जबरजस्ती करणी र शरीर बन्धक मुद्दामा पालिका अध्यक्षलाई सफाइ

टीकाप्रसाद भट्ट

रामेछाप — जबरजस्ती करणी र शरीर बन्धक मुद्दामा रामेछापको लिखु तामाकोसी गाउँपालिकाका अध्यक्ष गोविन्दबहादुर खड्काले सफाइ पाएका छन् ।

जबरजस्ती करणी र शरीर बन्धक मुद्दामा पालिका अध्यक्षलाई सफाइ

जिल्ला अदालत रामेछापका न्यायाधीश बद्रीप्रसाद ओलीको मंगलबारको इजलासले सफाइ दिएको हो । खड्कामाथि लगाइएको दुवै मुद्दामा सरकारी दाबी प्रमाण नपुग्ने भन्दै अदालतले सफाइ दिएको राजिष्ट्रार रामप्रसाद पौडेलले जानकारी दिए । खड्कामाथि करिब डेढवर्षअघि मुद्दा चलाइएको थियो ।

खड्का माथि लिखु तामाकोसी गाउँपालिकाका एक उपभोक्ता समितिका पदाधिकारी दर्पण घिसिङलाई पालिकाको कोठामा थुनेर योजनाको भुक्तानीका बारेमा दबाब दिएको भन्दै शरीर बन्धक मुद्दा र पालिकामै काम गर्ने एक स्वास्थ्यकर्मीमाथि जबरजस्ती करणी मुद्दा दायर भएको थियो ।

उक्त मद्दामध्ये रामेछाप जिल्ला अदालतले खड्कालाई जबरजस्ती मुद्दामा पुर्पक्षका लागि रामेछाप कारागार पठाएकोमा उच्च अदालतको आदेशले करिब ४ महिनापछि खड्का तारेखमा रिहा भएका थिए ।

खड्काले दुवै मुद्दा राजनीतिक प्रतिशोधको आधारमा लगाइएको भन्दै आफू निरपराध रहेको जिकिर गर्दै आएका थिए । गाउँपालिकामा निर्वाचित जनप्रतिनिधिबीच विवाद हुँदा एक अर्काबीच मुद्दा हाल्नेदेखि विकास निर्माणका कार्य समेत यसबीचमा प्रभावित हुँदै आएका थिए ।

प्रकाशित : कार्तिक ९, २०७८ १९:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनबारे संसदीय छानबिन समिति गठन गर्ने/नगर्ने विवादले प्रतिनिधि सभा फेरि अवरुद्ध भएको छ । संसद् चलाउन के गर्नुपर्ला ?