कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

भेन्टिलेटर खरिद गर्न दिइएको डेढ करोड फ्रिज

नेपालगन्ज — भेरी अस्पताललाई कोभिड विशेष अस्पताल बनाउन स्थानीय प्रशासनले चन्दा माग गरिरहेका बेला भेन्टिलेटर खरिद गर्न दिइएको डेढ करोड रकम फ्रिज भएको छ ।

भेन्टिलेटर खरिद गर्न दिइएको डेढ करोड फ्रिज

बाँके निर्वाचन क्षेत्र नम्बर २ का सांसद तथा पूर्व सहरी विकास मन्त्री इस्तियाक राईले स्थानीय पूर्वाधार साझेदारी विकास कार्यक्रम अन्तर्गत ठेक्का हुन नसकेका दुई योजनाको रकम भेन्टिलेटर खरिद गर्न डेढ करोड रकम दिएका थिए । तर नेपालगन्ज उपमहानगरपालिकाको वेवास्ताका कारण भेन्टिलेटर खरिद गर्न नसकिएको हो ।

स्थानीय पूर्वाधार साझेदारी विकास कार्यक्रम निर्देशक समितिको गत १४ गतेको बैठकबाट संशोधन गरी कोष तथा लेखा नियन्त्रण कार्यालय र नेपालगन्ज उपमहानगरपालिकालाई असार १५ गते निर्णय पठाइएको थियो । तर उपमहानगरपालिकाले रकम निकासाका लागि पत्रसमेत पठाएन ।

‘दुई लाइनको पत्र पठाएर कोभिड कोषको खातामा रकम निकासा गरेको बजेट फ्रिज हुने थिएन । तर नगरपालिकालाई पत्र लेख्नसमेत फुर्सद भएन,’ पूर्वै मन्त्री राईले भने,‘कोभिडको महामारीका बेला भेन्टिलेटरको रकम फ्रिज हुनु निकै दुःखद हो । मेयरले सार्वजनिक रुपमै माफी माग्नु पर्छ ।’ भेरी अस्पतालमा एउटा मात्रै भेन्टिलेटर छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयद्वारा असार ७ गते पठाइएको पत्रमा स्थानीय तहले आफ्नो क्षेत्रमा खर्च नभई बचत भएको रकम एकिन गरेर निर्देशक समितिको संयोजक र जिल्ला समन्वय समितिलाई जानकारी गराउन निर्देशन दिएको थियो ।

निर्देशक समितिको संयोजक सम्बन्धित निर्वाचित संघीय सांसद रहने व्यवस्था छ । तर उपमहानगरपालिकाले भेन्टिलेटर किन्न छुट्याइएको बजेट बारे निर्देशक समितिको संयोजक राईसमेतलाई जानकारी नदिएर फ्रिज गराएको हो ।

नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख डा. धवलशमसेर राणाले पूर्वमन्त्री राईले नगरपालिकालाई नभइ भेरी अस्पताललाई भेन्टिलेटर किन्‍न बजेट छुट्याएको दाबी गरे । ‘१० दिनमा डेढ करोडको समान किन्न सकिन्छ ? कम्तीमा समान किन्‍न चार महिना लाग्छ । त्यसैले हाम्रो कारणले बजेट फ्रिज भएको होइन,’ उनले भने,‘नचाहिने कुरा गरेर हुन्छ ।’ तर कोष तथा लेखा नियन्त्रक कार्यालयले भने कोभिड कोषमा रकम निकासा गरेको भए फ्रिज नहुने जनाएको छ ।

प्रकाशित : भाद्र १०, २०७७ १४:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?