कावासोतीमा शुक्रबारदेखि खिचरा महोत्सव, तयारी पूरा
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/900-100-0252024112350.gif)
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/mastercreativegif900x100-0952024115624.gif)
पूर्वी नवलपरासी — चितवन निकुन्ज नजिकमा रहेको पिप्रहर र चिलाहामा माघी मेला लाग्दैछ । स्थानीयको आयोजनामा कावासोतीको चिलाहामा शुक्रबारबाट ५ दिने खिचरा महोत्सव (माघी मेला) सुरु हुन लागेको हो । नयाँ वर्षको अवसरमा यहाँका थारु समुदायले खिचरा महोत्सव गर्ने भएका हुन् । महोत्सवको तयारी पूरा भएको आयोजकले जनाएका छन् ।
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/reward-900x100-pxl-2462024072414.gif)
![कावासोतीमा शुक्रबारदेखि खिचरा महोत्सव, तयारी पूरा](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2024/third-party/fbimg1704969449584-1112024125017-1000x0.jpg&w=1001&h=0)
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/sathi-deposit-900-100-1262024124333.gif)
माघ १ गते थारु समुदायको नयाँ वर्षसमेत हो । थारु समुदायले आ-आफ्नो टोलमा माघी धुमधामसँग मनाउने चलन छ । खिचरा महोत्सवमा थारु संस्कृति झल्कने सांस्कृतिक कार्यक्रमसमेत प्रस्तुत गरिने नवलपुर पर्यटन समितिका अध्यक्ष फन्सुराम महतोले जानकारी दिए । खिचरा महोत्सव आउँदो मंगलबारसम्म संचालन हुने छ ।
त्यसैगरी कावासोती नगरपालिकासँग सिमाना जोडिएको देवचुली नगरपालिकाको पिप्रहरमा पनि माघि महोत्सवको तयारी अन्तिम चरणमा पुगेको जनाइएको छ । रजहरभन्दा दक्षिणमा पर्ने पिप्रहर गाउँमा आउँदो आइतबारदेखि मंगलबारसम्म माघी महोत्सव हुनेछ ।
पिप्रहर माघी महोत्सवका सचिव सोमनाथ महतोले स्थानीय उत्पादन र रैथाने खानाको प्रचार गर्न माघी मेला आयोजना गर्न लागेको जनाए । मेलामा थारु समुदायको लोकप्रिय खाना, चिचर, घोगी, माछा र गुन्द्रकका परिकार विशेष बनाइने छ ।
थारु समुदायको रैथाने खान्की र स्थानीय उत्पादनको बजारीकरणमा सघाउ पुगोस् भनेर पनि महोत्सव, मेला आयोजना गरिएको सचिव सोमनाथले बताए ।
आयोजकका अनुसार खिचरा महोत्सवमा थारु समुदायका खाद्य परिकार, नारायणी नदीमा ढुंगा सयर, जंगल सफारी र टाइगर ट्रेल (बाघ हिँड्ने बाटोमा पर्यटकलाई पैदल हिँडाइने) कार्यक्रम राखिएको छ । पर्यटन व्यवसायी धनीराम गुरौका अनुसार ५ दिनसम्म संचालन हुने महोत्सवमा स्थानीय उत्पादनको बजारीकरण र खाद्य पदार्थ बिक्री गरेर पर्यटक आमन्त्रण गर्ने योजना छ ।
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/900-x-100-0172024023126.gif)