फेरिँदै सामुदायिक स्कुल

वीरेन्द्र केसी

अर्घाखाँची — सन्धिखर्क नगरपालिका–९ नेपालीचौरको जनता आधारभूत विद्यालयमा चार वर्षअघि आठ जना विद्यार्थी थिए ।प्रधानाध्यापक फेरिएसँगै अंग्रेजी माध्यममा पढाइ सुरु भयो । पढाइ राम्रो नभएको भन्दै स्कुलबाट छुटाएर बोर्डिङमा भर्ना गरेका अभिभावकले पुनः यही विद्यालयमा छोराछोरी पठाउन थालेका छन् ।

ZenTravel

अहिले विद्यार्थी संख्या ९८ छ ।जनता स्कुलमा कक्षा ४ सम्म अंग्रेजी भाषामा पढाइ हुन्छ । कक्षाकोठा चिटिक्क छन् । सुरुमा गुरुले पढाएपछि विद्यार्थीले आलोपालो गरेर पढाउँछन् ।

Meroghar

‘अभिभावकको रोजाइ नै अंग्रेजी भाषा रह्यो,’ प्रधानाध्यापक कमलप्रसाद गैरेले भने, ‘म सरुवा भएर आउँदा यो स्कुल बन्द गर्न शिक्षा कार्यालयले पत्राचार गरेको रहेछ । अंग्रेजी माध्यममा पढाउन सुरु गरेपछि विद्यार्थी भरिए ।’ आउँदो शैक्षिक सत्रमा भर्ना गरिदिनूस्, बोर्डिङ छुटाएर ल्याउँछौं भनेर अभिभावकले अनुरोध गरेको उनले बताए ।

यहाँ ७० प्रतिशत विद्यार्थी बोर्डिङबाट आएका छन् ।जिल्लाका ३ सय ९४ सामुदायिक विद्यालयमध्ये १ सय २ स्कुलमा अंग्रेजी भाषामा पढाइ हुन्छ । ६५ विद्यालयमा कम्प्युटर शिक्षामा पढाइ हुन्छ । शिक्षकले मिहिनेत गरेका स्कुलमा विद्यार्थीको चाप धेरै छ ।

अंग्रेजी भाषामा पढाइ सुरु गरेपछि दुई वर्षको बीचमा वाङ्लाको आधारभूत विद्यालयमा बोर्डिङ छाडेर ५० भन्दा बढी विद्यार्थी आएको प्रधानाध्यापक नेत्रबहादुर अधिकारीले बताए । यहाँ कक्षा ५ सम्म अंग्रेजी भाषामा पढाइ हुन्छ । ‘धेरै अभिभावकको जोड पनि बोर्डिङसरह पढाइ हुनु परो भन्ने छ,’ उनले भने, ‘अंग्रेजीबिनाको स्कुलमा विद्यार्थी शून्यजस्तै देखिन थाले ।’

रोजगारीका लागि विदेशका जुनसुकै देशमा गए पनि अंग्रेजी बोल्न सक्ने भएमा राहत मिल्ने अभिभावकको बुझाइ छ । ‘अंग्रेजी भाषासँगै तल्लो कक्षादेखि प्राविधिक शिक्षालाई पनि सरकारले जोड दिनुपर्छ,’ अभिभावक संघका अध्यक्ष बाबुराम पन्थीले भने, ‘शिक्षकलाई दलले पार्टीको पदमा राख्नु हुँदैन, राम्रो सुविधा दिएर शिक्षकलाई शैक्षिक गुणस्तर वृद्धि गर्नमै खटाउनुपर्छ ।’ दलको झोला बोक्न, ठेकेदार र अन्य काममा अल्झाउँदा शैक्षिक गुणस्तर खस्किने गरेको उनले बताए । मिहिनेत गर्ने शिक्षकले धेरै स्कुल सुधारेका छन् । संघीय संरचनाअनुसार स्थानीय तहमा शिक्षाको अधिकार छ । तर, अपेक्षाअनुसार सुधार गर्न नसकेको ठाडाका अभिभावक बावुराम पौडेलले बताए ।

शिक्षा विकास तथा समन्वय एकाइ प्रमुख मणिराम पराजुलीले अभिभावकको चाहना नै अंग्रेजी भाषामा पढाइ भएको बताए । शिक्षामा अब्बल बनाउन शिक्षकलाई आवश्यक तालिम, प्रशिक्षण र अंग्रेजीमा पढाइ सुरु गरिएको मालारानी गाउँपालिका अध्यक्ष बालकृष्ण आचार्यले बताए । कक्षाकोठाभित्र बस्न सहजै डेक्सबेन्च, फर्निचर, आवश्यक शैक्षिक सामग्री, भवन निर्माण, स्कुलमा सरसफाइलगायतका काममा बजेट खर्च गरिएको उनको दाबी छ ।

प्रकाशित : माघ ३, २०७६ १२:३२
प्रतिक्रिया
पठाउनुहोस्

वीरगन्जमा जापानी अनुदानको चामल

कान्तिपुर संवाददाता

(पर्सा) — जापान सरकारले अनुदानमा पठाएको चामल वीरगन्ज आइपुगेको छ । यसै साता चामल आएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड वीरगन्ज शाखाका प्रमुख नरनाथ अधिकारीले बताए । ‘वीरगन्ज शाखालाई ५३ हजार १ सय १४ बोरामा १५ हजार ९ सय ३४ क्विन्टल चामल आउनुपर्ने हो,’ उनले भने, ‘कोलकाता बन्दरगाहबाट रेलमा वीरगन्जस्थित सिर्सिया सुक्खा बन्दरगाहमा आएको चामल हाम्रो गोदाममा ल्याइसकेका छौं ।’ अधिकारीका अनुसार चामललाई च्यातिएका बोराबाट भिकेर नयाँमा प्याकिङसँगै तौल गर्ने काम भइरहेको छ ।

कम्पनी केन्द्रीय कार्यालय र जापानी दूतावासबीच गत वर्ष भएको सम्झौताअनुसार चामल आए पनि कहाँ र कहिले परिचालन गर्ने भन्ने निर्देशन नरहेको बताए । तर ताप्लेजुङबाट केन्द्रमा माग गइसकेकाले उतै जाने सम्भावना छ । अघिल्ला वर्ष नेपालगन्ज, काठमाडौं, गोरखालगायत जिल्लामा गएकाले त्यसको पनि सम्भावना रहेको उनले बताए । जापानले अघिल्ला दुई आवमा ५०/५० हजार क्विन्टल चामल पठाएको छ । अघिल्लो आवमा ५ हजार १ सय ७९ दशमलव ८० क्विन्टल चामल संस्थान वीरगन्ज शाखाको जिम्मामा थियो । बाँकी चामल संस्थानका सुर्खेत र काठमाडौंस्थित कार्यालयमा भण्डारण गरिएको थियो ।

जापानी चामल सिर्सिया सुक्खा बन्दरगाहमा आउने गरेको छ । रेलबाट ढुवानी गरेर ल्याउन सहज हुने भएकाले वीरगन्ज आउने गरेको हो । जापानले पठाएको चामल ताइचिन हो । पहाडी जिल्लामा चाडपर्वमा सेलरोटी तथा खिर पकाउन यो चामल बढी प्रयोग हुन्छ । ताइचिनको च्युरा पनि नेपालमा निक्कै रुचाइन्छ । दैवी प्रकोप प्रभावित क्षेत्रमा वितरण गर्ने उद्देश्यले जापानले चामल अनुदान दिँदै आएको छ ।

प्रकाशित : माघ ३, २०७६ १२:३१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
×