कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

वाग्मतीमा मुख्यमन्त्रीको नाम टुंग्याउन गठबन्धनलाई सकस

बिहीबार दिउँसो १ बजे बस्ने प्रदेशसभा बैठकबाट मुख्यमन्त्रीले विश्वासको मत लिने प्रक्रिया प्रारम्भ हुँदैछ ।
सुवास विडारी

मकवानपुर — वाग्मती प्रदेश सरकार विपक्षी गठबन्धनमा आगामी सरकारको नेतृत्व कसले गर्ने भन्ने विषय अझै सहमति हुन सकेको छैन । अल्पमतमा परिसकेकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य नेतृत्वको सरकारले असोज २४ गते नै सदनबाट विश्वासको मत लिइसक्नुपर्ने भए पनि विपक्षी गठबन्धनमा सरकारको नेतृत्वको विषयलाई लिएर विवाद उत्पन्न भएपछि मत विभाजनको प्रक्रिया अगाडि बढ्न सकेको छैन । एमाले नेतृत्वको वर्तमान सरकार केही दिनमा विस्थापित हुने निश्चित भइसक्दा पनि विपक्षी गठबन्धन केन्द्रको आधिकारिक निर्णयको पर्खाइमा  छ । 

वाग्मतीमा मुख्यमन्त्रीको नाम टुंग्याउन गठबन्धनलाई सकस

केन्द्रमा रहेको कांग्रेस, माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी), जसपासहितको गठबन्धनले प्रदेशमा पनि निरन्तरता पाएको छ । प्रदेशको मुख्यमन्त्रीका लागि कांग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानियाँ र नेकपा (एस) संसदीय दलका नेता राजेन्द्र पाण्डेको चर्चामा छ । पाण्डेले आफूले मुख्यमन्त्री पाउने सहमति गठबन्धनमा भइसकेको दाबी गर्दै आएपनि कांग्रेस र माओवादी केन्द्रले आधिकारिक निर्णय नभएको दाबी गरिरहेका छन् ।

माओवादीले मुख्यमन्त्री दाबी गरेको छैन । प्रदेशमा माओवादी पनि कांग्रेसले नेतृत्व पाउनुपर्ने पक्षमा लविङ गरिरहेको छ । जसको कारणले गर्दा पनि विपक्षी गठबन्धनमा मुख्यमन्त्रीको विषयलाई लिएर विवाद उत्पन्न भइरहेको छ । कांग्रेसका सचेतक छिरिङ दोर्जे लामाले प्रदेश सरकारको नेतृत्व कुन दलले गर्ने भन्ने विषय हालसम्म नटुंगिएको भन्दै अझै केही दिन लाग्ने बताए । प्रदेशसभामा मत विभाजनको प्रक्रिया सकिएपछि यो विषय टुंगिन्छ । अझैसम्म मत विभाजन भएको छैन ।’, उनले मुख्यमन्त्रीले विश्वासको मत लिएपछि प्रदेश प्रमुखले नयाँ सरकार गठनको आह्वान गरेपछि यो विषय टुंगिने बताए । कांग्रेसले आफ्नो नेतृत्वमा सरकार गठन गर्न पहल गर्ने संसदीय दलको बैठकबाट निर्णय गरिसकेको छ ।

नेकपा (एस) संसदीय दल उपनेता कृष्ण खनालले सरकारको नेतृत्वको विषयमा केन्द्रबाटै सहमति हुने बताए । ‘हामीले नेतृत्व पाउँछौँ भन्नेमा हामी ढुक्क छौँ । प्रदेशसभाको यस बैठकबाट नयाँ सरकार गठनको प्रक्रिया अगाडि बढ्छ’, उनले भने ।

एमाले विभाजनमा १३ सांसदले नवगठित नेकपा (एस) रोजेपछि मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य अल्पमतमा परेकी थिइन् । ५६ सांसदसहित एकल बहुमतबाट मुख्यमन्त्री बनेकी शाक्यसँग अहिले सभामुखसहित ४३ जना मात्रै सांसद छन् । प्रदेशसभामा गठबन्धनबाहिर रहेका साना दलसँगको सहकार्यमा पनि उनलाई सरकार टिकाउन आवश्यक मत पुग्दैन । सदनमा माओवादी २३, कांग्रेस २२, नेकपा (एस) १३ र जसपाको १ मत छ । सरकार बनाउन ५५ मत भए पुग्छ ।

बिहीबार दिउँसो १ बजे बस्ने प्रदेशसभा बैठकबाट मुख्यमन्त्रीले विश्वासको मत लिने प्रक्रिया प्रारम्भ हुँदैछ । त्यसको आन्तरिक तयारी प्रदेशसभा सचिवालयले गरेको छ । मुख्यमन्त्री शाक्यले गत असोज २४ गतेको प्रदेशसभाको बैठकमा नेपालको संविधानको धारा–१८८ को उपधारा १ बमोजिमको प्रावधानअनुसार विश्वासको मत लिने कार्यका लागि प्रस्ताव गरेकी थिइन् । प्रदेशसभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले बैठकमा हुने विश्वासको मतका लागि सत्तापक्ष र प्रतिपक्षका लागि छुट्टाछुट्टै लबीको व्यवस्था गरिएको बताए । आजको बैठकमा सत्तापक्ष एमालेले सहभागी नहुने जनाएपछि विश्वासको मतको विषयमा अन्यौलता सिर्जना भएको छ ।

प्रकाशित : कार्तिक ४, २०७८ ११:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?