कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
३१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३४०

स्थानीयले लगाए कमलामाइको ल्यान्डफिल्ड साइटमा ताला

राजकुमार कार्की

सिन्धुली — कमलामाई नगरपालिका ल्यान्डफिल्ड साइटमा मंगलबार ताला लगाइएको छ । वडा नं ५ मा पर्ने क्वान्द्रेखोल्सीमा नगरपालिकाले फोहोर व्यवस्थापन गर्दै आएको छ । 

स्थानीयले लगाए कमलामाइको ल्यान्डफिल्ड साइटमा ताला

फोहोर उचित व्यवस्थापन नहुँदा गाउँमा दुर्गन्ध फैलिएको, स्वास्थ्य समस्या आएको तथा स्थानीयलाई रोजगारीमा प्राथमिकता नदिएको भन्दै आन्दोलित स्थानीयले क्वान्द्रेखोलाशिर ल्यान्डफिल्ड साइटको मुलगेटमा ताला लगाएका हुन् । उनीहरुले समस्या समाधनको मागसहित दुई साताअघि १५ बुँदे ज्ञापनपत्र नगरपालिकामा बुझाएका थिए ।

कालिका सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष अक्कलबहादुर रानाले आफूहरुको माग बेवास्ता गरिएकोले बाध्य भएर तालाबन्दी गरी आन्दोलनमा उत्रिनु परेको बताए । क्वान्द्रेखोल्सी कालिका सामुदायिकको वन क्षेत्रमा पर्छ ।

ल्यान्डफिल्ड साईडको उचित व्यवस्थापन नहुँदा नयाँबस्ती, मधुटार, रानीखोला, जरायोटार, ढाक्रेबास, कारागार, कालिकाटार, पन्चकन्या टोललगायतका क्षेत्रका बासिन्दा प्रत्यक्ष प्रभावित हुँदै आएको अध्यक्ष रानाले बताए । क्वान्द्रे खोल्सीको पुछारमा फोहोर डम्पिङ गर्ने सहमति उल्लंघन गर्दै शिरबाटै थालेको, वन क्षेत्र जथाभावी फँडानी गरिएको आरोप स्थानीयको छ ।

फोहोर मैला व्यवस्थापन क्षेत्रमा काम गर्ने सरसफाई कर्मचारीहरु ल्यान्डफिल्ड प्रभावित क्षेत्रबाट राख्नुपर्ने, ल्यान्डफिल्ड प्रभावित क्षेत्रका नागरिकहरुको नि:शुल्क स्वास्थ्य बिमा, खानेपानी, शिक्षाको सुनिश्चितता गर्नुपर्ने स्थानीयको माग छ ।

तल्लो रानीखोला टोल विकास संस्थाका अध्यक्ष यज्ञबहादुर थापाकाअनुसार ल्यान्डफिल्ड साइटमा जलाइएको फोहोरको धुवाँ र धूलोले खानेपानी मुहान फोहोर हुने गरेको छ । कमलामाई नगरपालिका वातावरण शाखाका प्रमुख सागरकुमार ढकाल ल्यान्डफिल्ड साइटका बासिन्दाले उठाएको मागहरु पूरा गर्दै जाने बताउँछन् । वार्ताबाटै समस्या समाधानका लागि स्थानीयलाई बोलाइएको उनले जनाए ।

प्रकाशित : कार्तिक ३०, २०७८ १६:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भोकमरी जोखिम भएका घरपरिवारलाई 'खाद्य सहायता परिचयपत्र' दिनेगरी सरकारले नियमावली जारी गरेकोमा तपाईं के भन्नुहुन्छ ?