कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

जब्दिघाट पुल अलपत्र

बर्दिया/पाल्पा — सदरमुकाम गुलरिया र बारबर्दिया नगरपालिका जोड्ने बबई नदीको जब्दिघाट पुल भत्किएको वर्षौ बितिसक्यो । त्यहाँबाट सवारी आवागमन ठप्प छ । भत्किएको पुल कहिले निर्माण हुने हो निश्चित छैन । 

जब्दिघाट पुल अलपत्र

बारबर्दिया नगरपालिकाका प्रमुख दुर्गाप्रसाद चौधरीले उक्त पुल निर्माणका लागि केन्द्र र प्रदेश सरकारसमक्ष धाइरहेको बताए । अहिले बाढी आउँदा पुलको माथिबाट पानी बग्छ । बाढीमा बगेर आएका रुखले बहाव छेक्ने गरेको छ । पानीको बहाव थुनिएर ठूलो दुर्घटना हुन सक्ने खतरा बढ्दै छ । पुल हटाउन स्थानीयले माग गर्दै आएका छन् । ठेक्का लिने तर काम नगर्ने पप्पु कन्ट्रक्सनले पुल निर्माण गरेको हो । हस्तान्तरण नहुँदै पुलको पूर्वी भाग भत्किएको थियो ।


पुल १६ करोड ६८ लाख ४ हजार रुपैयाँ लगानीमा निर्माण भएको थियो । निर्माण पूरा भएको एक वर्ष नबित्दै पुल भत्कियो । पप्पु कन्ट्रक्सनलले ०६८ असार २५ बाट पुल निर्माणको काम सुरु गरेको थियो । तोकिएको भन्दा डेढ वर्ष ढिलो निमार्ण भएको पुलको लम्बाई ४ सय ३५ मिटर छ । चौडाई दुई लेनको छ । बारबर्दिया नगरपालिकाकाका प्रमुख चौधरीले जति प्रयास गरिए पनि सरकारले सुनुवाई नगरेको गुनासो गरे । ‘प्राविधिक समस्या छ भन्दै आलटाल हुँदै आएको छ । प्रदेश र केन्द्र सरकारसँग पटकपटक आवाज उठाइरहका छौँ,’ उनले भने, ‘पुल निमार्ण नहुँदा सवारी साधन बन्द भएको छ ।’ सडक डिभिजनले भने हस्तान्तरण नगरिएकै बेला भत्किएका कारण पुनर्निमार्णमा समस्या भएको जनाएको छ ।


गुलरिया—नेपालगन्ज हुलाकी सडकअर्न्तगतका जीर्ण ८ कल्भर्ट निमार्णका लागि अमर खड्का जेभीले ४ करोड ९७ लाख रुपैयाँमा ठेक्का लियो । उसले चालु आर्थिक वर्षको मंसिर मसन्तसम्ममा काम सम्पन्न गर्ने सम्झौता गरेको थियो । तर ठेक्का कबुलको समय सकिनै थालेको छ । निमार्णले पूर्णता पाउन सकेको छैन । गुलरियाको महम्मदपुर क्षेत्रमा ५ कल्भर्ट निर्माण भइसकेको छ । तर, भोलागौडीस्थित बहेरवानालामा निमार्ण गर्ने भनिएको कल्भर्टको काम सुरु भएको छैन । जसका कारण सम्झौंता अनुसार तोकिएको समयमा काम सकिने सम्भावना कम छ । सडक डिभिजन कार्यालय नेपालगन्जले समयमै काम सक्न पटकपटक ठेकेदारलाई भनिरहेको छ । डिभिजन सडक कार्यालयका सूचना अधिकारी इन्जिनियर नेत्रबिलास पौडेलले हुलाकी सडकको पाँच वटा कल्भर्ट निर्माण भइसके पनि पूर्णरुपमा हुन नसकेको स्वीकारे । उनका अनुसार भोलागौडीमा कल्भर्टको काम सुरु भएको छैन ।


‘निमार्ण कम्पनीला।ई समसयमै काम सक्न आग्रह गरिहेका छौ,’ उनले भने, ‘समयमै काम गर्न नसके जरिवाना गछौं ।’ उक्त आयोजनाका लागि ४ करोड ९७ लाखमा ठेक्का दिइएको छ । ०७४ फागुनमा काम गर्ने सम्झौता भएको थियो । खजुरा कृषि तालिम केन्द्र अगाडि अझै कल्भर्ट पूरा नहुँदा एकतर्फी राजमार्ग छ । राजापुर नगरपालिकाकामैलानालामा नागार्जुन कम्पनीले पुल निमार्ण जारी राखेको छ । राजापुरकै सौरिहा खोलामा गाल्भा निर्माण सेवाले पुल बनाउने जिम्मा लिएको छ । पुल निमार्णको समय केही बाँकी रहेको सडक डिभिजनले जनाएको छ । इन्जिनियर पौडेलले बर्दियामा पुराना पुलका काम नरोकिएको दाबी गर्छन् । उनका अनुसार ठेक्का समय सकिएका तर अलपत्र परेको पुल छैन ।


८ बर्षमा पनि काम अघि बढेन

पाल्पाको रामपुर नगरपालिकास्थित भुजात र स्याङ्जाको चापाकोट जोड्न गण्डकी नदीमा निर्माण सुरु गरिएका दुई पक्की पुल ठेक्का लागेको ८ वर्ष वितिसक्दा पनि अलपत्र छन् । त्यस्तै रानीमहल, असेर्दी, तिनाउका दुई पुल पनि अलपत्र छन् । डिजाइनमा भएको गल्तीका कारण कतिपय पुलको वर्षौदेखि जग निर्माण अघि बढेको छैन । निर्माण सुरु भएका पनि अलपत्र छन् । निर्माण व्यवसायीले विभिन्न बहानाबाजी गरेर पुल निर्माणमा उल्लेख्य प्रगति नगरेका हुन् । ‘काम सुरु गरेपछि समस्या आएको हो,’ सडक डिभिजन कार्यालयका प्रमुख केदार नेपालले भने, ‘अहिलेसम्म त्यसको डिजाइन परिवर्तन गर्न सकिएको छैन ।’


डिजाइनमा समस्या भएर पुल निर्माणको काम अघि नबढेको उनले बताए । कतिपयमा निर्माण व्यवसायीले ढिलासुस्ती गरेका छन् । सडक डिभिजनले विभिन्न प्राविधिक कारण जनाएर पुल निर्माणमा ढिलाई भएको जनाएको छ । चापाकोट–भुजात र प्याक्लुक–चापाकोट दुई पक्की पुलको ९ वर्षमा ३५ प्रतिशत काम भएको छ । त्यसमा देखिएको कन्सल्ट्यान्टको गल्तीलाई सुधारेर काम अघि बढाउन नसकिएको कार्यालयले जनायो । ठेक्का पाएको निर्माण व्यवसायी, कन्सल्टेन्ट र सरोकारवालाको बेवास्ताका कारण निर्माणमा ढिलाइ हुँदा सरोकारवाला निकायको ध्यान नपुगेको स्थानीय तिलक अधिकारीले बताए ।


तिनाउ खोलामा पुल नहुँदा दोभान, कचल, ठिमुरेलगायतका बासिन्दा वर्षको चार महिना दैनिक आठ घण्टासम्म पैदल हिँड्न बाध्य छन् । सिद्दार्थ राजमार्गको दोभानदेखि पश्चिमका विभिन्न गाउँ पुग्ने सडकमा तीन महिना बढी सवारी साधन चल्न सक्दैनन् । यहाँ निर्माण भएका पुल पनि अलपत्र छन् । दोभानदेखि कचल, ठिमुरे, जुठापौवा, फेकलगायतका स्थानमा जानलाई यही नजिक परेपनि पुल नबनेका बाटोको प्रयोग गर्न नपाएको पैदलयात्री लीलाबहादुर पांडेमगरले बताए । तिनाउमा पक्की पुल निर्माण सम्पन्न नहुँदा दोभानकै सुकेताल, खुर्साने, झ्याङ्ला, कचलको ओखलढुंगा, कचल फाँट, ठिमुरेमा सवारी आवागमन नियमित छैन । सडक डिभिजनको लापरवाहीले पुल समयमा नबन्दा कृषि उत्पादनले समेत बजार नपाएको स्थानीय किसान यादव सारुले बताए । ‘यहाँ उत्पादित तरकारी, बावियोको डोरी, अम्लिसोको कुचो, गेडागुडीको बजार बुटबल नै हो,’ उनले भने, ‘तर पुल नबन्दा विक्री गर्न समस्या भएको छ ।


म्याद थपिँदै

प्यूठानमा निर्माणाधीन आधा दर्जनभन्दा बढी पक्की पुलको काम अधुरै छ । समयमा निर्माण नभएपछि सडक डिभिजन कार्यालयले म्याद थप गर्न थालेको छ । पुल निर्माण नहुँदा स्थानीय समुदायले वर्षौंदेखि दुःख पाइरहेका छन् । गौमुखी गाउँपालिका–३ स्थित सिरीङखोलामा निर्माण थालिको पक्कि पुल अलपत्र छ । समयमा निर्माण नहुँदा रजबारा, अर्खा, पुजा र स्याउँलीबाङ क्षेत्रका स्थानीयले दुःख पाइरहेको रजबाराका स्थानीय जोगेन्द्र मल्ले बताए । जग्गा विवाद, समयमै रकम निकासा नहुने, मोबीलाइजेसन लिएर निर्माण कम्पनीले काम नथाल्नेलगायत कारणले म्यादमै निर्माण सम्पन नहुने गरेको जिल्लास्थित सडक डिभिजन कार्यालय प्रमुख धुर्बकुमार श्रेष्ठले बताए ।


प्रकाशित : कार्तिक ९, २०७६ ११:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?