कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७६
स्थानीय तह निर्वाचन

गाउँ पसे दल

रोल्पा, परासी, रुकुम पूर्व र दाङ — स्थानीय तह निर्वाचन नजिकिँदै गर्दा माओवादी केन्द्रका नेता एवं लुम्बिनी प्रदेश मुख्यमन्त्री कुलप्रसाद केसी केही दिनअघि जिल्लाको लिङदुङमा पुगेर विद्यालयद्वारा आयोजित कार्यक्रममा सहभागी भए । रोल्पा ‘क’ बाट प्रदेशसभामा निर्वाचित केसीले आफ्नो सरकारले गरेका कामको निरीक्षणसमेत गरे ।

गाउँ पसे दल

यहाँका विकास योजना बुझ्न, स्थानीय तहको निर्वाचनका सन्दर्भमा कार्यकर्तासँग भेटघाट गर्न र राजनीतिक सभामा सहभागी हुन उनी यहाँ आइपुगेका हुन् । मुख्यमन्त्री भएपछि धेरैपटक गृहजिल्ला र निर्वाचन क्षेत्रमा आएका उनले राजनीतिक प्रशिक्षणमा समेत भाग लिए । पहिलो प्रदेश सरकारमा आन्तरिक मामिला तथा कानुनमन्त्री भएका बेलासमेत आउने गरेका उनी आउँदो स्थानीय तहको निर्वाचन नजिकिँदै गरेका बेला पनि आएका हुन् । मुख्यमन्त्री भएकै बेला स्थानीय तहको निर्वाचन हुने भएकाले राजनीतिक गतिविधि बढाउन र प्रशिक्षणका कार्यक्रमका साथ उनी यहाँ आउने गरेको उनका कार्यकर्ता बताउँछन् ।

रोल्पाबाट निर्वाचित संघीय सांसद एवं पूर्वमन्त्री वर्षमान पुन केही दिनयता गाउँमै बसेर राजनीतिक प्रशिक्षण दिइरहेका छन् । कार्यकर्ता भेट्ने र स्थानीय तहको निर्वाचनबारे जानकारी दिने उद्देश्यले उनी गाउँ पुगेको माओवादी केन्द्रका जिल्ला अध्यक्ष सुरेन्द्र घर्तीमगरले बताए । ‘कार्यकर्ता भेटघाट र विकास निर्माणको अनुगमन गर्ने उद्देश्यले पूर्वमन्त्री पुन थबाङसम्मै पुग्नुभएको हो,’ उनले भने । वंशाणुगत जन्डिसका कारण लामो समय बिरामी परेका पूर्वअर्थमन्त्री पुन सञ्चो भएपछि पहिलोपटक रोल्पामा आएका हुन् ।

पूर्वसभामुख ओनसरी घर्ती गाउँमै छिन् । रोल्पा ‘ख’का प्रदेशसभा सदस्य दीपेन्द्र पुनसहितको टोली माडीचौर, कोटगाउँ, घर्तीगाउँ, परिवर्तन गाउँपालिका र थबाङमा आयोजना गरिएका कार्यक्रममा सहभागी भएको छ । जिल्लामा एमाले र कांग्रेसले समेत राजनीतिक गतिविधि बढाएका छन् । राजनीतिक भेटघाट, प्रशिक्षण, भेला र सभा आयोजना गर्दै दलहरूले निर्वाचन केन्द्रित कार्यक्रम गाउँसम्मै लिएर आएका छन् । एमाले जिल्ला अध्यक्ष बालाराम बुढाले छैटौं अधिवेशन सकेर निर्वाचन केन्द्रित कार्यक्रमको तयारीमा लागेको बताए ।

एमालेको राप्ती गाउँपालिकाको चनावी अभियानका सहभागी । तस्बिर : कान्तिपुर

स्थानीय तहको चुनावका लागि पश्चिम नवलपरासीमा राजनीतिक दल सक्रिय भएका छन् । पार्टी प्रवेश, वडा कार्यालयदेखि नगर, गाउँ समितिका कार्यालय स्थापना गर्न नेता–कार्यकर्ताको दौडधुप छ । कांग्रेसले हरेक वडादेखि जिल्लासम्म प्रतिनिधि नै खटाएर मतदाताका घरघरमा पुग्ने कार्यतालिका सार्वजनिक गरेको छ । ‘हामीले वर्तमान जनप्रतिनिधिले गरेका कामको समीक्षा, वाचा गरेका काम पूरा हुन नसकेको कारण खोजी गर्नेदेखि मतदाताको घरघरमा पुगेर आफ्ना एजेन्डा राख्ने काम गरिरहेका छौं,’ कांग्रेस पश्चिम नवलपरासीका सभापति अर्जुनकुमार पोख्रेलले भने, ‘टिकट वितरणको मापदण्ड तयार गरेर आगामी चुनाव आफ्नो दलको पक्षमा पार्ने अभियानमा छौं ।’

नेकपा एमालेले चुनाव व्यवस्थित बनाउन वडा र नगरमा सम्पर्क कार्यालय स्थापनालाई तीव्रता दिएको छ । सोमबार सुनवल नगरपालिकामा सम्पर्क कार्यालय स्थापना गरेको एमालेले जिल्लाका सबै वडामा सम्पर्क कार्यालय स्थापना गर्दै छ । एमाले गठबन्धन तोड्न लागिपरेको छ । ‘हामीले यसअघिको चुनावमा गरेका वाचा अधिकांश पूरा गरेका छौं । सरकारबाट बाहिरिनुपर्दा केही काम अधुरा छन् । तिनै अधुरा काम पूरा गर्ने प्रतिबद्धता लिएर जनतासमक्ष जाँदै छौं,’ नेकपा एमालेका जिल्ला अध्यक्ष दीपेन्द्र अधिकारीले भने, ‘अहिले सातवटै स्थानीय तह एमालेले जित्ने निश्चित छ । सोही अनुसार तयारी गरेका छौं ।’

राप्रपा र मधेसवादी दलहरू पनि चुनावको तयारीमा छन् । जनता समाजवादीले जिल्ला स्तरमा स्थानीय चुनावमा अन्य दलहरूसँग सहकार्य गर्ने वा एक्लै चुनाव लड्ने भन्ने छलफलमा छ । मधेसवादी दलहरूको बाहुल्य रहेको जिल्लाको दक्षिणी भेगमा स्थानीय चुनावमा कसरी सहकार्य गर्ने भन्नेमा आन्तरिक छलफल भइरहेको जिल्ला अध्यक्ष धरेन्द्र यादवले बताए । ‘अहिलेसम्म औपचारिक रूपमा अन्य दलहरूसँग कुरा भएको छैन,’ यादवले भने, ‘केन्द्रबाट नै चुनावी तालमेल भएर आयो भने हामीलाई पनि सहज हुने थियो ।’ केन्द्रबाट तालमेल नभए पनि जिल्ला स्तरमा पनि तालमेल हुन सक्ने उनले बताए । कांग्रेस र एमालेसँगै राप्रपा नेपाल र मधेसवादी दलहरूले समेत राजनीतिक गतिविधि बढाएका छन् । स्थानीय निर्वाचनका लागि वडादेखि नगरसम्मको टिकट दिने तथा अन्य सामाजिक संघसंस्थामा अवसर दिनेसम्मका आवश्वासन दिएर एकअर्को दलबाट कार्यकर्ता प्रवेश गराउने होडबाजी नै चलेको हो ।

रुकुम पूर्वमा कांग्रेसले ‘घर–घर जाऔं, नेपाली कांग्रेस जिताऔं’ अभियान जारी राखेको छ । जिल्ला स्तरका नेताहरू पालिका–पालिकामा कार्यविभाजन गरेरै निर्वाचन केन्द्रित कार्यक्रममा जुटिरहेका छन् । दुई साताअघि जिल्ला कार्य समितिको बैठक बसेरै कांग्रेसले निर्वाचन केन्द्रित कार्यक्रम गर्ने र त्यससँगसँगै सम्भावित उम्मेदवारको सिफारिस गर्ने निर्णय पनि गरेको थियो । कांग्रेस यतिबेला उम्मेदवार सिफारिस र निर्वाचन लक्षित कार्यक्रम गरिरहेको छ ।

भर्खरै आठौं जिल्ला अधिवेशन सकेको एमाले पनि निर्वाचन लक्षित कार्यक्रममा छ । एमाले पोलिटब्युरो सदस्य खेममान खड्का आफैं विभिन्न पालिका तथा वडामा गइरहेका छन् । खड्काले ससाना कार्यक्रममा पनि आफैं जाने र सम्बोधन गर्ने गरेका छन् । एमालेले यस्ता कार्यक्रमलाई चुनावी रणनीतिको रूपमा उपयोग गरिरहेको छ । माओवादी केन्द्रले पनि कार्यक्षेत्र तोकेरै पार्टीका नेताहरूलाई चुनाव लक्षित कार्यक्रममा खटाएको छ । तीनवटै पालिकाका बैठकबाट माओवादीले नेताहरूलाई टोल, वडा हुँदै गाउँपालिकाका विभिन्न क्षेत्रमा निर्वाचन लक्षित कार्यक्रम गर्न कार्यविभाजन गरेको हो । सोही कार्यविभाजनअन्तर्गत माओवादीका नेताहरू गाउँगाउँ पुगिरहेका छन् ।

दुई सातायता रुकुम पूर्वमा चुनावी सरगर्मी बढेको छ । ‘अब चुनाव आयो भन्ने लागिसक्यो,’ सिस्ने गाउँपालिका–४ का मनबहादुर घर्तीले भने, ‘राजनीतिक दलहरू गाउँ, बस्तीमा पस्नुलाई हामीले चुनाव आएको मान्ने गरेका छौं ।’ उनले विभिन्न कार्यक्रम बनाएर सबै राजनीतिक दल गाउँतिरै रहेको बताए । पार्टीकै कार्यक्रम, पार्टीका भ्रातृ संगठनको कार्यक्रम भनेर राजनीतिक दलहरू गाउँ पुगेको पुथाउत्तरगंगा गाउँपालिका–१३ का रमेश विकले बताए । आफूहरू पनि सम्पूर्ण ढंगले निर्वाचनमा केन्द्रित भएको माओवादी केन्द्रका जिल्ला संयोजक होमप्रकाश श्रेष्ठले बताए । पालिका स्तरमा पार्टीले आ–आफ्नै अनुकूलतामा कार्यक्रम बनाएर कार्यान्वयन गरिरहेको र समग्र रूपमा जिल्लाले त्यसको संयोजन गरिरहेको श्रेष्ठले जानकारी दिए । जिल्लामा पुथाउत्तरगंगा, भूमे र सिस्ने गरी तीन गाउँपालिकाका ३१ वडा रहेका छन् ।

स्थानीय निर्वाचनलाई लक्षित गर्दै दाङमा विभिन्न राजनीतिक दलले पार्टी प्रवेशको लहर चलाएका छन् । अन्य पार्टीका नेता–कार्यकर्तालाई आफ्नो पार्टीमा प्रवेश गराउने क्रम जिल्लादेखि वडासम्म चलिरहेको छ । पार्टीहरूले गाउँ पस्ने अभियान पनि सञ्चालन गरिरहेका छन् । पार्टीहरूले वडा–वडामा भेला र प्रशिक्षण पनि गरिरहेका छन् । विभिन्न स्थानीय तहमा उम्मेदवारका लागि आकांक्षीहरूको पनि चर्चा सुरु भएको छ । घोराही उपमहानगरपालिका प्रमुखमा एमालेबाट वर्तमान प्रमुख नरुलाल चौधरी, उपप्रमुख सीता सिग्देल न्यौपाने, शिवकुमार आचार्य, विकिरण गौतम, कांग्रेसबाट भूपबहादुर डाँगी तथा माओवादी केन्द्रबाट जीवन गौतम र हेमराज शर्माको चर्चा छ । २०७४ को स्थानीय तह निर्वाचनमा डाँगी र गौतमले चौधरीसँग प्रतिस्पर्धा गरेका थिए ।

तुलसीपुर उपमहानगरपालिकामा एमालेबाट टीकाराम खड्का, कोमल वली, कांग्रेसबाट विमल रिजाल र सुरेश हमाल तथा माओवादी केन्द्रबाट शेशुराम भण्डारीको चर्चा छ ।

खड्का एमालेका पूर्वजिल्ला अध्यक्ष हुन् । वली राष्ट्रिय सभा सदस्य हुन् । रिजाल तुलसीपुर उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष र हमाल कांग्रेस तुलसीपुर नगर सभापति हुन् । भण्डारी ०७४ को निर्वाचनमा प्रमुखमा प्रतिस्पर्धी थिए । निर्वाचनलाई लक्षित गरी वडादेखि टोलसम्म संगठन निर्माणको अभियान चलाइएको एमाले जिल्ला अध्यक्ष हुकुम बस्नेतले बताए । ‘हरेक वडा र टोलमा संगठन निर्माण, प्रशिक्षण तथा पार्टी प्रवेश कार्यक्रम चलिरहेका छन्,’ उनले भने, ‘अहिले जिल्लाका सबै नेता गाउँगाउँ पुगेका छन् ।’ विभिन्न ठाउँमा पार्टी प्रवेशको क्रम चलिरहेको उनले बताए । राष्ट्रिय जनमोर्चाका प्रदेश सभाका उम्मेदवार तथा उद्योग व्यापार संघका अध्यक्ष जगतप्रसाद पोख्रेलको नेतृत्वमा ६५ राजमोका नेता–कार्यकर्ताहरू आइतबार एमालेमा प्रवेश गरेको उनले बताए । सिसहनिया उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष शान्तराज भण्डारी र सामुदायिक पुस्तकालय गढवाका पूर्वअध्यक्ष गिरिराज भट्ट नेपाली कांग्रेस परित्याग गरी एमालेमा प्रवेश गरेका छन् ।

दाङ कांग्रेसले पनि पार्टी प्रवेश कार्यक्रम चलाइरहेको छ । तुलसीपुर उपमहानगरपालिका–१२ मा नेकपा एमालेको भ्रातृ संगठन युथ फोर्स फूलबारीका अध्यक्ष पुष्कर केसीसहित ५८ जना एमाले र अन्य पार्टी परित्याग गरी आइतबार कांग्रेसमा प्रवेश गरेका छन् । तुलसीपुर उपमहानगरपालिका–१३ मा पनि एमाले टोल इकाइ कमिटीका कोषाध्यक्ष पोषणराज आचार्यसहित ३८ जना एमालेबाट कांग्रेसमा प्रवेश गरेका छन् । कांग्रेसले ‘घरघर जाऔं, कांग्रेस जिताऔं’ अभियान चलाइरहेको जिल्ला सभापति शंकर डाँगीले बताए । फागुन २९ देखि एकमहिने अभियान चलिरहेको उनले जानकारी दिए । वडावडामा जिम्मेवारी तोकेर नेताहरूलाई खटाएको उनले बताए ।

‘अहिले पार्टी चुनावमा केन्द्रित भएको छ,’ उनले भने, ‘नेताहरू जनताको घरदैलोमा पुगेका छन् ।’ माओवादी केन्द्रले पनि चुनाव केन्द्रित कार्यक्रम सञ्चालन गरिरहेको जिल्ला संयोजक सुवास पुनले बताए । प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सकेर जिल्ला समितिको बैठक सम्पन्न गरेको उनले बताए ।

सोमबार बसेको जिल्ला समितिको बैठकले दुईमहिने घरदैलो अभियान चलाउने निर्णय गरेको उनले जानकारी दिए । चैत महिनाभित्र उम्मेदवारको नाम सिफारिस गर्ने तयारी पनि भइरहेको पुनले बताए । ‘अब सबै कार्यक्रम गाउँ केन्द्रित भइरहेका छन् । चुनाव लक्षित कार्यक्रम गर्दैछौं,’ उनले भने ।

प्रकाशित : चैत्र १०, २०७८ १२:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सत्ता भागबन्डा मिलाउन प्रदेशमा मन्त्रालय फुटाउने प्रवृतप्रति तपाईंको के टिप्पणी छ ?