१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४७

बच्चामै बिहे, किशोरमा आमा

१३ दशमलव ७५ प्रतिशत किशोरीले १३ देखि १९ वर्षभित्रै बच्चा जन्माउँछन्
अमृता अनमोल

बुटवल — १८ वर्षे सरिता नटुवा ६ महिनायता घर गएकी छैनन् । उनी माइतीमै बस्छिन् । दुई छोराछोरी पनि उनीसँगै छन् । ‘माइतीमा बस्न मन त छैन,’ उनले भनिन्, ‘तर, घरबाट लिनै आउँदैनन् ।’ 

बच्चामै बिहे, किशोरमा आमा

रूपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका–३ को पडरिया चोककी सरिताको १३ वर्षको उमेरमा कपिलवस्तुको विशनपुरका २० वर्षे दिनेश नटुवासँग बिहे भयो । १४ वर्षमा छोरी र १६ वर्षमा छोरा जन्मिए । छोरा जन्मिँदा उनलाई लामो बेथा लाग्यो । सुत्केरीपछि पाठेघरमा डल्लोजस्तै निस्कियो । बिस्तारै उठ्न र बस्न अप्ठ्यारो हुन थाल्यो । सबैभन्दा गाह्रो पतिसितको शारीरिक सम्बन्धमा भयो । यही कारण उनका पति चिढिन थाले ।


‘मलाई रात आयो कि काल आएजस्तो हुन थाल्यो । उनलाई सन्तोष पार्न सकिनँ,’ सरिताले भनिन्, ‘यही कारण घरबाट निस्कनु पर्‍यो ।’ सरिता माइती आएदेखि दिनेश ससुराली आएका छैनन् । बाबु राजेन्द्र छोरी लिन आउनुस् भन्दै धेरैपटक दिनेशलाई भेट्न गए । तर, उनी आएनन् । ‘छोरीलाई तन्दुरुस्त बनाइदेऊ, अनिमात्र लिन आउँछौं भन्छन् रे,’ सरिताले गुनासो गरिन्, ‘उनकै कारण रोगी भएँ । अहिले आफैं दोषी ठहरिएँ ।’ सरिता उपचारका लागि बुटवल र भैरहवाका अस्पताल पुगिन् । तर, सन्चो भएन । ‘अप्रेसन गर्नुपर्छ रे,’ उनले भनिन्, ‘त्यो खर्च कहाँबाट जुटाउने !’


सरिता अहिले रोगभन्दा शोकले बढी थलिएकी छन् । विपन्न परिवारका माइती सधैं आश्रय दिन सक्ने अवस्थामा छैनन् । सानै उमेरमा बिहे गरेकी उनी अझै परिपक्व बनिसकेकी छैनन् । ‘सधैं अभाव, सधैं दुःख । धेरै भाइबैनी सानै छँदा पनि कहिल्यै माया र सुख पाइएन,’ सरिताले दुखेसो पोखिन्, ‘वैंश नआउँदै दुःखले घेरिएकी छु ।’


लुम्बिनी सांस्कृतिक नगरपालिकामा ३० घर नटुवा छन् । उनीहरू धेरैजसोका घरमा यस्तै समस्या छ । कसैका छोरा एक्लै छन्, कसैका छोरी । घरमै हुनेहरू पनि रोगिएका छन् । त्यसैमध्येकी हुन्, चन्द्रमती नटुवा । उनको १२ वर्षमै बिहे भयो । १९ वर्षमा तीन सन्तान जन्मिए । २४ वर्षीया उनी अहिले रक्त अल्पता र फिस्टुलाबाट ग्रस्त छिन् । ‘हातखुट्टा लुला हुन्छन् । झमझमी शरीर पोल्छ,’ उनले भनिन्, ‘पिसाब रोकिँदैन, चुहिराख्छ ।’


पिसाब चुहिने समस्याका कारण उनी गन्हाउँछिन् । यही कारण छिमेकीमात्र होइन, उनका पति पनि नजिक जाँदैनन् । मजदुरी गरेर घर चलाएका उनी रक्सीको नशामा फसेका छन् । नियमित आम्दानी दिंदैनन् । ‘बैंश फक्रने समयमा रोग फैलियो । काम गरेर खान पनि सक्दिनँ,’ चन्द्रमतीले गुनासो पोखिन्, ‘आफ्नै पतिले पनि हेर्दैनन् । सारै दुःख भएको छ ।’ १६ वर्षीया किस्मती नटुवाले गएको कात्तिकमा छोरी जन्माइन् । अहिले आमाछोरी दुवै स्वस्थ छैनन् । गर्भावस्थादेखि रगत बग्ने समस्या खेपेकी उनमा कुपोषण र रक्तअल्पता देखिएको छ । छोरी कम तौलकी छन् । ‘त्यसै त गरिबी, यसमाथि महिला र केटाकेटी रोगिने,’ सासु इलाइचीले भनिन्, ‘हामी समस्यामा छौं ।’


रूपन्देहीको ओमसतिया र शुद्धोधन गाउँपालिका एवं कपिलवस्तुको मायादेवी र शुद्धोधन गाउँपालिकामा नटुवा बस्ती छ । यी सबै बस्तीमा बालविवाहको समस्या चर्को छ । विपन्न परिवार कोही मजदुरी गर्छन् । कोही मागेर गुजारा चलाउँछन् । विपन्नताकै कारण छोरीहरू किशोर अवस्थामा नपुग्दै अभिभावकले बिहे गरिदिन्छन् । कोही मीठो मसिनो खान र राम्रो लाउन पाइने आशमा आफैं भाग्छन् । उनीहरू धेरैजसो सन्तान जन्माएपछि रोगी हुन्छन् । ‘सानैमा बिहे गरिदिँदा केटीहरू रोगिंदा रैछन् । त्यसपछि घरबाट निकालिन्छन्,’ नटुवा समुदायका अगुवा बराइची नटुवाले भने, ‘धेरै छोरी–बुहारीमा यस्तै भएको छ ।’


सानैमा बिहे गर्ने, किशोरी आमा बन्ने र दुःखले घेरिने समस्या प्रदेश ५ भरि नै छ । प्रदेशका १३ दशमलव ७५ प्रतिशत किशोरीले १३ देखि १९ वर्षभित्रमै बच्चा जन्माइसकेका हुन्छन् । किशोरी आमाका जोखिम बढेपछि गत आर्थिक वर्षमा सामाजिक विकास मन्त्रालयले स्वास्थ्य सर्वेक्षण गरेको थियो । सर्वेक्षणअनुसार गत वर्ष प्रदेशभर १ लाख २२ हजार ७ सय ६१ महिला स्वास्थ्य संस्थामा सुत्केरी भएका थिए । त्यसमध्ये १६ हजार ८ सय ८३ आमा १९ वर्षमुनिका छन् ।


सुत्केरी हुन आउने आमामध्ये सबैभन्दा जोखिमपूर्ण अवस्था किशोरी आमामा देखिएको छ । त्यस्ता किशोरी झण्डै ७० प्रतिशत रक्त अल्पताबाट ग्रस्त थिए । कम तौल र उचाइका शिशु जन्माउने पनि अधिकांश किशोरी थिए । ‘किशोरी आमा बन्दा आमामात्रै होइन, शिशु पनि अस्वस्थ र अविकसित हुने उदेकलाग्दो अवस्था रहेछ,’ सामाजिक विकास मन्त्री सुदर्शन बरालले भने, ‘यसले दिगो विकासका लक्ष्यलाई नै चुनौती दिएको छ ।’


यसअघि सन् २०१६ मा गरिएको स्वास्थ्य सर्वेक्षणअनुसार यस प्रदेशमा ४४ प्रतिशत आमामा रक्त अल्पता छ । यो राष्ट्रिय तथ्यांकभन्दा धेरै हो । किशोरी आमा बन्ने प्रमुख समस्या बालविवाह हो । यस प्रदेशमा अझै पनि ३७ प्रतिशतको बालविवाह हुन्छ । बालविवाह नरोकिंदा किशोरीमा आमा हुने र जोखिम थपिने गरेका हुन् । ‘यस्तोमा बालविवाह गर्ने र गराउनेलाई रोक्न सचेतना कार्यक्रम, कानुनी कारबाही र सामाजिक बहिष्कार उपयुक्त उपाय हुन सक्छ,’ महिला तथा बालबालिका सञ्जाल रूपन्देहीकी संयोजक समिता मल्लले भनिन्, ‘त्यसका लागि विपन्न र अल्पसंख्यक समुदायबाट अभियान थालिनुपर्छ ।’

प्रकाशित : माघ ३, २०७६ १२:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?