कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

हिमपातले कतै हर्ष, कतै कष्ट

चिसो बढेर जनजीवन प्रभावित, हिउँ परेका क्षेत्रमा बढे पर्यटक
प्रदेश ब्युरो

हेटौंडा — वाग्मती प्रदेशका उच्च भूभागमा बुधबार बिहानदेखि नै हिमपात भएको छ । मकवानपुर, दोलखा, सिन्धुपाल्चोक, रामेछाप र रसुवाका उच्च पहाडी डाँडा सेताम्मे भएका छन् । हिमपातका कारण जनजीवन कष्टपूर्ण बन्नुका साथै राजमार्ग र स्थानीय सडकमा सवारीसाधनहरू रोकिएका छन् । 

हिमपातले कतै हर्ष, कतै कष्ट

मकवानपुरको उत्तरी क्षेत्रस्थित दामन–सिमभन्ज्याङ क्षेत्रमा हिमपात भएको छ । बुधबार रातिदेखि परेको पानीसँगै त्यस क्षेत्रमा हिमपात भएको हो । थाहा नगरपालिकाको दामन, सिमभन्ज्याङ तथा भीमफेदी गाउँपालिकाको झिरघारी, गोलमोड तथा अघोर क्षेत्रमा हिमपातले जनजीवन प्रभावित बनेको छ ।

एक फिटभन्दा धेरै हिउँ जमेको थाहा नगरपालिका मेयर लवशेर विष्टले बताए । त्यस क्षेत्रमा हिमपात भएसँगै हेटौंडा, इन्द्रसरोवर र काठमाडौंबाट हिउँ खेल्न व्यक्तिहरू आइरहेको स्थानीयले बताएका छन् ।

हिमपातले त्रिभुवन राजमार्ग अवरुद्ध बनेको इलाका प्रहरी कार्यालय पालुङले जनाएको छ । मकवानपुरका निमित्त प्रहरी प्रवक्ता प्रहरी निरीक्षक राजकुमार सापकोटाका अनुसार तत्काल सवारी चलाउन सकिने अवस्था छैन । सवारी बलजफ्ती चलाउँदा दुर्घटना हुने देखिएकाले यातायात सञ्चालनमा रोक लगाएको उनले बताए । ‘काठमाडौंबाट आएको सवारी पालुङमै रोकिएका छन् । हेटौंडाबाट गएका गाडी अघोरमा रोकिएको छ । तत्काल बाटो खुल्ने सम्भावना छैन,’ सापकोटाले भने । उनका अनुसार बिहान ६ बजेबाट सवारी रोकिएका हुन् ।

दामनस्थित त्रिभुवन राजपथमा परेको हिउँ ।

सिन्धुपाल्चोक–जिल्लाका ३ नगर र ९ गाउँपालिकामा बुधबार बिहानबाट हिमपात सुरु भएको थियो । हरियाली डाँडा हिउँले पुरिएर मनमोहक बनाएको छ । जिल्लाका हेलम्बुझैं अन्य हिमाली गाउँमा हिउँ पर्नु घुम्न आउनेलाई ठूलो पर्वझैं भएको छ । हेलम्बु गाउँपालिकाका प्रमुख निमाग्याल्जेन शेर्पाका अनुसार गाउँभरि बुधबार झन्डै चार फिट बाक्लो हिउँ जमेपछि हेलम्बुभरका गाउँले घरबाट बाहिर निक्लन सकेका छैनन् ।

रसुवामा वर्षासँगै बुधबार बिहानबाट हिमाली भागमा बाक्लो हिमपात भएको छ । हिमपात र वर्षाले जिल्लाको उत्तरी क्षेत्रमा जाडो धेरै बढेको छ । जिल्लाको उतरी क्षेत्र गत्लाङ, लाङटाङ, क्याङजिन, तातोपानी, ठूलोस्याफ्रु, बृदिम, खाम्जिङ, शेर्पा गाउँ, थुमन, गोसाइँकुण्ड, धुन्चेको लेक, चोलाङपाटी, लौरीबिना, नगथली, चन्दनबारी यार्सा लेक, हाकुको लेक, माङचेतलगायतका विभिन्न ठाउँहरूमा बाक्लो हिमपात भएको छ । धुन्चे, भार्कु, ठाडे, राम्चे, लोकिल, यार्सालगायतका क्षेत्रमा हल्का हिमपात भएको छ । लाङटाङमा एक फिटभन्दा बढी हिमपात भएको वडाध्यक्ष सुप्पा लामाले बताए ।

तस्बिर सौजन्य : नोर्चेल तामाङ

‘हिमपात र वर्षा भइरहेको छ,’ लामाले भने, ‘घर बाहिर कोही पनि निस्कन सक्ने अवस्था छैन ।’ हिमपातका कारण चिसो बढेर उत्तरी भेगका स्थानीयको जनजीवन प्रभावित भएको छ । आमाछोदिङमो–५ तातोपानी, सिम्बु र टेताङ्चे क्षेत्रमा पनि बाक्लो हिमपात भएको तातोपानीका स्थानीय नोर्चेल तामाङले बताए ।

बुधबार रामेछापका उच्च पहाडी भूभागमा बाक्लो हिमपात भएको छ । साँझ अबेरसम्म पनि हिमपात भएको थियो । उमाकुण्ड गाउँपालिकाको गुम्देल, वाम्ती, कुभुकास्थलीको अगम डाँडा, प्रितीको लाप्चाने क्षेत्र, गुप्तेश्वरको तामे क्षेत्रमा ३ फिटसम्म हिमपात भएको स्थानीय मानबहादुर सुनुवारले बताए । सुनुवारका कारण वर्षा र हिमपातका कारण यहाँको जनजीवन कष्टपूर्ण बनेको छ ।

यातायातका साधन पनि गुड्न सकेनन् । गोकुलगंगाको चुचरे, ठोसे र रस्नालुका उच्च पहाडी भागमा बाक्लो हिमपात भएको छ । यता दोरम्बा शैलुङ गाउँपालिकाको शैलुङ क्षेत्रमा ४ फिटसम्म हिउँ परेको छ । हिउँले खोलाखर्क, घलेडाँडा गुफा छागाँ र गौश्वाराको माथिल्लो भाग ढाकेको छ । स्थानीय लालबहादुर श्रेष्ठका अनुसार खोलाखर्कमा हिउँ पर्ने क्रम रोकिएको छैन भने मानिसहरू घरबाहिर निस्कन सक्ने अवस्था छैन ।

-सुवास बिडारी (मकवानपुर), अनिश तिवारी (सिन्धुपाल्चोक), बलराम घिमिरे (रसुवा) र टीकाप्रसाद भट्ट (रामेछाप)

प्रकाशित : पुस १५, २०७८ ०७:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?