मन्दिरको जग्गा अतिक्रमण गरी भवन निर्माण

बर्दिया — राजापुर नगरपालिका—४ स्थित दुर्गा मन्दिरले संरक्षण गरेको जग्गामा मापदण्ड विपरीत भवन निर्माण गरिएको छ । अतिक्रमण गरी घर निर्माण गरेको उजुरी अख्तियार दुरुपयोग अनुसन्धानमा परेको छ भने अख्तियारले जिल्ला प्रशासन कार्यालयलाई छानबिनको जिम्मा दिएको छ ।

स्थानीय व्यवसायी गौरव अग्रवालले निजी खर्चमा मन्दिरको संरक्षणमा रहेको जग्गामा व्यवसायिक र निजी प्रयोजनका लागि दुई तले भवन निर्माण गरेको उजुरी परेको छ । समितिको संरक्षणमा रहेको करिब १० धुर जग्गामा नगरपालिकाबाट लिखित इइाजत नलिइ अवैधानिक रुपमा भवन निर्माण गरेको उजुरीपछि स्थानीय प्रशासनले छानबिन थालेको हो ।
राजापुर—४ का पूर्व वडा अध्यक्ष रमण रेग्मीले भवन निर्माण प्रक्रिया आफ्नो कार्यकालमा रोक्न लगाएको बताए । ‘गत स्थानीय निर्वाचनको मौका छोपेर मापदण्ड विपरीत अग्रवालले भवन निर्माण गरे,’ उनले भने, ‘भुइँतला व्यापारिक प्रयोजनका लागि र माथिल्लो तला आफू बसुन्जेल भाडा नतिर्ने भन्दै अग्रवालले भवन निर्माणमा अवैधरुपमा लगानी गरेका हुन् ।’ मन्दिर संरक्षणमा रहेको भवनमा नक्सा पास नगरेको स्थानीयको भनाइ छ । यस सम्बन्धमा राजापुर नगरपालिकाका इन्जिनियर सरिता चन्दले नक्सा पास नगरेसम्म भवन निर्माण नगर्न अग्रवाललाई जानकारी गराएको बताइन् । अग्रवालले स्थानीय तहको निर्वाचनमा कर्मचारी खटिएको समय भवन ढलान गरेका थिए,’ उनले भनिन् ‘यो भवनलाई पालिकाले मान्यता दिएको छैन ।’
प्रमुख जिल्ला अधिकारी नारायण रिसालको टोलीले राजापुरमा मन्दिरको संरक्षणमा रहेको जग्गाको अवलोकन गरी फर्केका छन् । प्रजिअ रिसालले मन्दिरको संरक्षणमा रहेको जग्गामा अवैधरुपमा भवन निर्माण गरेको विषयमा अनुसन्धान सुरु गरिएको बताए । उक्त भवन राजापुर नगरपालिकाको कार्यालय नजिकै रहेको छ । यस सम्बन्धमा गौरव अग्रवालले मन्दिर समितिको निर्णयले भवन निर्माण गरेको दाबी गरे । मन्दिर समितिका सल्लाहकारमा ५ जना सदस्य रहेका छन् । यस विषयमा कसैले केही जानकारी नदिइ भवन निर्माण गरेको मन्दिर समितिका सदस्य सूर्य केसीले बताए ।
