कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २५६

मदन भण्डारी राजमार्गको निर्माण रोकियो

सिन्धुली — मदन भण्डारी राजमार्गअन्तर्गत सिन्धुलीमाडीको धुराबजार–खट्टार खण्डको निर्माण रोकिएको छ । सहरी सडकको मापदण्डमा निर्माणको माग गर्दै आन्दोलित स्थानीयले बुधबारदेखि सडक निर्माण ठप्प पारेका हुन् ।

मदन भण्डारी राजमार्गको निर्माण रोकियो

मापदण्डको विषयलाई लिएर ५ वर्षदेखि रोकिएको धुराबजार–खट्टार ६ किलोमिटर सडक हाललाई ११ मिटर कायम गरी तीन साताअघिदेखि निर्माण सुरु भएको थियो । तर स्थानीयले 'मदन भण्डारी राजमार्गको मापदण्ड २०७२' चैत्र २९ गते प्रकाशित राजपत्रअनुसार सडकको दायाँबायाँ १५–१५ मिटर हुनुपर्नेमा बिनासूचना ११ मिटर मात्र लिएर काम सुरु गरेकोमा आपत्ति जनाएका छन् ।

सहरी सडकको मापदण्ड घोषणा नै नगरी काम सुरु गर्दा घर तथा जग्गाधनीहरु विस्थापित हुने भएकाले निकासका लागि सडक निर्माण रोकिएको आन्दोलनरत स्थानीय छेत्र बम्जनले बताए । राजमार्गको धुराबजार पुछारदेखि धुराफाँट, मिलनचोक, लव्दाह, शिवालय, साङबाले हुँदै खट्टारसम्मको ६ किलोमिटरलाई सहरी सडकको मापदण्डमा लैजान वा राजमार्गकै मापदण्ड कायम गरी घर तथा जग्गाको उचित मुआब्जा दिनुपर्ने मुख्य माग स्थानीयको छ । आन्दोलनकारीले आफ्नो मागसहितको ज्ञापनपत्र स्थानीय प्रशासनलाई समेत बुझाएका छन् ।

आवश्यक समझदारी गरेर सडक निर्माण सुरु गर्नका लागि पहल भइरहेको प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेले बताए । विकास निर्माण अवरुद्ध हुने भएकाले निर्माण नरोक्न आन्दोलनकारीलाई आफूले सुझाव दिएको उनको भनाइ छ ।

राष्ट्रिय गौरवको २५० किलोमिटर लामो राजमार्गलाई दुई खण्डमा विभाजन गरी निर्माण हुँदै आएको छ । राजमार्गलाई उदयपुरको बसाहादेखि सिन्धुलीको कमलामाई नगरपालिका–९ भिमानसम्म १३५ किलोमिटर लम्बाईलाई पूर्वी खण्ड र भिमानदेखि हेटौंडा उपमहानगरपालिका–६ चौगडासम्म ११५ किलोमिटर लम्बाई सडकलाई पश्चिम खण्डमा विभाजन गरी निर्माण भइरहेको छ ।

प्रकाशित : पुस ७, २०७८ १७:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुनकोशी-मरिण डाइभर्सनको सुरुङमार्ग छिचोलिएको छ । अब यो आयोजना छिटो सम्पन्न गर्न कसले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?