२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८१

चन्दा उठाएर पुनर्निर्माण

पुरानो पिंगलको कुमारी घर परम्परागत शैलीमा निर्माण
केदार सिवाकोटी

दोलखा — २०७२ वैशाखको भूकम्पले क्षतिग्रस्त बनेको सहर दोलखाका ऐतिहासिक सम्पदाहरू स्थानीयले चन्दा संकलन गरेर बनाउन थालेका छन् । कुमारी घर पुरातात्त्विक विभाग र पुनर्निर्माण प्राधिकरणले नबनाएपछि स्थानीय आफैंले चन्दा संकलन गरेर निर्माण गरेका छन् भने अन्य सम्पदाको पुनर्निर्माणको पनि तयारी हुँदै छ ।

चन्दा उठाएर पुनर्निर्माण

पुरातात्त्विक महत्त्वको ५ सय वर्षभन्दा पुरानो पिंगलमा रहेको कुमारी घर परम्परागत शैलीमा निर्माण गरिएको निर्माण समितिका सचिव सुरेशकुमार श्रेष्ठले बताए ।

उनका अनुसार ७५ लाख रुपैयाँभन्दा बढीको लागतमा कुमारी घर मल्लकालीन शैलीमा निर्माण गरिएको हो । जसका लागि स्थानीयले ६१ लाख रुपैयाँ चन्दाबाटै संकलन गरेका हुन् । भीमेश्वर नगरपालिका–२ कार्यालयले १४ लाख रुपैयाँ सहयोग गरेको छ । दोलखाकै पुरानो जात्रा भैरवकुमारी यही घरबाट निकाल्ने प्रचलन छ । वर्षमा ५ दिन मात्र उक्त घर खुला रहन्छ । ‘भूकम्पले भत्काएपछि पुरातत्त्व विभागले बनाउँछ होला भनेर बस्यौं,’ उनले भने, ‘यसबीचमा जात्रा चलाउनै मुस्किल भयो, चन्दा उठाएर बनाएका हौं ।’ उनका अनुसार कुमारी घर बनाउन लक्ष्मण श्रेष्ठ एक्लैले १० लाख ५० हजार रुपैयाँ सहयोग गरेका थिए ।

पिंगलमा रहेको कुमारी घर पुनर्निर्माण भए पनि टासिचा टोलमा रहेको कुमारी घर भने पुनर्निर्माण हुन सकेको छैन । ३/३ वर्षको फरकमा यी टोलहरूबाट आलोपालो भैरवकुमारीको जात्रा चलाइन्छ । विभिन्न जात्रा पर्व सुरु गरिने मुख्य थलो नाट्येश्वर पनि पुरातात्त्विक विभाग र पुनर्निर्माण प्राधिकरणले छुटाएपछि पुनर्निर्माण गर्न स्थानीय आफैं अग्रसर भएका छन् ।

राजहिटी, नारायणका २ वटा मन्दिर, ७ वटाभन्दा बढी चैत्यलगायत दर्जनौं पुरातात्त्विक सम्पदा पुनर्निर्माणमा छुटेका छन् । चन्दा संकलनबाट राजहिटी बनाउने तयारीमा अहिले स्थानीय छन् । ‘राजहिटीसहित तत्कालीन बेलामा रानीले स्नान गरेर घाम ताप्ने र वस्त्र फेर्ने राजहिटी पाटी पनि पुनर्निर्माणमा छुटेको छ,’ श्रेष्ठले भने, ‘राजहिटीसहित पार्टी पनि चन्दा संकलन गरेर बनाउँदै छौं ।’ राजहिटी र पाटी निमार्णका लागि करिब ३० लाख रुपैयाँ लाग्ने अनुमान गरेको उनले सुनाए ।

सुनिल मास्केले दोलखाको पालचुटी टोलस्थित झन्डै ३ करोड रुपैयाँ पर्ने ४ रोपनी जग्गा बौद्ध महाविहार निर्माणका लागि दान दिएका छन् । यो स्थल बौद्ध र हिन्दुहरूको पवित्र तीर्थस्थल रहेकाले महाविहार निर्माण अभियान सञ्चालन गरेको उनले बताए ।


प्रकाशित : पुस ७, २०७८ ११:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अत्यावश्यक मध्येको एक इन्टरनेट सेवा अवरोध आउने अवस्था निम्तिनुमा को बढी जिम्मेवार छ ?