कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

प्रदेश ५ मा २१४ स्वास्थ्यकर्मी संक्रमित

स्वास्थ्यकर्मी तथा चिकित्सक संक्रमणमा पर्ने दर बढेपछि संक्रमितको प्रत्यक्ष उपचारमा खटिएका स्वास्थ्यकर्मीको निगरानी थालिएको छ, जसको प्रत्यक्ष असर बिरामीमा परेको छ ।

बुटवल, नेपालगन्ज — तीन दिनअघि अर्घाखाँची जिल्ला अस्पतालका चिकित्सक र नर्समा कोरोना संक्रमण देखियो । लगत्तै २३ जना स्वास्थ्यकर्मी आइसोलेसनमा बसेपछि प्रसूति र आकस्मिकबाहेक सेवा बन्द छन् । कपिलवस्तु जिल्ला अस्पतालमा पनि मेडिकल सुपरिन्टेन्डेन्टसहित १९ स्वास्थ्यकर्मी संक्रमित भएपछि सेवा ठप्प थियो ।

प्रदेश ५ मा २१४ स्वास्थ्यकर्मी संक्रमित

१४ दिन आइसोलेसन अवधि पूरा गरेपछि तीन दिनयता अस्पताल सञ्चालनमा आएको छ । गत वैशाख ३० गते उक्त अस्पतालकी स्टाफ नर्समा संक्रमण पुष्टि भएको थियो । त्यसबेला अस्पताल एक साता बन्द भयो ।

गत भदौ ७ गते पश्चिम नवलपरासीको पृथ्वीचन्द्र अस्पतालका तीन चिकित्सक र एक नर्समा कोरोना पुष्टि भयो । त्यसपछि चार दिन अस्पताल बन्द भयो । बिहीबारदेखि आकस्मिक र प्रसूति सेवा खुलेको छ । स्वास्थ्यकर्मी संक्रमित भएपछि प्रदेशसहित विभिन्न स्थानीय तहका १७ स्वास्थ्य केन्द्र बन्द छन् । त्यसको प्रत्यक्ष मार बिरामीमा परेको छ ।

प्रदेश ५ मा चिकित्सक र स्वास्थ्यकर्मी संक्रमणमा पर्ने क्रम बढेको छ । सामाजिक विकास मन्त्रालयका सूचना अधिकारी डा. पुष्पराज पौडेलले बिहीबार दिउँसोसम्म २ सय १४ स्वास्थ्यकर्मी संक्रमित भएको बताए । ‘उपचारमा खटिएका विशेषज्ञ चिकित्सकसहित मेडिकल अधिकृत र नर्स संक्रमित छन्,’ उनले भने, ‘उनीहरूबाट संक्रमण नसरोस् भनेर सेवा बन्द गरिएका हुन् ।’ आकस्मिक र प्रसूति सेवा बन्द नगर्न निर्देशन दिएको उनले बताए । ‘नवलपरासी पश्चिममा केही समस्या आएको थियो,’ उनले भने, ‘त्यसमा पनि बिहीबारदेखि आकस्मिक र प्रसूति सेवा सुरु भयो ।’

स्वास्थ्यकर्मी तथा चिकित्सक संक्रमणमा पर्ने दर बढेपछि संक्रमितको प्रत्यक्ष उपचारमा खटिएका स्वास्थ्यकर्मीको निगरानी थालिएको छ । अहिले १ सय २ जना उपचारमा छन् । १२ जना लक्षणसहितका बिरामी हुन् । कपिलवस्तुमा ३४ र रूपन्देहीमा २३ जना स्वास्थ्यकर्मी कोरोना संक्रमित छन् । दाङमा १८, नवलपरासी पश्चिममा ९, बर्दियामा ७, बाँकेमा ५ र प्यूठानमा ४ स्वास्थ्यकर्मी संक्रमित छन् । कोरोना विशेष अस्पताल र भीडभाड हुने अस्पतालमा खट्ने चिकित्सकभन्दा अन्य स्वास्थ्यकर्मी संक्रमित छन् । लुम्बिनी प्रादेशिक अस्पतालमा बिहीबारसम्म १६ जनामा संक्रमण देखिएको छ । त्यसमध्ये सात जना स्वास्थ्यकर्मी हुन् । कोरोना विशेष अस्पताल बुटवलका दुई जना मात्र संक्रमित छन् । अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले स्वास्थ्यकर्मीले स्वास्थ्य सुरक्षा मापदण्डमा ख्याल नगर्दा संक्रमण बढेको बताए ।

‘बढी भीडभाड हुने प्रसूति शाखा र आकस्मिक सेवामा खटिने चिकित्सकीय टोलीमा संक्रमण छैन । कोरोनाका बिरामी हेर्ने दुई जनामा मात्रै संक्रमण छ,’ उनले भने, ‘अन्य चिकित्सक र स्वास्थ्यकर्मीमा देखिनु भनेको केही हदसम्म स्वास्थ्यकर्मीको लापरबाही पनि हो ।’ मास्क र ग्लोब नलगाउने, सेनिटाइजर र हात धुने नियम पनि नियमित पालना नगर्दा स्वास्थ्यकर्मीहरू जोखिममा परेको उनले बताए ।

सेवा प्रभावित

चिकित्सक र स्वास्थ्यकर्मी संक्रमित भएपछि बाँकेको नेपालगन्जमा स्वास्थ्य सेवा प्रभावित भएको छ । भेरी अस्पतालमा कार्यरत ४ जना चिकित्सकमा संक्रमण देखिएको छ । बिहीबार दुई चिकित्सकमा संक्रमण पुष्टि भएको हो । उक्त अस्पतालका फिजिसियन डा. रजनी केसी शाह र हाडजोर्नी विशेषज्ञ डा. राहुल मिश्रमा संक्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालय प्रमुख धीरजंग शाहले बताए । यसअघि संक्रमितको उपचारमा संलग्न अस्पतालका प्रमुख कन्सलटेन्ट तथा मेडिक विभाग प्रमुख फिजिसियन डा. राज पाण्डे र कोरोना फोकल पर्सन डा. संकेतकुमार रिसाललाई संक्रमण देखिएको हो ।

संक्रमित चिकित्सकलाई अस्पतालकै आइसोलेसनमा राखिएको छ । चार जना चिकित्सकमा कोरोना देखिएपछि सेवा प्रभावित भएको छ । उक्त अस्पतालमा नौ जना फिजिसियन कार्यरत छन् । आइसोलेसनमा रहेका उनीहरूको स्वास्थ्य अवस्था सामान्य छ । यस क्षेत्रकै ठूलो सरकारी अस्पताल भेरीलाई कोरोना अस्पतालमा विस्तार गरिँदै छ । कोरोना विशेष अस्पताल निर्माण संयोजक डा. श्यामसुन्दर यादवले चिकित्सक संक्रमित हुन थालेपछि सेवा प्रभावित हुन नदिन काठमाडौंबाट चिकित्सक माग गरिएको बताए । भेरी अस्पतालमा एक सय शय्याको आइसोलेसन राख्ने तयारी भइरहेको छ ।

यसअघि नेपालगन्ज शिक्षण अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मी गरी १६ जनामा संक्रमण देखिएको थियो । उनीहरूको सम्पर्कमा रहेका ३४ जना क्वारेन्टाइनमा बसेपछि सेवा प्रभावित भएको थियो । निजीस्तरबाट सञ्चालित यस क्षेत्रकै ठूलो अस्पतालका ५० स्वास्थ्यकर्मी आइसोलेसन र क्वारेन्टाइनमा बसेपछि सेवा प्रभावित बनेको थियो ।

सरकारले उक्त अस्पताललाई कोरोना संक्रमणका बिरामी उपचारका लागि तेस्रो चरणको अस्पताल बनाएको थियो । संक्रमित व्यक्तिहरूको शल्यक्रिया शिक्षण अस्पतालबाट हुने गरेको छ । शिक्षण अस्पताल नेपालगन्जमा ६ र कोहलपुरमा ८ भेन्टिलेटर छन् । भेरी अस्पतालमा ६ भेन्टिलेटर र ६ आईसीयू कक्ष छन् । खजुरास्थित प्रखर सुशील कोइराला मेमोरियल अस्पतालमा २ भेन्टिलेटर र ६ आईसीयू कक्ष छन् ।

प्रकाशित : भाद्र १२, २०७७ १५:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?