर्कमण्यता देखाइरहेको भन्दै बैठक चल्न नसक्ने बताएका थिए ।

चौधरीले सरकारले निर्देशनालय खारेज गर्ने लिखित प्रतिबद्धता नआएको, क्रमागत योजनाका रकम कटौती गरिएको, थप दिने भनिएको क्रमागत योजना विपक्षी दलका लागि मात्र भन्दै सरकारका मन्त्रीबाटै गलतप्रचार गरिएको र मुख्यमन्त्रीले आफ्नो कोषमा राखेको ३ अर्ब रकमको विवरणको जवाफ माग गरेका थिए । चौधरीले आफ्नो कुरा राखेलगत्तै एमालेका प्रदेशसभा सदस्यहरूले उठेर विरोध जनाएका थिए ।

सभामुख घर्तीले सरकारको ध्यानाकर्षण भएको, सभाका अन्य बैठकमा कुरा राख्न मिल्ने भन्दै बस्न आग्रह गरे पनि विपक्षी दलले विरोध गरिरहेपछि बैठक १ घण्टाका लागि स्थगित गरिएको हो ।

सोमबारको बैठकमा राप्रपा भने मौन बसेको छ । विपक्षी दलले यस अघिका असार १३ र १७ गतेको बैठक पनि अवरोध गरेका थिए । १० गतेको बैठक भने सूचना टाँस गरेर स्थगित गरिएको थियो ।

लुम्बिनी प्रदेशका अर्थमन्त्री धनबहादुर मास्कीले आगामी आवका लागि असार १ गते ४० अर्ब ४७ करोड ८९ लाख रुपैयाँको बजेट सार्वजनिक गरेका थिए । सोमबार विपक्षीको नाराबाजीकै बीचमा आर्थिक वर्ष २०८०/०८१ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सैद्धान्तिक छलफल गर्न प्रस्ताव पेस गरेका थिए । तर, प्रस्तावमाथि छलफल सुरु हुन सकेको छैन ।

विपक्षी दलले सरकारको लिखित प्रतिबद्धता, आर्थिक वर्ष २०७५/०७६ देखिका क्रमागत योजनामा पर्याप्त रकम र थप क्रमागत योजना थप नगर्दासम्म र प्रदेश सरकारका निर्देशनालय खारेज गर्ने लिखित प्रतिबद्धता व्यक्त नगर्दासम्म बैठक चल्न नदिने भन्दै अवरोध गर्दै आएको छ ।

प्रकाशित : असार १८, २०८० १४:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?