कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

२ किलो सुन बरामद प्रकरण : बुटवलका दुई पसल सिल

सन्जु पौडेल

लुम्बिनी — बुटवलका २ वटा सुनचाँदी पसल सिल गरिएको छ । रुपन्देहीको कालीदह नाका हुँदै भारतर्फ लैजाँदै गर्दा बरामद भएको करिब २ केजी सुन प्रकरणमा बुटवलको अमरपथमा रहेको बालाजी सुनचाँदी पसल र लक्ष्मीपति सुनचाँदी पसलको समेत संलग्नता देखिएपछि सिल गरिएको हो ।

अनुसन्धानका क्रममा पसल सिल गरिएको भैरहवा भन्सार कार्यालयका सूचना अधिकृत युवराज भट्टराईले जानकारी दिए । सशस्त्र प्रहरीको सीमा सुरक्षा गुल्म, डण्डाको टोलीले असार १० गते १ केजी ९६५ दशमलव ३ ग्राम तौल कायम भएको सुन भैरहवा भन्सार कार्यालयमा बुझाएको थियो ।

करिब २ करोड रुपैयाँ बराबरको सुन बरामद प्रकरणमा जिल्ला अदालतमा मुद्दा चलाउनुपर्ने प्रावधानअनुसार अदालतबाट म्याद लिएर अनुसन्धान सुरु गरिएको उनले बताए ।

नेपाल-भारत सीमानामा पर्ने लुम्बिनी सांस्कृतिक नगरपालिका-१३ कालीदहबाट सशस्त्र प्रहरीको जाँचका क्रममा सुन बरामद भएको थियो । भन्सार मूल्यांकनअनुसार १ करोड ८५ लाख ६५ हजार ३ सय ५५ मूल्य कायम भएको बरामद सुन, सीमानाका पार गर्न प्रयोग भएको १५ लाख मूल्यको बा १२ च ३८२० नम्बरको मारुती सुजुकी कार र कार चालक दाङका हुमानन्द गिरीलाई सशस्त्रले भैरहवा भन्सार कार्यालयमा बुझाएको थियो ।

प्रकाशित : असार १८, २०८० ११:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?