काली किनारमा मकर स्‍नान गर्नेको भीड- प्रदेश ५ - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

काली किनारमा मकर स्‍नान गर्नेको भीड

माधव अर्याल

पाल्पा — गुल्मीको रूरू क्षेत्र रिडीमा बुधबार मकर स्‍नान गर्ने श्रद्धालुको भीड लागेको छ । कालीगण्डकीमा स्नान गरी ऋषिकेशवको दर्शन गरेमा पुण्‍य प्राप्त हुने जनविश्वास रहेकाले यस क्षेत्रमा बाहिरी जिल्लाबाट समेत श्रद्धालु आउन थालेका छन् । गुल्मी, पाल्पा, अर्घाखाँची, बाग्लुङलगायत जिल्लासँगै यस वर्ष कास्की, दाङसहित भारतका विभिन्न स्थानबाट श्रद्धालु रूरू क्षेत्रमा आएका छन् । 

मकर संक्रान्तिमा रूरू क्षेत्रमा बगेको कालीगण्डकी नदीमा स्थान गर्दा पुण्य कमाइन्छ भन्ने सुनेकाले यहाँ आएको कास्की, पोखराका हरिकृष्ण पराजुलीले बताए । ‘नेपालको चार धाममध्येको एक हो यो,’ उनले भने, ‘त्यसैले बद्री, केदारनाथ होइन, रूरू क्षेत्रमा आएको हुँ ।’ उनले स्कन्ध पुराणमा व्याख्या भएकाले पनि धार्मिक आस्थाअनुसार नै स्नान गर्न र ऋषिकेशवको दर्शन गर्न आएको बताए ।


दाङको लमहीबाट आएकी दीपा अधिकारीले पनि रूरू क्षेत्रको महत्त्वका विषयमा सुनेका आधारमा स्नान गर्न आएको बताइन् । ‘हाम्रो गाउँका धेरैले रूरू क्षेत्रका बारेमा महिमा सुनाउनु भयो,’ उनले भनिन्, ‘त्यसैले यहाँ स्नान गर्न आएकी हुँ ।’ रूरू क्षेत्रमा पहिले तीन दिन मेला लाग्थ्यो । पहिलो दिन बुढाबुढी, दोस्रो दिन अधबैंसे र तेस्रो दिन युवकयुवतीको भीड लाग्थ्यो । रिडी मेला घरेलु सामग्री किनमेलका लागि पनि प्रख्यात छ । अहिले भने विभिन्न सांस्कृतिक कार्यक्रम गर्ने भएकाले पाँच दिन मेला लाग्ने गर्छ ।


यसपटक गुल्मी उद्योग वाणिज्य संघ रिडी शाखाले राखेको नौदिने रूरू महोत्सवले गर्दा माघ ९ गतेसम्म मेला चल्नेछ । भीडका कारण ऋषिकेशव मन्दिरमा दर्शन गर्न घण्टौं पर्खनु परेको मन्दिरका मूल पुजारी कृष्णप्रसाद भट्टराईले बताए । त्यसले श्रद्धालु भक्तजनलाई सास्ती हुने गरेको छ । ‘मन्दिरमा दर्शन गर्न आउने र जाने क्रम चली नै रहन्छ,’ उनले भने, ‘नेपालका साथै भारतका विभिन्न स्थानबाट समेत श्रद्धालु आएका छन् ।’ मुक्तिनाथबाट बग्दै आउने कालीगण्डकी नदीमा स्याङ्जातर्फ जान अस्थायी पुल निर्माण भएको छ । रूरू क्षेत्रमा मकर स्नान गर्ने, जप, पूजा, हवन, दान तथा पितृश्राद्धसमेत हुने गर्छ । रूरू क्षेत्रको धार्मिक तथा


सांस्कृतिक महत्त्व

भएकाले मेला भर्न विभिन्न स्थानबाट आउने मन्दिरका पुजारी चूरामणी तिमिल्सेनाले बताए । सोह्रौं शताब्दीका राजा मणिमुकुन्द सेनले कालीगण्डकीमा स्नान गर्दा साक्षात् भगवान् ऋषिकेशवको मूर्ति फेला पारेको किंवदन्ती छ । सोही मूर्तिलाई प्रतिस्थापन गरेको जनविश्वास छ ।


व्यापारिक स्टल पनि

पाल्पातर्फ मात्रै १ सय ५० भन्दा बढी व्यापारिक स्टल राखिएको वडाध्यक्ष कमल रानाले बताए । गुल्मी र पाल्पामा गरी तीन सयभन्दा बढी स्टल छन् । होटल, घरेलु सामग्री, सुपो, डालो, राडी, पाखी, फेन्सी सामग्री स्टलमा छन् । रूरू क्षेत्रमा लागेको मेलामा दुई लाखभन्दा बढी भक्तजन आउने अनुमान छ । गुल्मीको थोर्गालगायतका किसानले उखुबाट बनाइएका गुँड, खुदो, चाकु र स्थानीय उत्पादनका स्टल राखेका छन् ।

रोल्पा, रूकुम, सल्यान, प्यूठान, पर्वत, बाग्लुङ, म्याग्दी, मुस्ताङलगायतका जिल्लाका व्यापारीले त्यस क्षेत्रमा पाइने ऊनीजन्य बस्तु ल्याएका छन् ।

प्रकाशित : माघ २, २०७६ ०९:५०
प्रतिक्रिया
पठाउनुहोस्

सद्भाव बढाउँदै माघी महोत्सव

शंकर आचार्य

(पर्सा) — मार्टिन मोक्तान पेशाले शिक्षक हुन् । वीरगन्जस्थित स्विमिङ पुल परिसरमा बुधबार आयोजित माघी महोत्सवमा भेटिएका उनी हाँसको मासुमा रमाए । ‘मलाई बर्षभरि माघी महोत्सवको प्रतिक्षा हुन्छ,’ उनले भने, ‘थारु शैलीले पकाएको हाँसको मासुको स्वादै भिन्न हुन्छ ।’

वीरगन्ज विर्ताका भरत नेपाल पनि महोत्सवमा भेटिए । चामलको पिठोको बगेया र अनरसाको स्वादले आफूलाई लोभ्याएको उनले बताए । व्यवसायी उमेश मानन्धरले महोत्सवमा रक्तदान मात्र गरेनन्, हाँस र माछाका परिकार पनि मज्जाले खाएको बताए । ‘मलाई थारु समुदायले पकाउने हाँस र माछाको स्वादले जहिले पनि आकर्षित गर्छ,’ उनले भने, ‘अन्य समय व्यस्तताले भ्याइँदैन, माघीमा भने खोजी–खोजी, रोजीरोजी थारु परिकार चाख्छु ।’

युवा अभियन्ता दिलीपराज कार्की महोत्सवमा यस वर्ष घोंघी र चेचरको स्वाद चाख्न आएको बताउँछन् । ‘वर्षभरि अन्य दिनमा घोंघी खोजेर पनि खान पाइन्न,’ उनले भने, ‘तर माघी महोत्सवमा सहजै र स्वादिलो घोंघी पाइन्छ ।’

कलाकार मुन्ना सर्राफले पनि माछा, हाँसको मासु र अनरसा खाएको सुनाए । स्वास्थ्यकर्मी अनिशकान्त कुशवाहाले आफू शाकाहारी भएकाले थारु समुदायको बगेया, अनर्सा, तेलही रोटी आदिको मज्जा लिएको बताए । माघी मूल समारोह समितिले २६४४औं थारु संवत् तथा माघीको अवसर पारेर बुधबार वीरगन्जमा आयोजना गरेको माघी महोत्सवमा अन्य समुदायका व्यक्ति पनि यसै गरी रमाए । २०५२ देखि वर्षैपिच्छे भइरहेको महोत्सवमा केही वर्ष यता थारुसँगै गैरथारु समुदायको सहभागिता उल्लेख्य छ । थारु संस्कृति, रहनसहन, चालचलन पनि जान्न सकिने भएकाले धेरैको आकर्षण बनेको छ माघी महोत्सव ।

मारवाडी समुदायकी गृहिणी नूतन सरावगी एक समुदायको चाडपर्वमा अर्को समुदाय पनि सहभागी भए आपसी सद्भाव र एकता वृद्धि गर्ने बताउँछिन् । ‘म पहिलोपटक माघी महोत्सवमा सहभागी हुन पाए,’ उनले भनिन्, ‘केही शाकाहारी परिकार पनि चाखें, साह्रै रमाइलो भयो ।’ महोत्सवमा थुप्रै गैरथारु भेटिए । सबैले चाड पर्वमा शुभकामना दिन र थारु संस्कृति, खाना, चलन आदि बारे जानकारी लिन महोत्सवमा आएको बताए । महोत्सवमा परम्परागत थारु परिकारदेखि नृत्य, कला–संस्कृति झल्काउने प्रयास गरिएको थियो ।

केही वर्षयता विभिन्न थारु संघसंस्थाले माघी पर्व सामूहिक रुपमा मनाउने र महोत्सव नै आयोजना गरेर थारु भाषा, कला, संस्कृति र परम्परा जगेर्ना गर्दै आएका छन् । महोत्सव प्रचारप्रसार समितिका संयोजक प्रकाश थारुले महोत्सवमा घाटु, झम्टा, सामाचकेवा, ठकरा आदि नृत्य प्रस्तुतिका साथै घोंघी, हाँस, कुखुरा र परेवाका परिकार, अनर्सा, तेलही रोटी, गुरही रोटी, पिठा, चिचर, लाई, तिल, केसर आदि परिकार उपलब्ध रहेको बताए । ‘यसरी माघी महोत्सव मनाउँदा सदरमुकाम वीरगन्ज र आसपास बसोबास गरिरहेका थारु एउटै थलोमा भेला हुने र शुभकामना आदानप्रदान गर्ने अवसर पाउँछन्,’ उनले भने, ‘गैरथारु समुदाय पनि उत्साहजनक रूपमा सहभागी भएर महोत्सवको मज्जा लिन्छन् ।’

थारु कल्याणकारिणी सभाका केन्द्रीय पार्षद प्राध्यापक राजेन्द्र महतो थारु केही वर्षयता महोत्सवमा गैरथारु समुदायको सहभागिता हुन थालेपछि आफूहरू पनि उत्साही भएको बताउँछन् । ‘यो महोत्सव सबै समुदायलाई एउटै थलोमा भेला हुने र माघे संक्रान्तिको शुभकामना आदान प्रदान गर्ने माध्यम बन्दैछ,’ उनले भने, ‘बर्षेनी जनसहभागिता बढेसँगै महोत्सव अझ भव्य र आकर्षक बनाउने हाम्रो प्रयास जारी छ ।’ यसअघि यहास्थित घण्टाघरबाट निकालिएको झाँकीले नगरका बिभिन्न भाग परिक्रमा गरेको थियो । थारु वेशभूषामा सजिएका बालबालिका तथा महिलाको झाँकीमा बढी उपस्थिति देखिन्थ्यो ।

प्रकाशित : माघ २, २०७६ ०९:४९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×