१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७२

बागमती प्रदेशले ल्यायो एग्रिगेटर सूचना बैंक 

कान्तिपुर संवाददाता

काठमाडौँ — बागमती प्रदेशका सूचना संकलन र भण्डारण गर्ने उदेश्यले ‘एग्रिगेटर’को रुपमा सूचना बैंक सञ्चालनमा आएको छ । बागमती प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री अजयक्रान्ति शाक्यले सूचना बैंकको हेटौँडामा उद्घाटन गरेका छन् । मन्त्री शाक्यले बागमती प्रदेशको सूचना बैंकमा अब प्रदेशका सात मन्त्रालय, प्रदेश प्रमुखको कार्यालय, प्रदेशसभासहित १४ वटा कार्यालयको सूचना एउटै पोर्टलबाट उपलब्ध हुने जानकारी दिए ।

बागमती प्रदेशले ल्यायो एग्रिगेटर सूचना बैंक 

प्रदेश सञ्चार माध्यम व्यवस्थापन ऐन र नियमावलीमा भएको व्यवस्था बमोजिम सञ्चार रजिष्ट्रार कार्यालयमार्फत् एग्रिगेटर सूचना बैंक सञ्चालनमा आएको हो । मन्त्री शाक्यले नेपालमा पहिलोपटक बागमती प्रदेशमा सूचना बैठक सञ्चालनमा आउनु गौरवको विषय भएको बताए । ‘१४ वटा कार्यालयको सूचना अब सूचना बैंकमा आउनेछ,’ मन्त्री शाक्यले भने, ‘बागमती प्रदेशका १ सय १९ वटै स्थानीय तहका सूचना आउन सक्ने गरी यसको विकास गरिनेछ ।’

उनले सूचना बैंकलाई व्यवस्थित गर्न निर्देशक समितिले निर्देशन दिने पनि बताए । ‘अब बागमती प्रदेशको सूचना प्राप्त गर्न एउटै सूचना बैंकबाट सम्भव हुन्छ,’ मन्त्री शाक्यले भने, ‘बागमती प्रदेशले सूचना प्रविधिलाई आत्मसाथ गर्दै अघि बढिरहेको छ भन्ने यो एउटा सफल उदाहरण हो ।’

मन्त्री शाक्यले मन्त्रालयले बागमती प्रदेशका सबै ऐन कानून एपमा राखेर चाँडै ल्याउने गृहकार्य गरिरहेको पनि बताए । ‘त्यसका लागि मन्त्रालय निरन्तर लागिरहेको छ,’ उनले भने, ‘हामीले जिम्मेवारी सम्हालेदेखि नै यो मन्त्रालयअन्तर्गतका काममा निरन्तर लागिरहेका छौँ ।’

आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव मदन भुजेलले सूचना बैंकको प्रभावकारीता र उपयोगितालाई बढाउनु पर्नेमा जोड दिए । बागमती प्रदेशका सञ्चार रजिष्ट्रार रेवतीप्रसाद सापकोटाले सूचनाका उपभोक्ताले सूचना प्राप्त गर्न सम्बन्धित कार्यालयको वेवसाइट सर्च गर्नु नपर्ने भन्दै सूचना बैंकको पोर्टलमा सर्च गरेपछि १४ वटै कार्यालयका वेवसाइटमा राखिएका सूचना पाउन सक्ने गरी सूचना बैंक बनाइएको बताए ।

गभर्नेस अटोमेसन सोलुसनले तयार गरेको सूचना बैंकमा अहिले मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, प्रदेश प्रमुखको कार्यालय, प्रदेश सभा, आन्तरिक मामिला तथा कानून मन्त्रालय, आर्थिक मामिला तथा योजना मन्त्रालय, भौतिक पूर्वाधार विकास मन्त्रालय, सामाजिक विकास मन्त्रालय, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, प्रदेश नीति तथा योजना आयोग, सञ्चार रजिष्ट्रारको कार्यालय, प्रदेश लेखा नियन्त्रक कार्यालय, यातायात पूर्वाधार निर्देशनालय, पशुपन्छि तथा मत्स्य विकास निर्देशनालयका वेवसाइटमा राखिएका सूचना सूचना बैंकमा संग्रहित गराइएको छ ।

प्रदेश सूचनाको हक सम्बन्धी ऐन, २०७६ को दफा ३, ४ र ५ बमोजिम प्रदेश सरकारले सरकारी तथा सार्वजनिक निकायबाट प्रकाशित नागरिकसँग सरोकार राख्ने र सार्वजनिक महत्वको सूचनाहरु संकलन, भण्डारण र वितरण गर्न सूचना बैंक उपयोगी हुने भएकोले सूचना बैंकको स्थापना गरिएको जानकारी दिइएको छ ।

सूचना बैंकको सुरुवातसँगै आधिकारिक सार्वजनिक सूचनाहरु छिटो तथ सहज रुपमा प्राप्त गर्ने नागरिकको अधिकारलाई सुनिश्चित गर्न, डिजिटल नेपाल र डिजिटल बागमती प्रदेश बनाउने सरकारको उद्देश्यलाई साकार पार्न प्रदेशका सबै मन्त्रालय रमातहतका कार्यालयका सूचनालाई एक ठाउँमा केन्द्रित गरी सूचनाका उपभोक्तासम्म पुर्‍याउन उपयोगी हुनेछ ।

हाल प्रदेशका १४ वटा कार्यालयका वेवसाइटमा राखिएका सूचना तथा अन्य महत्वपूर्ण सामग्री सूचना प्रविधिको प्रयोग मार्फत् तत्कालै सूचना बैंकमा संग्रहित हुने पनि जानकारी दिइएको छ ।

प्रकाशित : आश्विन २३, २०७८ १५:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुनकोशी-मरिण डाइभर्सनको सुरुङमार्ग छिचोलिएको छ । अब यो आयोजना छिटो सम्पन्न गर्न कसले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?