रोगीलाई झैं व्यवहारले मानसिक तनाव

ठाकुरसिंह थारू, रूपा गहतराज

बर्दिया/नेपालगन्ज — भारतबाट सँगै फर्किएका कैलालीको लम्कीका व्यक्तिमा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि बढैयाताल–९ टेसनपुरका रमेश विक त्यसै पनि मानसिक तनाव थिए ।

घर नजिकैको विद्यालयमा बनाएको क्वारेन्टाइनमा बस्ने क्रममा झेलेको व्यवहारले उनी थप तनावमा छन् । स्थानीयले गाउँमै क्वारेन्टाइन राखेको भन्दै नाराबाजी गरेपछि उनी थप दु:खी छन् । उनीसहित चार जना चैत १६ मा घर फर्किएका थिए । स्वास्थ्यकर्मीले प्रारम्भिक जाँच गर्दा कोरोनाको कुनै लक्षण देखिएको छैन । ‘तर पनि हामीलाई कोरोना भइसकेको रोगीलाई जस्तो व्यवहार गरियो । गाउँबाट लखेट्न खोजियो,’ उनले भने, ‘सहनुभूति दिन नसके पनि अरूलाई पीडा दिने काम त गर्नु भएन नि ।’


विकसँगै सल्यानका लोकराज रोका, रुकुमका दिलीप खड्का र कास्कीका राजन बर्देवा भारतको उत्तराखण्डबाट कैलाली नाका हुँदै बर्दिया भित्रिएका थिए । मजदुरी गर्न गएका उनीहरू भारतमा कोरोना फैलिँदै गएपछि घर फर्किएका थिए ।


लकडाउनका कारण गाडी नचलेपछि बर्दिया बाहिरका उनीहरू विकको घरमै बसेका थिए । गृह मन्त्रालयले उनीहरूको खोजी गर्दै घर पुगेर टेसनपुरस्थित विद्यालयको क्वारेन्टाइनमा राखेको छ ।


कोरोनाको शंकामा उनीहरूलाई राखेको भन्दै स्थानीयले वडाध्यक्षको घर घेराउ गर्दै विरोध जनाएका थिए । स्थानीयले त्यहाँबाट क्वारेन्टाइन हटाउन भन्दै नाराबाजी गरे । कोरोनाको त्रासले मानसिक तनाव झेलिरहेका बेला स्थानीयको असहयोगले थप तनावमा परेको विकले बताए । ‘नेपाल आएको आठ/नौ दिन भइसक्यो । तर, अहिलेसम्म केही भएको छैन । कोरोनाको लक्षण पनि देखा परेको छैन,’ उनले भने, ‘हामीसँगैको भीडमा रहेका कैलालीका एक जनामा कोरोना देखिएपछि अरूमा पनि नहोस् भनेर क्वारेन्टाइनमा बसेका हौं । यसले गाउँ समाजलाई पनि सुरक्षित गर्छ ।’


गाउँपालिकाले उनीहरूलाई खानेबस्ने व्यवस्था मिलाएको छ । उनीहरूको सुरक्षाका लागि स्थानीय युवाहरूलाई स्वयंसेवकका रूपमा खटाइएको छ । उनीहरूका लागि छुट्टै खानेपानी र शौचालयको व्यवस्था मिलाइएको छ । बर्दियाबाहिरका युवाहरूले परिवारसँग सम्पर्क हुन नसकेको गुनासो गर्छन् । ‘नेपाली मोबाइल नम्बर छैन । त्यसैले परिवारसँग सम्पर्क हुन नसकेको हो,’ सल्यानका रोकाले भने, ‘हामीले क्वारेन्टाइनमा बसेर सबैलाई सहयोग गरेका छौं । हामीलाई पनि त्यसैगरी सहयोग गर्नुपर्छ ।’


बढैयाताल गाउँपालिका–९ का वडाध्यक्ष कान्छु थारूले कोरोनाबारे जताततै अफवाह फैलिएका कारण स्थानीयले विरोध गरेको बताए । उनले भने, ‘नबुझेरै मेरो घरमा आएर नाराबाजी गरे । विरोध जनाए । तर, बुझाएपछि मान्नु भएको छ ।’


भारतबाट चार जना आएको भन्दै बढैयाताल गाउँपालिकाभित्र त्रास छ ।


जिल्ला अस्पतालका प्रमुख डा. सुवास पाण्डेले क्वारेन्टाइनले आमसमुदायलाई सुरक्षित गर्ने जनाए । ‘भारतबाट आएका र कोरोनाको आशंका गरिएका व्यक्तिलाई राख्न क्वारेन्टाइन बनाइएको हो । डराउनु पर्दैन । सुरक्षित राख्न खोजिएको हो,’ उनले भने, ‘कारणवश कोरोनाको भाइरस छ भने क्वारेन्टाइनमा बसे अरू जना सुरक्षित हुन सक्छन् ।’ यसअघि गुलरिया नगरपालिकामा रहेको क्वारेन्टाइनको पनि स्थानीयले विरोध गरेका थिए । तर, यथार्थ कुरा बुझाएपछि अहिले विरोध गर्ने क्रम रोकिएको छ ।


बर्दियाका प्रमुख जिल्ला अधिकारी प्रेम लामिछानेले कोरोनालाई लक्षित गरी २८ स्थानमा ३ सय ८३ बेडको क्वारेन्टाइन र २९ बेडको आइसोलेसन वार्ड बनाइएको बताए । आइसोलेसनमा एक जना भर्ना भएकामा उपचारपछि उनी पनि घर फर्किसकेको स्थानीय प्रशासनले जनाएको छ ।


बाँकेको जमुनाह नाकाको दशगजामा निर्माण गरिएको क्वारेन्टाइनमा रहेका नेपाली । तस्बिर : मधु शाही/कान्तिपुर


एउटै टेन्टमा चार जना


नेपालगन्जस्थित जमुनाह सीमाको दशगजामा सेनाले तयार गरेको एउटै टेन्टभित्र चार जनासम्म नेपाली बसिरहेका छन् । ‘सुत्न समस्या भए पनि अप्ठ्यारो मानेका छैनौं,’ कोहलपुर–३, मदनचोकका अमृत बोहराले भने, ‘सानो ठाउँमा चार जना लुटपुटिएर सुत्दा स्वास्थ्य सुरक्षाको के कुरा गर्ने ।’


मलुक प्रवेश गर्न खोज्ने नेपालीलाई दशगजामै क्वारेन्टाइन बनाएर आश्रय दिने सहमति भएपछि उनीहरू क्वारेन्टाइनमा बसेका हुन् । त्यहाँ लैजानुअघि कुनै समस्या भए पनि सहज रूपमा लिन आग्रह गरिएकाले सहमतिमै दशगजाको टेन्टमा बसिरहेको वैजनाथ गाउँपालिका–६, सम्झना चोकका भुवन थापाले बताए । ‘हामीले बोल्ने कुरै छैन । खाना खान पाएका छौं,’ उनले भने, ‘१४ दिन बसेर स्वस्थ रहेको प्रमाण लिएर घर फर्कन चाहन्छौं ।’ उनीहरूसँगै बाँकेका थप १० जना पनि नेपाल भित्रिएका थिए ।


निकै थकित देखिएका उनीहरूले क्वारेन्टाइनमा पुगेपछि राहतको महसुस गरेका छन् । राजापुर गाउँपालिका–१ का दीपक खड्कालाई नेपाल पुग्नु नै ठूलो उपलब्धि लागेको छ । किनभने, उनको जिन्दगीमा पछिल्लो भारत यात्रा निकै पीडादायी बन्यो । भारतको गुजराजबाट कतै गाडी त कतै पैदल यात्रा गरी उनी नेपाल आइपुगेका हुन् । ‘अर्काको देशबाट यसरी बाँचेर फर्किएला भन्ने सोचिएकै थिएन, धन्न आइयो,’ उनले भने ।


यहाँका ४५ वटा टेन्टमा १ सय ८१ जना नेपाली बसिरहेका छन् । क्वारेन्टाइनमा बाँके, बर्दिया, सुर्खेत, दैलेख, दाङ, जुम्लादेखि सप्तरी र झापाका गरी १ सय ८१ जनाले आश्रय लिएका हुन् । नेपाली सेनाले ४५ टेन्टको व्यवस्था गरेको हो । नेपालगन्ज उपमहानगरपालिकाले खाना र पानीको व्यवस्था गरिरहेको छ । उनीहरू स्वास्थ्यकर्मीको निगरानीमा छन् ।


‘हामीले खाने र बस्ने कुरामा उच्च सतर्कता अपनाएर व्यवस्थापन गरेका छौं,’ क्वारेन्टाइनमा खटिएका नेपालगन्ज उपमहानगरपालिकाका प्रतिनिधि पवन कनौजियाले भने, ‘स्वास्थ्य नीतिअनुसार त एउटा टेन्टमा एउटा मान्छे राख्नुपर्ने हो । तर, एक जनाका दरले ४५ वटा टेन्टमा १ सय ८१ जनालाई राख्न सम्भव थिएन ।’


आइसोलेसनमै मृत्यु


कपिलवस्तु अस्पतालको आइसोलेसनमा उपचाररत एक बिरामीको सोमबार साँझ मृत्यु भएको छ । विजयनगर गाउँपालिका–२, जलैयाका ३० वर्षे गोवद्र्धन भरको मृत्यु भएको अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. किशोर बन्जाडेले बताए । उनको स्वाब परीक्षणका लागि दुुई दिनअघि बुटवल पठाइए पनि रिपोर्ट आइसकेको छैन ।


बिरामी भएपछि घरबाट चन्द्रौटास्थित मेडिकलमा दुई दिन उपचार गरेका थिए । त्यहाँबाट उनलाई जिल्ला अस्पताल रिफर गरिएको थियो । उनी यहाँ शुक्रबार साँझ आएका हुन् । उनलाई छाती दुख्ने र सास फेर्न गाह्रौ भएपछि तौलिहवास्थित जिल्ला अस्पतालमा उपचार थालिएको थियो । उनको क्षयरोगका कारण मृत्यु भएको प्रजिअ दीर्घनारायण पौडेलले बताए । मृतकको शव भने स्वाब परीक्षणको रिपोर्ट आएपछि मात्रै परिवारलाई दिइने भएको छ ।

प्रकाशित : चैत्र २६, २०७६ १३:१६

ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

विपन्नको राहत हुनेखानेलाई 

डिल्लीराम खतिवडा

उदयपुर — लकडाउनमा विपन्न वर्गका लागि छुट्ट्याइएको राहत हुनेखानेले नै लगिरहेको पाइएको छ । चौदण्डीगढी नगरपालिकाले बाँडेको प्रतिपरिवार १५ किलो चामल, नुन, तेल, दाल र साबुन राहत लिनेमा आर्थिक हैसियत राम्रो भएकाहरू पनि छन् । बजारमा घर भाडामा लगाएर मासिक डेढ लाखभन्दा बढी आम्दानी गर्नेले समेत विपन्नको राहत लिएका हुन् ।



भकारीभरि धान भएका र जग्गा अँधिया लगाएर खानेहरूले समेत राहत लिएको स्थानीयले बताए । बाढीपहिरोमा वास्तविक पीडितले राहत पाए पनि अहिले गरिब र मजदुर पहिचान गर्न नसक्दा हुनेखानेको हालीमुहाली भएको उनीहरूको भनाइ छ । ‘स्थानीय तहले अहिलेसम्म आफ्नो क्षेत्रका विपन्न र ज्याला–मजदुरी गर्नेको तथ्याक नै राखेका छैनन्,’ कटारी नगरपालिकाका रूपनारायण कार्कीले भने, ‘वडा समितिले जथाभाबी सिफारिस गर्दा राहतमा अनियमितता भएको हो ।’

वडा सदस्यहरूले सरकारले सित्तैमा दिने त हो नि भन्दै आवश्यक नभएकाहरूलाई पनि राहत सिफारिस गरेको स्थनीयको आरोप छ ।

वास्तविक पीडितले भन्दा हुनेखानेका हातमा राहत पुगेको चौदण्डीगढी–६ का वडाध्यक्ष कमलध्वज राईले स्विकारे । ‘नगरपालिकाले दुई दिनभित्र नाम सिफारिस गर्न परिपत्र गर्‍यो,’ उनले भने, ‘नगर समितिले वडा सदस्यलाई टोल विकास संस्थासँगको समन्वयमा नाफ सिफारिस गर्न भन्यो ।’ तर, कतिपय टोल विकास संस्था र वडा सदस्यले राज्यले दिने राहत जसले लिए पनि हुन्छ भनेर जथाभावी गर्दा यस्तो हुन पुगेको उनले आरोप लगाए ।


प्रकाशित : चैत्र २६, २०७६ १२:४७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
×