कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कांग्रेस नेतृत्वमा युवा

प्रदेश ब्युरो

हेटौंडा — कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत भएको महाधिवेशन प्रतिनिधि चयनमा युवाहरूको बलियो उपस्थिति देखिएको छ । अघिल्ला अधिवेशनमा जस्तै पाका पुस्ताका पुरानै नेता नेतृत्वमा दोहोरिने क्रम यसपालि फेरिएको हो । युवामा पनि ३० वर्षमुनिका धेरै जना छानिएको देखिन्छ ।

कांग्रेस नेतृत्वमा युवा

सिन्धुलीको तीनपाटन गाउँपालिकाका २८ वर्षीय मुकेश घिमिरे पार्टीलाई अब पुस्तान्तरण र रूपान्तरण गर्दै लैजानुपर्ने बताउँछन् । प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं १ मा धेरै पाका नेताहरूसँग चुनावी मैदानमा उत्रिएका उनले सहजै जित हात पारेका हुन् । क्षेत्र नं १ बाटै ३० वर्षमुनिका सुवास कार्की, अर्पणा खड्का, सुजन मगरलगायत महाधिवेशन प्रतिनिधिमा चुनिएका छन् । यो परिणामले अब युवा पुस्ता पनि कांग्रेस नेतृत्वमा आउनुपर्छ भन्ने सन्देश दिएको सिन्धुली बहुमुखी क्याम्पसका प्राध्यापक सन्तोष शर्मा बताउँछन् । केही पाकालाई समेट्दै युवाहरू नेतृत्वमा आउनुले कांग्रेसमा परिवर्तनको संकेत देखिएको उनको बुझाइ छ ।

काभ्रेको नमोबुद्ध नगरपालिका–११ का ३२ वर्षीय रोशन तामाङ कांग्रेस महासमिति सदस्यमा निर्विरोध चयन भए । कांग्रेसको विधान बनाउने सर्वोच्च निकायमा पुग्ने उनी जिल्लाका कान्छा सदस्य हुन् । प्रनिनिधिसभा क्षेत्र नं १ बाट आदिवासी जनजाति कोटामा उनी महाधिवेशन प्रतिनिधि निर्विरोध रूपमा छानिएका हुन् ।

२५ जना महाधिवेशन प्रतिनिधिमध्येबाट छनोट हुने ११ महासमिति सदस्यमा पनि उनी सर्वसम्मत भएका हुन् । ‘नसोचेको जिम्मेवारी प्राप्त भयो, प्राप्त जिम्मेवारीलाई पार्टीको हितमा कुशलतापूर्वक निर्वाह गर्छु,’ तामाङले भने, ‘पदीय जिम्मेवारीअनुसार पार्टीलाई युवामैत्री बनाउन भूमिका खेल्छु ।’ जिल्लामा महाधिवेशन प्रतिनिधिमा ५० प्रतिशतभन्दा बढी युवाहरू छानिएको बताइएको छ ।

सिन्धुपाल्चोकमा १९ वर्षीया युवती महाधिवेशन प्रतिनिधि निर्वाचित भएकी छन् । ४०९ मत ल्याएर विजयी मेलम्ची नगरपालिका–९ ज्यामिरे गाउँकी करिना पुरी जिल्लाकै सबैभन्दा कम उमेरकी निर्वाचित प्रतिनिधि हुन् । प्रतिनिधिसभा क्षेत्र नं २ मा प्रत्यक्ष खुला महिलातर्फ ४ पदमा पुरीसँगै ७ जना उम्मेदवार थिए ।

चर्को प्रतिस्पर्धाबीच पुरीसहित जमुना मोक्तान, गंगा चापागाईं र लक्ष्मी सुनार विजयी भए । कलिलै उमेरमा हतार गरेर महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी दिएको आरोप खेपेकी उनले अन्ततः ती सबैको खण्डन गरिदिएकी हुन् । नेसनल कलेजमा कानुन विषयमा स्नातक गरिरहेकी उनी ५ वर्षदेखि विद्यार्थी राजनीतिमा सक्रिय थिइन् ।

प्रकाशित : मंसिर १४, २०७८ ११:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?