२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २५३

संकटमा धुलिखेल अस्पताल

१४ सय स्वास्थ्यकर्मी र कर्मचारीको भदौको तलब रोकियो
नगेन्द्र अधिकारी

काभ्रे — स्वास्थ्य बिमा र कोरोना उपचारबापतको रकम भुक्तानी नभएपछि धुलिखेल अस्पताल आर्थिक संकटमा परेको छ । काभ्रेलगायतका मध्यपहाडी जिल्ला र उपत्यकाका बिरामीलाई समेत सेवा दिँदै आएको अस्पताल कर्मचारीलाई तलब खुवाउन नसक्ने स्थितिमा पुगेको छ । कोरोनाका कारण विद्यार्थी भर्ना हुन नसक्दा काठमाडौं विश्वविद्यालयको शिक्षण अस्पतालसमेत रहेको यो अस्पताल समस्यामा परेको हो ।

संकटमा धुलिखेल अस्पताल

अस्पतालका प्रशासक पद्युम्न श्रेष्ठका अनुसार कोरोना उपचार र स्वास्थ्य बिमाबापत सरकारबाट करिब २६ करोड रुपैयाँ पाउन बाँकी छ । भुक्तानी रोकिँदा भदौदेखिकै तलब र स्वास्थ्यकर्मीलाई जोखिम भत्तासमेत दिइएको छैन । अस्पतालमा स्वास्थ्यकर्मी र प्रशासनिकतर्फ गरी १४ सय कर्मचारी कार्यरत छन् । ‘महिनामा ७ करोड रुपैयाँ तलबमा मात्रै खर्च हुन्छ । भदौ र असोजको तलब र दसैं पेस्कीसमेत गर्दा कर्मचारीलाई १९ करोड भुक्तानी दिनुपर्ने अवस्था छ,’ उनले भने । रकम अभावकै कारण औषधि, प्रयोगशाला सामग्रीलगायत खरिदमा समेत समस्या भएको उनले बताए ।

स्वास्थ्य बिमाका कारण अस्पतालमा बिरामीको चाप भने बढ्दो छ । दैनिक ७ सयदेखि १४ सय जनासम्मले सेवा लिइरहेको अस्पतालले जनाएको छ । काभ्रे, सिन्धुली, रामेछाप, दोलखा र सिन्धुपाल्चोकका बिमितले योअस्पताललाई प्रथम सेवा बिन्दु छनोट गरेका छन् । भक्तपुरका धेरैजसो बिमित पनि धुलिखेल नै आउँछन् । बिरामीको चाप धेरै भए पनि कारोबार नहुँदा अस्पताललाई तत्कालका लागि आर्थिक संकट परेको हो । असार, साउन र भदौ गरी स्वास्थ्य बिमा बोर्डले अस्पताललाई १३ करोड रुपैयाँ दिन बाँकी छ । अस्पतालका प्रशासकीय निर्देशक डा. रमेश मकाजूले भुक्तानीका लागि स्वास्थ्य मन्त्रालयलगायत निकायमा पहल गरिएको बताए । ‘माथिल्लो तहमा पहल गरिरहेका छौं,’ मकाजूले भने, ‘बजेट भर्खर पास भएको छ, केही दिनमा निकासा होला भन्ने विश्वास लिएका छौं ।’

बोर्डले भने सरकारले निकासा नगरेका कारण भुक्तानीमा समस्या भएको जनाएको छ । बोर्डका कार्यकारी निर्देशक डा. दामोदर बसौलाले सरकारबाट निकासा भएलगत्तै भुक्तानी दिने बताए । ‘गत असार ९ मा ४ अर्ब ८२ करोड भुक्तानी भएको थियो, नपुग ३ अर्ब अर्थले दिएन,’ उनले भने, ‘प्रिमियमबापतको रकम बोर्डको खातामा आउने प्रक्रियामा छ, निकासा भए लगत्तै भुक्तानी गर्छौं ।’

७ सय स्वास्थ्यकर्मीले जोखिम भत्ता पाएनन्

कोरोनाको पहिलो र दोस्रो लहरमा ज्यान जोखिममा राखेर काम गरेका स्वास्थ्यकर्मी र अन्य कर्मचारी गरी ७ सय जनाले अझै जोखिम भत्ता पाएका छैनन् । ‘सरकारबाट भुक्तानी नभएकै कारण भत्ता उपलब्ध गराउन सकिएको छैन,’ श्रेष्ठले भने, ‘स्वास्थ्य मन्त्रालयले मागेपछि ड्युटी रोस्टर, हाजिरी, तलब विवरण सबै पठाएका थियौं तर भुक्तानी भएको छैन ।’ मन्त्रालयसँगको सम्झौतामा भने अस्पतालले नै जोखिम भत्ता उपलब्ध गराउनुपर्ने उल्लेख छ ।

अस्पताल सञ्चालनमा नै समस्या भएपछि पहिलो लहरमा अस्पतालमा कार्यरत अधिकृत तहभन्दा माथिल्लो पदमा रहेर काम गर्ने चिकित्सक तथा कर्मचारीको २५ प्रतिशत र त्यसभन्दा तल्लो तहमा कार्यरतको हकमा १० प्रतिशत तलब कटौती गरिएको थियो । ‘काम गर्दैनौं भन्न नैतिकताले दिँदैन तर उत्साह भने छैन,’ अस्पतालका एक स्वास्थ्यकर्मीले भने ।

प्रकाशित : आश्विन १३, २०७८ ०९:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कांग्रेसले 'वेल' घेरेर नाराबाजी गरिरहेका बेला प्रधानमन्त्रीले प्रतिनिधिसभामा विश्वासको मत लिएको घटनालाई कसरी लिनु भएको छ ?