कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३६

३ सय कुकुरको बन्ध्याकरण

प्रकाश बराल

बागलुङ — बागलुङका ३ सय कुकुरको बन्ध्याकरण गरिएको छ । सामुदायिक कुकुर बढ्दै गएको र पैदल यात्री तथा स्थानीयलाई जोखिम समेत बढेपछि भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द बागलुङले बन्ध्याकरण शिविर गराएको हो ।

३ सय कुकुरको बन्ध्याकरण

केन्द्रले केन्द्रीय रिफरल पशु चिकित्सालयको प्राविधिक सहयोग र बागलुङ नगरपालिकाको समन्वयमा तीन दिने शिविर सञ्चालन गरेको हो । कुकुर छोपेर ल्याउने तथा आफ्ना कर्मचारी र प्राविधिकसमेत नगरपालिकाले शिविरमा पठाएको थियो ।

बिहीबार, शुक्रबार र शनिबार भएको शिविरमा बागलुङ बजारका मात्रै झन्डै २ सय कुकुरको बन्ध्याकरण गरिएको हो । केन्द्रका प्रमुख वरिष्ठ पशु चिकित्सक ऋषिराम सापकोटाका अनुसार बजार क्षेत्रका ८३ सामुदायिक र ९३ घरपालुवा कुकुरको बन्ध्याकरण भएको हो । त्यसबाहेक बडिगाडका ५९ र बरेङका ७५ कुकुरको बन्ध्याकरण गएिको थियो । उक्त अवसरमा २५ कुकुरलाई रेबिजविरुद्ध खोप दिइएको छ । ४ वटा कुकुरको ट्युमर र ११ वटाको हर्नियाको अपरेशनसमेत गरिएको थियो ।

रेबिज रोग लागेका कुकुरसमेत भेटिन थालेपछि उनीहरुको व्यवस्थापन गर्ने अभियानमा पनि बागलुङ नगरपालिकाले काम थालेको छ । नगरपालिकाले कुकुर होस्टेलका लागि मुख्यमन्त्री कार्यालयसँग साझेदारी काम गर्ने सम्झौता गरेको छ ।

पछिल्लो समय सामुदायिक कुकुर बढ्दा पैदल यात्री र स्थानीयलाइ टोक्ने क्रम पनि बढेको छ । अस्पतालमा उपचार गर्ने बिरामीसमेत बढी देखिएको हो । कुकुरले लखेट्दा मोटरसाइकल सवार केही व्यक्तिको दुर्घटनामा मृत्युसमेत भएको थियो ।

बन्ध्याकरणपछि संख्या नबढ्ने र त्यसले रेबिजको पनि जोखिम कम हुने पशु प्राविधिक केशव पौडेलले बताए । बन्ध्याकरणका लागि वरिष्ठ पशु चिकित्सक डा. अर्जुन अर्याल नेतृत्वमा ९ सदस्यीय टोली बागलुङ आएको थियो । टोलीले पशु एम्बुलेन्ससमेत ल्याएको थियो । सामुदायिक कुकुरलाई बन्ध्याकरणपछि पोसिलो खाना खुवाएर मात्रै छाडिएको थियो ।

प्रकाशित : फाल्गुन ६, २०८० १२:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पार्टी र नेताहरूको कार्यशैलीबारे आलोचनात्मक प्रतिवेदनसहित टिप्पणी गर्ने महामन्त्री मुकुल ढकाललाई निलम्बन गर्ने राष्ट्रिय स्वतन्त्र पार्टीको निर्णयबारे के भन्नहुन्छ ?

×