मतदाता नामावली संकलन शुक्रबारदेखि- वाग्मती - कान्तिपुर समाचार

मतदाता नामावली संकलन शुक्रबारदेखि

कान्तिपुर संवाददाता

मकवानपुर — स्थानीय तहको निर्वाचनलाई लक्षित गरी वाग्मती प्रदेश निर्वाचन कार्यालय हेटौंडाले मतदाता नामावली संकलन गर्ने भएको छ । मकवानपुरका राजनीतिक दल, सुरक्षा निकाय र सरोकारवालासँग स्थानीय तहमै पुगेर मतदाता नामावली संकलन गर्नेबारे कार्यालयले सोमबार जानकारी गराएको हो ।

दुई चरणमा गरेर स्थानीय तहमा नामावली संलकन गर्न लागिएको निर्वाचन कार्यालय प्रमुख लुम्बनाथ पोखरेल बताए ।उनका अनुसार पहिलो चरणमा मंसिर १७ बाट पुस २ सम्म र दोस्रो चरणमा पुस ५ बाट १९ सम्म मतदाता नामावली संकलन हुनेछ ।

पहिलो चरणमा जिल्लाका भीमफेदी, इन्द्रसरोवर, मनहरी, बकैया र गढी गाउँपालिकामा नामावली संकलन गरिनेछ । दोस्रो चरणमा वाग्मती, थाहा नगरपालिका, राक्सिराङ र कैलाश गाउँपालिकाका केन्द्रमा अस्थायी कार्यालय स्थापना गरी मतदाता नामावली संकलन गरिनेछ । हेटौंडा उपमहानगरपालिकाको हकमा जिल्ला प्रशासन कार्यालय र निर्वाचन आयोग कार्यालयबाट मतदाता नामावली संकलन गर्ने व्यवस्था मिलाइएको छ ।

‘आयोगले विशेष कार्यक्रममार्फत् नामावली संकलन गर्न लागेको हो । अहिले जाने टोलीले त्रुटि सच्याउने र स्थान परिवर्तन गर्ने काम गर्दैन । १८ वर्ष पुगेकाहरूको नाम मतदाता नामावलीमा थप्ने काम मात्र गर्छ,’ उनले त्रुटि सच्याउने र मतदाता केन्द्र वा जिल्ला परिवर्तनको काम कार्यालयबाट मात्र हुने प्रस्ट्याए । मतदाता नामावली संकलन गर्न ४ कर्मचारी र प्राविधिक टोली प्रत्येक स्थानीय तहमा पठाइनेछ । ‘स्थानीय तहसँगको समन्वय र राजनीतिक दलको सहयोगमा काम गर्नेछौं,’ उनले भने । प्रतिदिन एक पालिकाबाट बढीमा १५० जनासम्मको नाम संकलन गर्ने गरी टोली खटाउने

तयारी भइरहेको उनले जानकारी दिए । मतदाता नामावली संकलनलाई चुस्त बनाउन जिप्रका मकवानपुरले स्थानीय तहका जनप्रतिनिधि र जिल्ला सुरक्षा समितिमार्फत आन्तरिक तयारी पूरा गरिसकेको प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले बताए ।

प्रकाशित : मंसिर १४, २०७८ ०८:५७
प्रतिक्रिया
पठाउनुहोस्

बौद्धिक चोरी गर्ने १० जनाको विद्यावारिधि अमान्य

भारतको मेवाड विश्वविद्यालयबाट विद्यावारिधि उपाधि लिएको एउटा शोधपत्रमा ६९ प्रतिशत चोरी
गणेश राई

काठमाडौँ — बौद्धिक चोरी प्रमाणित भएपछि समकक्षताका लागि पेस गरिएका १० जनाको विद्यावारिधि शोधपत्र त्रिभुवन विश्वविद्यालयले अस्वीकृत गरेको छ । त्रिवि केन्द्रीय पुस्तकालयमा करिब चार महिनाअघि ‘एन्टी प्लेजरिजम सफ्टवेयर मेसिन’ (बौद्धिक चोरी जाँच्ने यन्त्र) जडान भएयता पहिलो पटक विद्यावारिधि शोधपत्रमा बौद्धिक चोरी पुष्टि भएको हो । 


समकक्षताका लागि पेस भएका विदेशी विश्वविद्यालयका शोधपत्र उक्त परीक्षणमा सफल भएपछि विद्यावारिधि समकक्षताको प्रक्रिया अघि बढ्छ । त्रिवि पाठ्यक्रम विकास केन्द्रले भारत, चीनलगायत मुलुकबाट प्राप्त विद्यावारिधिलगायत उपाधिलाई समकक्षता दिएपछि मात्र त्यसले आधिकारिकता पाउँछ । परीक्षणबाट १० जनाको शोध नक्कल गरिएको पुष्टि भएपछि उनीको विद्यावारिधिलाई समकक्षता दिन त्रिविले अस्वीकार गरेको हो । त्यसरी अस्वीकृत हुनेमा भारतकै विभिन्न विश्वविद्यालयबाट प्राप्त विद्यावारिधि छन् ।

स्रोतका अनुसार सन् २०१९ मा अर्थशास्त्र विषयमा भारतको मेवाड युनिभर्सिटीबाट विद्यावारिधि उपाधि लिएको एउटा शोधपत्रमा ६९ प्रतिशत नक्कल भएको पाइएको छ । ‘मापदण्डअनुसार कुनै पनि शोधपत्र समग्रमा २० प्रतिशतसम्म अर्काको सारेकोलाई स्विकार्ने भन्ने रहेको छ,’ त्रिवि केन्द्रीय पुस्तकालय प्रमुख पूर्णलाल श्रेष्ठ भन्छन्, ‘तर अहिलेम्म १० वटा विद्यावारिधि शोधपत्र ५० प्रतिशतसम्म अर्काको शोध हुबहु सारेको फेला परेका छन् ।’ एन्टी प्लेजरिजम मेसिन प्रयोग हुनुभन्दा पहिले उपाधि लिइसकेका व्यक्तिको शोधपत्रलाई जाँच गर्ने/नगर्ने भन्नेबारे त्रिविले निर्णय गर्न बाँकी रहेको जनाइएको छ ।

कुनै पनि शोधपत्र जाँच्नका निम्ति सम्बन्धित विषयको यसअघि भएका शोधपत्र डिजिटल रूपमा पीडीएफ भर्सनमा अर्काइभ भएको हुनुपर्छ । केन्द्रीय पुस्तकालय वा अन्य कुनै पनि निकायले डिजिटल भर्सनमा अर्काभिङ गरेको विषय तथा सन्दर्भ स्रोतलाई ‘एन्टी प्लेजरिजम मेसिन’ ले पत्ता लगाउँछ । त्यसलाई सम्बन्धित शोधपत्रसँग जाँचिन्छ । प्रमुख श्रेष्ठका अनुसार त्रिवि पुस्तकालय विकास समितिको निर्णयअनुसार केन्द्रीय पुस्तकालयले गत जेठमा ‘टुर्निटिन’ अमेरिकन सफ्टवेयर कम्पनीसँग ३५ लाख रुपैयाँमा मेसिन खरिद गरेको हो ।

मेसिन खरिदसँगै कम्पनीले त्रिवि पुस्तकालयसँग सम्बन्धित पदाधिकारी, कर्मचारीलाई तालिमसमेत दिएको थियो । ‘त्रिविको ४२ केन्द्रीय विभाग, ६२ आंगिक क्याम्पस, चार अनुसन्धान केन्द्र, नौवटा डिन कार्यालय, पाठ्यक्रम विकास केन्द्रलाई युजर आईडी (लाइसेन्स) उपलब्ध गराएका छौं,’ पुस्तकालय प्रमुख श्रेष्ठले भने, ‘त्रिविअन्तर्गतका ती निकायमा रहेका थेसिसलाई डिजिटाइज गर्न लगाएका छौं । बौद्धिक चोरी भए/नभएको बारे जाँच्न सक्छन् ।’

पहिलो चरणमा विद्यावारिधि, एमफिलका शोधपत्र र विभिन्न अनुसन्धान प्रतिवेदनलाई प्राथमिकतामा राखेर काम भइरहेको छ । केन्द्रीय पुस्तकालयमा रहेका ५० हजार थेसिसलाई डिजिटलाइज गर्न पाँच कर्मचारी निरन्तर खटिएका छन् । अहिले पीएचडी र एमफिलको प्रस्ताव जाँच्न आउने क्रम सुरु भएको प्रमुख श्रेष्ठले बताए । उनका अनुसार अन्य विश्वविद्यालयका विद्यार्थीसमेत आउन थालेका छन् ।

त्रिविअन्तर्गत इन्जिनियरिङ, चिकित्साशास्त्र र व्यवस्थापन संकायमा समेत स्नातकोत्तर तहको शोधपत्रको एन्टी प्लेजरिजम सफ्टवेयरबाट परीक्षण हुन थालेको छ । ‘त्रिविअन्तर्गत तीनवटा पीएचडी शोधपत्रको जाँच भएर भाइभा पनि भइसकेको छ,’ पुस्तकालयका सूचना अधिकारी विजय शर्माले भने, ‘अहिले त्रिवि विज्ञान संकायले पीएचडी प्रपोजललाई अनिवार्य जाँच गरेरमात्र स्वीकृत गर्ने नीति लिएको छ ।’

त्रिविको नीतिअनुसार पाँच सय पृष्ठको पीएचडी शोधपत्र जाँच्न २ हजार ५ सय रुपैयाँ लिने गरिएको छ । त्यसैगरी एमफिलको तीन सय पृष्ठको शोधपत्रको दुई हजार रुपैयाँ र स्नातकोत्तर शोधपत्र दुई सय पृष्ठको एक हजार रुपैयाँ शुल्क तोकिएको छ । यस्तै, रिसर्च रिपोर्ट तीन सय पृष्ठको दुई हजार, कुनै टर्म पेपर वा आलेख ५० पृष्ठको ५ सय रुपैयाँ लाग्छ । तोकिएको पृष्ठ संख्याभन्दा बढी भएमा प्रतिपाना १० रुपैयाँ थप शुल्क बुझाउनुपर्छ ।

प्रकाशित : मंसिर १४, २०७८ ०८:५४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×