कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८१

१० वर्षअघि निर्माण थालिएको स्कुलको शौचालय अझै अधुरो

टीकाप्रसाद भट्ट

रामेछाप — मन्थली नगरपालिका-२ पिपलेस्थित गौरीशंकर आधारभुत विद्यालयमा १० वर्षअघि सुरु भएको शौचालय निर्माणको काम अझै अधुरो छ ।

१० वर्षअघि निर्माण थालिएको स्कुलको शौचालय अझै अधुरो

तत्कालीन शान्ति तथा पुनर्निर्माण मन्त्रालयको सहयोगमा मार्फत् निर्माण थालिएको उक्त शौचालय पूरा नहुँदा स्कुले बालबालिकाहरू वर्षौंदेखि नजिकैको पाखामा शौच गर्न बाध्य छन् ।

शान्ति तथा पुनर्निर्माण मन्त्रालयको बजेटमा तत्कालीन जिल्ला प्राविधिक कार्यालयले उक्त विद्यालयमा शौचालय निर्माणको काम थालेको थियो । प्राविधिक कार्यालय संघीयता कार्यान्वयनमा आएसँगै खारेज भएको छ । खारेज भएको कार्यालयले सम्पादन गर्दैआएका विकासका कार्यक्रम अलपत्र छन् ।

विद्यालयका प्रअ रामकुमार अधिकारी अधुरो रहेको शौचालय पूरा गराउन विभिन्न निकायमा धाए पनि कसैले चासो नदिएको गुनासो गर्छन् । ‘प्राविधिक कार्यालयको जिम्मेवारी कता सरेको छ भन्ने कुराको जानकारीसमेत हामीलाई भएन’ अधिकारी भन्छन् – 'अधुरो रहेको शौचालय पूरा गर्न पाए बालबालिकाले सुरक्षित शौचालय प्रयोग गर्न पाउँथे ।'

उक्त शौचालय पूरा गर्न करिब ५ लाख रुपैयाँ भए पुग्ने अधिकारीको अनुमान छ । विद्यालयसँग आन्तरिक आय नभएकाले उक्त निर्माण सम्पन्न गर्न कठिन रहेको शिक्षकहरू बताउँछन् । वडा र नगरपालिकामा शौचालय पूरा गरिदिन अनुरोध गरेको तर बजेट विनीयोजन नभएको गुनासो प्रअले गरे ।

गौरीशंकर आधारभुत विद्यालयको शौचालय मात्र हैन, तत्कालीन शान्ति तथा पुनर्निर्माण मन्त्रालयले द्वन्द्वोत्तर शान्ति परियोजना मार्फत् थालेका जिल्लाका अन्य विकास निर्माणका आयोजनासमेत अधुरै छन् । खिम्तीको सहिद गेट जग मात्र निर्माण गरेर अलपत्र छाडिएको छ ।

यसैगरी भूजीको सहिद पार्क, बेथानको पानीघाट सहिद स्मृति पार्क, दोरम्बाको शान्ति पार्क बजेट र जिम्मेवारी नहुँदा अधुरै छन् । गाउँ विकास समितिका भवन र विद्यालयको समेत काम गर्ने उक्त परियोजनाले केही भवन पूर्ण नगरी बाहिरिएको थियो । जिल्लामा हाल उक्त आयोजनाहरूका बारेमा जानकारी खोज्दा कुनै निकायमा पाइँदैन ।

अधुरो रहेका केही योजना स्थानीय सरकारले आफ्नै ढुंगले पूरा गरेका छन् । माओवादीले थालेको जनयुद्धमा सबैभन्दा पहिलो फौजी आक्रमण भएको बेथान प्रहरी चौकीमा मारिएका ३ जना माओवादी नेताहरूको स्मृतिमा शालिक निर्माण र पार्कको काममा पालिकालेसमेत लगानी गरेको छ । निर्वाचन क्षेत्र विशेष कार्यक्रमको बजेट समेत परिचालन गरी अधुरो योजना सम्पन्न गरेको सुनापति गाउँपालिकाले जनाएको छ ।

प्रकाशित : मंसिर १४, २०७८ २०:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघीय संसद्को शुक्रबारबाट सुरू हुने बजेट अधिवेशन सहज रुपमा सञ्चालनको वातावरण निर्माणका लागि मुख्यरुपमा के गर्नुपर्छ ?