डुबान पीडितले मुआब्जा पाएनन्

आयोजनाले डुबानमा पर्ने भनी दुई वर्षदेखि जग्गा रोक्का
राजकुमार कार्की

सिन्धुली — राष्ट्रिय गौरवको सुनकोसी–मरिण बहुद्देश्यीय आयोजना प्रभावित क्षेत्रका बासिन्दाले आयोजनाबाट डुबानमा पर्ने भनी दुई वर्षदेखि रोक्का राखेको जग्गाको मुआव्जा नदिएको बताएका छन् ।

‘सिन्धुली जिल्लामा जग्गा अधिग्रहण गरी मुआब्जा र क्षतिपूर्ति वितरण भइसक्यो,’ मन्थली नगरपालिका ६ हात्तीटारका बृहस्पति माझीले भने, ‘तर रामेछापतर्फको डुबान हुने जग्गाको मुआब्जा वितरण त परै जावस् निर्धारणसमेत गरीएको छैन ।’ जग्गा अधिग्रहणका लागि झन्डै १ वर्षअघि मूल्यांकन गर्न जिल्ला प्रशासन कार्यालयले सहायक प्रजिअको अध्यक्षतामा उपसमितिको गठन गरेको थियो । उक्त उपसमितिले अझै मूल्यांकनको काम सकेको छैन ।

आयोजनाका प्रमुख इन्जिनियर विश्वबन्धु केसीका अनुसार आयोजनाको बाँधका कारण रामेछापको मन्थली–६ र खाँडादेवी–३ र ४ मा गरी ५ सय ८९ रोपनी जग्गा अधिग्रहण हुँदै छ । उक्त जग्गा अधिकांश डुबानमा पर्ने क्षेत्र हो । सुनकोसीमा निर्माण हुने १४ मिटर अग्लो उक्त बाँधका कारण उत्तरतर्फको तामाकोसी नदीमा हात्तीटारसम्म र पश्चिमतर्फको सुनकोसी नदीमा भीरपानीको डब्खा नजिकसम्म डुबान हुने केसीले बताए ।

डुबान हुने क्षेत्रमा जम्मा १६ घर गोठसमेत रहेकाले तिनलाई क्षतिपूर्ति दिई हटाउने तयारी छ । अधिग्रहरण हुने जग्गा २ वर्षअघिदेखि नै रोक्का राखिएको छ । सिन्धुलीतर्फको अधिग्रहण भने टुंगो लगाएर मुआब्जासमेत वितरण गरिसकेको आयोजनाका इन्जिनियर केसीले बताएका छन् ।

आयोजनाको सरोकार राख्ने बलवीर माझीले सुनकोसी–मरिण आयोजनालाई मुआब्जा क्षतिपूर्ति लगायतका १३ बुँदे ध्यानाकर्षणप्रति आयोजनाले बेवास्ता गरेको गुनासो गरे । मन्थली नगर प्रमुख रमेशकुमार बस्नेतले आयोजनाले नागरिकको माग छिटो सम्बोधन गर्नुपर्ने बताए ।

‘सिन्धुली र रामेछापमा फरक व्यवहार सह्य हुँदैन,’ बस्नेतले भने, ‘मुआब्जाको टुंगो लगाई निर्णयमा पुग्नुपर्छ ।’ प्रजिअ दीपककुमार पहाडीले डुबानमा पर्ने घरजग्गा, रूखलगायतको मूल्यांकन भइरहेकोले प्रतिवेदन प्राप्त हुनासाथ मुआब्जा निर्धारण समितिको बैठक राखेर निर्णय लिने बताए ।

आयोजना सुनकोसी र तामाकोसीको संगम स्थानभन्दा ७ सय ५० मिटर पूर्वतर्फ बाँध बाँधेर १३ दशमलव ३ किलोमिटर सुरुङमार्फत सिन्धुली जिल्लाको मरिण खोलामा लैजाने योजना छ । सुनकोसीबाट सुरुङ हुँदै प्रतिसेकेन्ड ६७ घनमिटर पानी मरिण खोलातर्फ पठाएर सिन्धुलीको कुसुमटारमा ३१ मेगावाट विद्युत निकाल्ने र त्यसपछिको पानी झन्डै ४२ किलोमिटर मरिण खोलामा बगाएर वाग्मती नदीमा लाने योजना रहेको केसीले बताए ।

वाग्मतीमा यसअघि नै सिँचाइका संरचना निर्माण भएकाले त्यसमार्फत बारा, पर्सा, रौतहट, सर्लाही, महोत्तरी र धनुषा जिल्लाका करिब १ लाख २२ हजार हेक्टर जमिनमा सिँचाइ गर्ने लक्ष्य आयोजनाले लिएको छ ।

प्रकाशित : कार्तिक १६, २०७८ १२:०५
प्रतिक्रिया
पठाउनुहोस्

पोखरामा ट्राफिक जाम बढ्दो 

पोखरा उपत्यकामा मात्रै दैनिक ४ लाख सवारी साधन गुड्छन् 
प्रतीक्षा काफ्ले

कास्की — ‘पाँच/सात वर्षअघि पोखराका कुनै पनि चोकमा ठूलो सवारी भीडभाड हुँदैनथ्यो । जाम पर्‍यो भनेर कहिल्यै गाडी रोक्नुपर्थेन । तोकिएको समयमै गन्तव्यमा पुगिन्थ्यो’ सवारी चालक चक्रपाणि पोखरेलले सम्झिए, ‘ट्राफिक जाम कस्तो हुन्छ ? काठमाडौं गएपछि मात्र अनुभव गर्न पाइन्थ्यो ।’

पछिल्लो समय भने पोखरामा पनि ट्राफिक जाम ह्रवात्तै बढेको उनले बताए । राजमार्ग मात्रै होइन पोखराका प्रत्येक चोकचोकमा पनि उत्तिकै जामको समस्या थपिइरहेको र नीजि सवारी साधन सहज भएकाले सार्वजानिक यातायातमा पहिलेजस्तो यात्रुको चाप नहुने उनको भनाइ छ । उनले सडक सवारी साधनको चाप बढेपछि सडक साँघुरो बन्दै गएको बताए ।

पोखराको पृथ्वीचोकस्थित एक सुनचाँदी पसलकी संचालक डिलमाया सुनारले सडक वारपार गर्नै समस्या भइसकेको बताइन् । ‘जोखिम पनि उत्तिकै छ । लापरबाही तरिकाले सवारी चलाउने पनि छन्’ उनले भनिन्, ‘सडकमा मात्रै होइन, घर र पसल अगाडी पनि खुट्टो राख्ने ठाउँ नहुने गरी पार्किङ गरिन्छ । यसले पनि जाम बढाएको छ ।’ पर्यटकीय सहर पोखरामा पछिल्लो समय ट्राफिक जाम समस्या बन्दै गएको छ । प्रत्येक चोकमा ट्राफिक प्रहरी भए पनि जाम व्यवस्थापन गर्न समस्या रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

ट्राफिक कार्यालय प्रमुख प्रहरी निरीक्षक अमृतबहादुर बस्नेतले आन्तरिक र बाह्य पर्यटकको गन्तव्य पोखरा भएकाले सवारी चाप बढ्दो रहेको बताए । ‘पोखरा सहरीकरण हुँदैछ’ उनले भने, ‘सडकको अवस्था उस्तै छ । अव्यवस्थित ट्राफिकले चुनौती थपिएको छ । पछिल्लोसमय महानगरभित्र खानेपानी र ढल निकासको कामले पनि सडक खनिएको छ । जसका कारण व्यवस्थापनमा चुनौती थपिएको हो ।’

बस्नेतले अहिलेसम्म चोकचोकमा ट्राफिक प्रहरी खटाएर जाम व्यवस्थापन गरे पनि अवका दिनमा डिजिटल व्यवस्थापनमा जान जरुरी रहेको बताए । ‘पोखराको ठूलो चुनौती भनेको चाइनापुलदेखि पृथ्वीचोक र सृजनाचोकसम्मको ट्राफिक जाम हो’ उनले थपे, ‘यहाँ ट्राफिक व्यवस्थापन गर्न सबैभन्दा बढी सकस छ ।’ सिद्धार्थ, पृथ्वी र पोखरा–बागलुङ तीनवटै राजमार्ग एकै ठाउँबाट सुरु भएको, बसपार्कको अवस्था नाजुक रहेकाले पनि समस्या थपिएको उनको भनाइ छ ।

ट्राफिक लाइटको पनि व्यवस्थापन गर्ने विषयमा छलफल भइरहेको उनले बताए । कार्यालयका अनुसार ट्राफिक जनशक्तिको पनि ठूलो समस्या छ । जम्मा दरबन्दी २९ छ । प्रदेश ट्राफिक कार्यालयबाट सहयोग मागी काम गर्नुपरेको कार्यालयले जनाएको छ । प्रदेशबाट खटिएकासहित ट्राफिकको संख्या ९० पुगे पनि अहिले फिल्डमा दैनिक ६५ जना खटिन्छन् । ‘एकजनाले १४ घण्टा ड्युटी गर्नुपरेको छ’ बस्नेतले भने ।

यातायात व्यवस्था कार्यालय सवारी कास्कीका प्रमुख डिल्लीराम रिजालले सवारी साधनको संख्या थपिदै जानु र पूर्वाधारको अवस्था ज्युँका त्युँ रहँदा पोखरामा पछिल्लोसमय सवारी जाम ह्वात्तै बढेको बताए । ‘भइरहेका सडकको गुणस्तर छैन’ उनले भने, ‘साँघुरा सडकले गर्दा चापसंगै जाम बढेको छ ।’ रिजालले पोखराको उपत्यकामा मात्रै ४ लाख सवारी साधन गुड्ने बताए । कार्यालयका अनुसार अहिलेसम्म २ लाख ६० हजार सवारी साधन दर्ता भएका छन् । त्यसमा केही बिग्रे, हराएका र लगत कट्टा गरिएका भएका छन । तर अन्यत्र दर्ता भएका सवारी पनि पोखराको सडकमा गुडिरहेका छन् ।

प्रकाशित : कार्तिक १६, २०७८ ११:५७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×