धुलिखेलमा ‘योमरी फेस्टिभल’- वाग्मती - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

धुलिखेलमा ‘योमरी फेस्टिभल’

नगेन्द्र अधिकारी

काभ्रे — नयाँ पुस्तालाई योमरी पुन्हीको बारेमा जानकारी दिने उद्देश्यले धुलिखेलमा ‘योमरी फेस्टिभल’ आयोजना गरिएको छ ।

विशेषगरी नेवारी समुदायमा मनाइने योमरी पुन्हीको निरन्तरता, संरक्षण र प्रवर्द्धनको लागि स्थानीय लश: कुश युवा क्लबले सांस्कृतिक कार्यक्रमसहितको फेस्टिभल आयोजना गरेको अध्यक्ष कर्मसागर वर्ण श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार, योमरीसहित अन्य नेवारी परिकारका स्टलहरु थिए । योमरी नयाँ धानको चामलबाट चाकु, खुवा हालेर बनाइने विशेष परिकार हो । नेवारी समुदायमा जन्मोत्सव, गर्भवती महिलालाई दहीचिउरा खुवाउने समयमा पनि योमरी खुवाउने गरिन्छ ।

धुलिखेल नगर प्रमुख अशोककुमार व्याञ्जु श्रेष्ठले कला, संस्कृति र सम्पदा संरक्षणमा नयाँ पुस्ताको भूमिका हुने भन्दै उनीहरुको सक्रियता प्रशंसनीय रहेको बताए । उनले नगरपालिका सहयोग गर्न तयार रहेको बताए । नेवारी संस्कृति झल्कने चित्रलेखन, नृत्य, धिमेबाजा प्रस्तुत गरिएको थियो ।

प्रकाशित : पुस ४, २०७८ १७:४३
प्रतिक्रिया
पठाउनुहोस्

सगरमाथा निकुञ्जमा बढ्यो हिउँ चितुवाको आहार

असोज–कात्तिकमा गरिएको गणनाले हिउँ चितुवाको प्रमुख आहार झारलको संख्या ४३५ सम्म देखाएको छ
अब्दुल्लाह मियाँ

काठमाडौँ — सगरमाथा राष्ट्रिय निकुञ्जमा झारलको संख्या बढेको छ । हिउँ चितुवामा विद्यावारिधि गरिरहेका कमल थापाले गरेको अध्ययनले निकुञ्जमा झारलको संख्या ३ सय २२ देखि ४ सय ३५ सम्म देखाएको छ । झारल हिउँ चितुवाको मुख्य आहार हो ।

अनुसन्धानकर्ता थापाको टोलीले गत असोज–कात्तिकमा निकुञ्जको नाम्चे, थामे, फोर्चे र गोक्यो उपत्यकामा झारल गणना गरेको थियो । ती क्षेत्रमा समूहमा झारल देख्न सकिन्छ । यसपटक ‘डबल अब्जर्भ्ड मेथड’ बाट झारल गणना गरिएको हो । थापाले यसअघिको गणनाभन्दा यो पटक झारलको संख्या बढेको बताए । सन् २००६, २००९, २०१०, २०१२ र २०१३ मा पनि झारल गणना गरिएको थियो । ‘सन् २००६ मा करिब २ सय २० को हाराहारीमा थिए,’ थापाले भने, ‘त्यसको तुलनामा अहिले संख्या दोब्बर भएको देखियो ।’ प्राकृतिक वासस्थानमा १५ वर्ष बाँच्न सक्ने झारल एक–दुई वर्षमै वयस्क हुन्छ र बच्चा जन्माउन सक्षम हुन्छ ।

हिउँ चितुवामा विद्यावारिधि गरेका सोम आलेले सन् २००७ मा सगरमाथा निकुञ्जमै गरेको अध्ययनले झारलको संख्या २ सय ७७ देखाएको थियो । निकुञ्जका प्रमुख संरक्षण अधिकृत (वार्डेन) भूमिराज उपाध्यायले आगामी चैत–वैशाखमा मुख्य बासस्थल क्षेत्रमा झारल गणना गर्न लागिएको बताए । ‘थापाको अध्ययनले बढेको देखायो । यसले निकुञ्जमा हिउँ चितुवाको संख्यालाई इंगित गरेको छ । हामीले गर्ने अध्ययनले त्यसको पुष्टि गर्ने विश्वास छ,’ उनले भने ।

सन् १९९० मा इटालियन अनुसन्धानकर्ता सान्ड्रो लोभारीले सगरमाथा निकुञ्जमा गरेको गणनाले झारलको संख्या करिब ३ सय ५० देखाएको थियो । ‘त्यो बेला सगरमाथा निकुञ्जमा हिउँचितुवा करिब लोप भइसकेको अनुमान गरिएको थियो,’ थापाले कान्तिपुरसँग भने, ‘यो पटक झारलको संख्या उल्लेख्य बढेको देखियो तर हिउँ चितुवाको अवस्था कस्तो छ यसै भन्न सकिन्न । बस्ती आसपास पशुचौपाया मार्ने वन्यजन्तुको सूचीमा ब्वाँसो पहिलो नम्बरमा देखिएकाले हिउँ चितुवा कम भएको हो कि भन्ने उनले अनुमान गरे ।

वार्डेन उपाध्याय भने आहार प्रजातिको वृद्धिसँगै बासस्थलमा मानवीय चाप घटेका कारण हिउँ चितुवाको संख्या बढेको हुन सक्ने तर्क बताउँछन् । हिउँ चितुवा संरक्षण कार्ययोजना (सन् २०१७–२०२१) अनुसार नेपालमा कञ्चनजंघा संरक्षण क्षेत्रदेखि पश्चिममा अपिनाम्पा संरक्षण क्षेत्रसम्मै हिउँ चितुवाका लागि सुरक्षित बासस्थान मानिन्छ । सगरमाथा निकुञ्जमा १ हजार २ सय २३ वर्ग किमि क्षेत्र हिउँ चितुवाका लागि सुरक्षित बासस्थान हो । त्यहाँ प्रति १ सय वर्गकिमिमा हिउँ चितुवाको १.८ घनत्व छ । हिउँ चितुवाको बासस्थान रहेका तीन भू–परिधिहरु पूर्वी, मध्य र पश्चिममध्ये सगरमाथा निकुञ्जसमेत पर्ने पूर्वी क्षेत्रमा ४–५ वटा हिउँ चितुवा रहेको अनुमान छ ।

वार्डेन उपाध्यायका अनुसार निकुञ्जको तल्लो भागमा पछिल्ला केही वर्ष चितुवा (कमन लियोपार्ड) र ब्वाँसोको संख्या उल्लेख्य बढेको देखिएको छ । निकुञ्ज क्षेत्रका बस्ती आसपासमा एक वर्षमा विभिन्न वन्यजन्तुले १ सय २४ वटा याक मारेका थिए । त्यसमा सबैभन्दा बढी याक ब्वाँसोले मारेको पाइएको छ । उपाध्यायले गत वर्ष पशु क्षतिबापत् करिब एक करोड रुपैयाँ निकुञ्जले स्थानीयलाई राहत बाँडेको बताए । निकुञ्जको तथ्यांक अनुसार आर्थिक वर्ष २०७६/७७ मा ब्वाँसोले ८४, हिउँ चितुवाले ७, चितुवाले २९ र हिमाली कालो भालुले ४ वटा याक मारेको देखिन्छ । सगरमाथा निकुञ्जमा हिउँ चितुवाको अर्को आहार प्रजाति नाउर भने पाइँदैन ।

से–फोक्सुण्डो निकुञ्जलगायतका क्षेत्रमा भने हिउँ चितुवाले नै सबैभन्दा बढी चौरी–याक मार्ने गरेको छ । जानकारका अनुसार हिउँ चितुवाको घनत्व बढी भएका कारण पशु चौपाया मार्ने घटनामा वृद्धि भएको हो । कार्ययोजनाअनुसार से–फोक्सुण्डो निकुञ्ज र अपिनाम्पा संरक्षण क्षेत्रमा कम्तीमा ३१९ र बढीमा ३४९ हिउँ चितुवा रहेको आँकलन छ । देशभर ३५० देखि ५०० हिउँ चितुवा छन् ।

प्रकाशित : पुस ४, २०७८ १७:४०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
x
×