कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४६

वाग्मतीमा कांग्रेसले आफ्नै नेतृत्वमा सरकार गठनको प्रयास गर्ने

सुवास विडारी

मकवानपुर — वाग्मती प्रदेशमा नेपाली कांग्रेसले आफ्नो नेतृत्वमा सरकार गठनका लागि प्रयास गर्ने भएको छ ।

वाग्मतीमा कांग्रेसले आफ्नै नेतृत्वमा सरकार गठनको प्रयास गर्ने

आइतबार बसेको कांग्रेस संसदीय दलको बैठकले वाग्मती प्रदेशमा कांग्रेसको नेतृत्वमा सरकार निर्माण गर्नका लागि पार्टीको केन्द्रीय तहसँग छलफल अगाडि बढाउने र विपक्षी गठबन्धनमा रहेको दलसँग सहकार्यका लागि प्रयास गर्ने निर्णय गरेको छ । कांग्रेस सचेतक छिरिङदोर्जे लामाका अनुसार पार्टीको केन्द्रीय तह र विपक्षी गठबन्धनमा रहेको माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी)सँग समन्वय र छलफल गर्ने जिम्मेवारी कांग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानियाँलाई प्रदान गरिएको छ ।

कांग्रेस संसदीय दलका नेता बानियाँ लामो समयदेखि मुख्यमन्त्रीको रुपमा प्रधानमन्त्री देउवासँग लबिङ गरिरहेका थिए । ‘वाग्मतीमा मुख्यमन्त्री हामीले प्राप्त गर्नुपर्छ भनेर हामी अझै लबिङ गरिरहेका छौं । हामी पुन: पार्टी सभापतिलाई आग्रह गर्छौं’, कांग्रेस सचेतक लामाले भने, ‘हामी प्रदेश सरकार स्थापना भएदेखि नै प्रतिपक्षमा रहेका छौं । त्यसकारण पनि सरकारको नेतृत्व हामीले गर्न पाउनुपर्छ भन्ने हो ।’ वाग्मतीमा माओवादीले मुख्यमन्त्री दाबी नगरेको अवस्थामा कांग्रेसले सरकारको नेतृत्व गर्नुपर्ने उनको तर्क रहेको छ ।

वाग्मती प्रदेशमा गठबन्धनबाट नयाँ मुख्यमन्त्रीको रुपमा नेकपा (एस) संसदीय दलको नेता राजेन्द्र पाण्डेलाई अगाडि बढाउने तयारी भइरहेको अवस्थामा कांग्रेस असन्तुष्ट देखिएको हो । वाग्मती प्रदेशसभाको नवौं अधिवेशन आइतबार दिउँसो ३ बजेबाट सुरु हुँदैछ । अल्पमतमा परिसकेकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासको मत लिने तयारी गरिरहेको अवस्थामा नयाँ सरकार गठनको तयारीमा रहेका विपक्षी गठबन्धनमा विवाद देखिएको हो । वाग्मती प्रदेशमा कांग्रेसको २२ मत रहेको छ ।

प्रकाशित : आश्विन २४, २०७८ १३:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुनकोशी-मरिण डाइभर्सनको सुरुङमार्ग छिचोलिएको छ । अब यो आयोजना छिटो सम्पन्न गर्न कसले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?