कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

हेटौंडामा देउवाविरुद्ध संगठित हुँदै इतर समूह

सुवास विडारी

मकवानपुर — नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत वडादेखि प्रदेशसम्मको नयाँ नेतृत्व चयनका लागि विभिन्न जिल्ला र प्रदेशमा चुनाव भइरहेका छन् ।

हेटौंडामा देउवाविरुद्ध संगठित हुँदै इतर समूह

कांग्रेसभित्र हाल दुई नेता सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलका समूह सक्रिय देखिएका छन् । यसवाहेक पनि संस्थापन इतर समूहका नेताहरू पनि आआफ्नै समूह बनाएर अधिवेशनमा उम्मेदवारलाई अघि सारेका छन् ।

हेटौंडा अधिवेशनमा भने सभापति देउवा पक्षविरुद्ध संस्थापन इतर नेताहरू एकजुट भएर अभियान सञ्चालन गरिरहेका छन् । विशेषगरी पार्टी सभापति र महामन्त्रीमा उम्मेदवारी घोषणा गरिसकेका संस्थापन इतरका नेता प्रकाशमान सिंह र गगन थापाले संस्थापनविरुद्ध मोर्चाबन्दीको नेतृत्व गरिरहेका छन् । उनीहरूले प्रदेश तहबाटै देउवाविरुद्ध अभियान सञ्चालन गरेर अगाडि बढ्न जरुरी रहेको आफ्ना कार्यकर्तालाई भनिरहेका छन् ।

‘प्रकाशमान र गगन थापाको महाधिवेशन हुने उम्मेदवरी वाग्मती प्रदेशको नतीजामा भर पर्छ,’ यस समूहका एक नेताले भने । उनीहरूको समूहमा रहेका जगदिशनरसिंह केसीलाई प्रदेश सभापतिमा जिताउन उनीहरू हाल हेटौंडामा कम्मर कसेर लागि परेका छन् । उनीहरूले संस्थापनविरुद्ध प्रचारप्रसारका विभिन्न अभियानसमेत सञ्चालन गरिरहेका छन् ।

कांग्रेस सभापतिमा उम्मेदवारी घोषणा गरेका नेता प्रकाशमान सिंहले नेपाली कांग्रेस पार्टीभित्र अन्याय भइरहेको भन्दै न्याय दिनको लागि कांग्रेसमा राम्रो नेतृत्व आउन आवश्यक रहेको बताएका छन् । उनले वर्तमान नेतृत्वले पार्टीलाई न्याय दिन नसकिरहेको भन्दै राष्ट्रिय राजनीतिमा दीर्घकालीन असर पार्ने भएका कारण वाग्मती प्रदेशमा सक्षम नेतृत्व चयन गर्न जरुरी रहेको औंल्याए ।

हेटौंडा आएका संस्थापन इतरका नेताहरूले प्रदेश सभापतिमा संस्थापन पक्षबाट उम्मेदवारी दिएका विरुद्ध पौडेल पक्षका नेताहरू एउटै मञ्चमा उभिएर मत मागेका छन् । कांग्रेसको नेता रामशरण महतले आन्तरिक गुटले गर्दा पार्टीलाई कमजोर बनाएको भन्दै कांग्रेसलाई बलियो र सुदृढ बनाउन नयाँ नेतृत्व चयन गर्नुपर्ने औंल्याए ।

‘हालको नेतृत्वको कारण कांग्रेस कमजोर भएको छ । त्यसकारण सक्षम नेतृत्व चयन गर्नु अहिलेको आवश्यकता हो’, उनले भने । कांग्रेस अर्जुननरसिंह केसीले कांग्रेसको अहिलेको नेतृत्वले प्रजातान्त्रिक आन्दोलनलाई अगाडि बढाउन नसक्ने टिप्पणी गरे । केसीले पार्टी विधि प्रधान हुनुपर्नेमा व्यक्ति प्रधान बनेको भन्दै देउवाको कटाक्ष गरे ।

‘पार्टीभित्र व्यक्ति हावी भइरहेको छ । हामीले महाधिवेशनबाट नयाँ नेतृत्व स्थापित गर्नुको विकल्प छैन,’ उनले भने । कांग्रेस नेता गगन थापाले पार्टी अहिले गलत बाटो गएका कारण देशमा बेथिति बढेको आरोप लगाए । ‘वाग्मतीको नतीजाले महाधिवेशनबाट आउने नयाँ नेतृत्वको निर्धारण गर्छ । हामीले आफ्नो पार्टीभित्र कमजोरीलाई सच्याएर एक ढीक्का बनेर अन्य दलहरूसँग लड्नुपर्नेछ । त्यसकारण हामीले सही र सक्षम नेतृत्व चयन गर्नुपर्छ,’ थापाले भने ।

कांग्रेस वाग्मती प्रदेश सभापतिमा पौडल समूहबाट केसी, देउवा समूहबाट इन्द्रबहादुर बानियाँ र सिटौला पक्षबाट भीमसेनदास प्रधानले उमेदवारी दिएका छन् ।

प्रकाशित : मंसिर १७, २०७८ १९:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?