कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

तालमा डुंगा सरर...

(बर्दिया) — पर्यटकीय स्थलका रूपमा विकास भइरहेको बढैयातालमा डुंगा सञ्चालन गरिएको छ । यसअघि तालमा व्यावसायिक माछापालन हुँदै आएको थियो । यस वर्ष बढैयाताल गाउँपालिकाले माछाको ठेक्का तोडेर यसलाई सीमसारका रूपमा विकास गर्न खोजेको हो ।

तालमा डुंगा सरर...

डुंगा शयरका लागि एक घण्टाको दुई सय रुपैयाँ शुल्क तोकिएको छ । आधा घण्टाका लागि एक सय छ । व्यावसायिक डुंगा सञ्चालनले गाउँपालिकालाई आर्थिक सहयोग मिलेको छ । ताल अवलोकनका लागि दैनिक सयौं सर्वसाधारण आउने गरेका छन् । तालका संरक्षक हेमकुमार चौधरीले डुंगा शयर गर्न सर्वसाधारण आउने गरेको बताए । उनका अनुसार अहिले वनभोजका लागि आउनेहरू डुंगा शयरमा रमाउने गरेका छन् । ‘डुंगा चढ्ने धेरै भए पनि अपुग हुन्छ । तर पनि पालैपालो चढ्ने व्यवस्था मिलाएका छौं,’ संरक्षक चौधरीले भने । जाडो सुरु भएपछि तालमा वनभोज खान आउनेको भीड लाग्छ । दैनिक एक दर्जन समूह आउने गरेका छन् । ढिलो आउने समूह ठाउँ नपाएर तालको बाँधमै भए पनि रमाउने गरेका छन् ।


बाँके, बर्दिया लगायत जिल्लाबाट वनभोजका लागि सर्वसाधारण आउने गरेका हुन् । तालमा घुमघाम गर्न, चरा हेर्न र डुंगामा शयर गर्न पाइन्छ । ताल १ सय १० बिघा क्षेत्रफलमा फैलिएको छ । बाह्रै महिना पानी सुक्दैन । विभिन्न प्रजातिका चरा अवलोकन गर्न पाइन्छ । ताल हेर्न विभिन्न जिल्लाबाट सर्वसाधारण आउने गर्छन् । पछिल्लो समयमा तालको चर्चा बढेसँगै आन्तरिक पर्यटक आउन थालेका छन् । उक्त ताललाई सीमसार क्षेत्रका रूपमा विकास गर्न अन्तर्राष्ट्रिय पर्यापर्यटन विशेषज्ञले चासो देखाएका छन् । त्यसका लागि तालको जैविक विविधताको अध्ययन गरिंदै छ ।


पर्यटकहरूको आउने क्रम बढाउनका लागि भने अझै पनि प्रचारको आवश्यकता छ । बढैयाताल गाउँपालिकाका अध्यक्ष लालबहादुर श्रेष्ठले सीमसारलाई पर्यटकीय क्षेत्रका रूपमा विकास गरिरहेको बताए । जैविक विविधताको दृष्टिकोणले सीमसार घोषणा भइसक्नुपर्ने उक्त तालमा सरकारको आँखा पर्न सकेको छैन । पालिकाले प्रयास गरे पनि बजेट अभावमा सम्भव हुन सकेको छैन ।


तालमा दुर्लभ चराचुरुङ्गीका साथ पानीमा पाइने जीवजन्तु छन् । उक्त तालमा ३१ बढी प्रजातिका चरा पाइने स्थानीयले बताए । मुलुककै दुर्लभ प्रजातिका चरा पनि यहाँ पाइन्छन् । साइबेरिया र भारतबाट पनि पाहुनाका रूपमा चरा आउँछन् । तर, संरक्षण अभावमा वासस्थान संकटमा परेपछि चरा आगमनमा कमी आएको छ । यहाँ सारस, करेङकुरुङ, साइबेरिन, हाँस, कुर्मा, मरुल, लामाऔले, राज हुटिट्याउँ, टिमटिमा, मलाह चिल, माटी कोरी प्रजातिका चरा देख्न पाइन्छन् । त्यस्तै डुबुल्की, जलेवा, चखेवा, सात प्रजातिका बकुल्ला, लाल टाउके, गरुड, करी साँवरी, सिलसिले, खडखडे हाँस, बिजुलागैरी, हरियो टाउके, सुइपुच्छे, सीम कुखुरा लगायत प्रजातिका चरा हेर्न सकिन्छ ।


सतखलुवामा विदेशी

जिल्लाको बारबर्दिया नगरपालिका–९, सतखलुवा ताल अवलोकनका लागि विदेशी पर्यटक आउन थालेका छन् । गाउँमा आन्तरिकका साथै विदेशी पर्यटक आउन थालेपछि स्थानीय उत्साहित छन् । नेपाल भ्रमण वर्षको पूर्वसन्ध्यामा बर्दिया निकुञ्जसँग जोडिएको सतखलुवा ताल अवलोकन गर्न आउनेको संख्या दिनप्रतिदिन बढ्दै छ ।


तीन वर्षदेखि स्थानीय युवाको सक्रियतामा सतखलुवा ताललाई पर्यटकीय गन्तव्य बनाउन पहल भइरहेको छ । यहाँ करिब एक दर्जन होमस्टे सञ्चालनमा छन् । आन्तरिक पर्यटन बढ्न थालेपछि होमस्टे सञ्चालन गरिएको हो । ताल हेर्न दैनिक ५० भन्दा बढी पर्यटक आउने गरेका छन् । शुक्रबार र शनिबार आन्तरिक पर्यटक बढी आउँछन् । सार्वजनिक बिदाका दिन वनभोज खानेको भीड लाग्छ । ताल संरक्षण समितिका अध्यक्ष सुनील चापागाईंले आन्तरिक पर्यटकसँगै बास बस्ने गरी विदेशी पर्यटक आएको बताए । ‘अमेरिकी पर्यटक स्थानीयसँगै नाँचे,’ उनले भने, ‘लगत्तै इजरायलबाट आएका पर्यटक दिनभर बसेर बर्दिया निकुञ्जको मुख्यालय ठाकुरद्वारा गए ।’ पूर्वपश्चिम राजमार्गको बारबर्दियाको बैदी चोकबाट करिब तीन किमि उत्तरमा ताल रहेको छ । निकुञ्जसँग जोडिएकाले यहाँ बाघ, हात्तीलगायत वन्यजन्तु हेर्न पाइन्छन् । यसै कारण पनि पर्यटकको गन्तव्य बन्दै गएको शिक्षक ललित सापकोटाले बताए ।


लामो समयदेखि ओझेलमा परेको ताल स्थानीय युवाको सक्रियतामा काँचुली फेरेको छ । निकुञ्जको मध्यवर्ती क्षेत्रअन्तर्गत बारबर्दिया–९, सतखलुवास्थित रमणीय तालमा डुंगा शयर गर्ने सुविधा छ । करिब ६० बिघा क्षेत्रफलमा फैलिएको सातवटा खोला मिसिएर बनेको उक्त तालमा बाघ, चित्तललगायत जंगली जनावर पानी पिउन आउँछन् । तालको मध्यभागमा नागदेवता र कालिका मन्दिर रहेको छ । थारु संस्कृति र धार्मिक स्थलको धरोहर रहेको यस तालमा माछा, गोही, अजिंगरलगायतको बासस्थान रहेको छ ।


प्रकाशित : मंसिर ९, २०७६ १०:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?