कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

एकीकृत बस्ती सुनसान

केदार शिवाकोटी

दोलखा — भीमेश्वर नगरपालिका—१ पानीपोखरी पुग्नेलाई राता जस्तापाताले सिँगारिएका एकनास घरहरूले लोभ्याउँछ । आकर्षक देखिने पानीपोखरी बस्ती जिल्लाको पहिलो एकीकृत नमुना बस्ती हो । त्यहाँ पुगेर धेरैले तस्बिर खिच्ने र घुम्ने गर्छन् । बस्ती पुग्ने धेरैको एउटै प्रश्न हुन्छ, किन सुनसान ?

एकीकृत बस्ती सुनसान

भूकम्पले जमिन चिरिएर थातथलोमा बस्न अयोग्य भएपछि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले पहिलो पटक एकीकृत नमुना बस्तीको अवधारणा ल्यायो । सीमान्तकृत थामी समुदायका लागि बस्ती स्थानान्तरण गरेर चिटिक्क परेको एकीकृत नमुना बस्ती बन्यो । तर यहाँ भूकम्पपीडित बस्दैनन् । उनीहरू पुरानै चिरिएको जोखिमयुक्त थातथलोमा बसिरहेका छन् । एकीकृत बस्तीका अधिकांश घरमा ताला लागेको छ ।

सुरुमा ८४ परिवारका लागि आवास बनाइने भनिएको थियो । निर्माणमा ढिलाइ भयो, घर पनि ५५ परिवारका लागि मात्र बन्यो । दुई घर दलित समुदाय रहेको उक्त बस्तीमा अन्य सबै थामी समुदायका छन् । नमुना बस्तीमा हाल ८ परिवारमात्रै बस्ने गरेका स्थानीय भोला थामीले बताए । ‘अरू उतै खेतीपाती गरेर बसेका छन्, दसैंमा आउँछन् होला ।’ ठूलो पानी पर्‍यो भने राति बास बस्न आउने गरेका छन् । ‘रोजगारी छैन, भएको खेतीपाती बस्तुभाउ सबै उतै छ,’ उनले सुनाए, ‘ढिलो बस्ती बनेकाले कतिले उतै पनि घर बनाएका छन् ।’

पानीपोखरी एकीकृत बस्तीबाट बोसिम्पा पुग्न ४५ मिनेट लाग्छ । एकीकृत बस्तीका सबैलाई सरकारले लालपुर्जासमेत बनाइदिएको छ । १० वर्षसम्म उक्त बस्तीमा बनेका घर बेचबिखन गर्न नपाउने सर्तमा बस्ती स्थानान्तरण भएको हो । ६ वर्ष बित्दासमेत बस्ती अझै पूरा हुन सकेको छैन । अधिकांशका घर बने पनि ढोका, खापा, झ्याल हालिएको छैन, जसका कारण स्थानीय बस्तीमा आउन नसकेको भक्तबहादुर थामीले बताए । ‘३ लाखमा घर बन्छ भने, तर सबैको घर १० लाख रुपैयाँभन्दा कममा बनेन,’ उनले गुनासो गरे, ‘बस्तीका सबै ऋणमा डुबेका छन्, छानामात्रै छाएको घरमा कसरी बस्न सकिन्छ ?’ घर बनाउन प्राधिकरणले ३ लाख र नगरपालिकाले ३० हजार रुपैयाँ दिएको थियो । अपुग रकम स्थानीयले नै हालेका हुन् ।

दक्ष कामदार र प्राविधिकहरू नआएपछि स्थानीयले अर्मपर्ममा काम गरेर आफ्नो घर निर्माण गरेका ज्ञानकृष्ण थामीले बताए । ‘अर्मपर्ममा बस्तीका घर बनायौं,’ उनले भने, ‘बस्ती बन्न समय लाग्छ, आर्थिक अभावले झन् समस्या परेको छ ।’

एकीकृत बस्ती बन्ने भनेपछि खुबै हौसिएका उनी घर बनाउँदा ऋण लागेपछि निराश बनेका छन् । जग्गा सम्याउनेदेखि भेल तर्काउन नालालगायतका एकीकृत बस्ती आकर्षण बनाउन बगैंचासहितका संरचना बनेका छन् ।

जिल्ला कार्यान्वयन इकाइ आवास तथा अनुदान व्यवस्थापनका प्राविधिक रामशरण न्यौपानेले भने एकीकृत बस्तीको काम सकिएको बताए । अधिकांश स्थानीयलाई थातथलो नै प्यारो लागेकाले बस्तीमा नआएको उनको भनाइ छ ।

‘हामीले बस्तीका सबै संरचना तयार पारिदिएका छौं,’ उनले भने, ‘रोजगारी र खेतीपातीकै लागि थातथलोमै बस्ने गर्दा बस्ती सुनसान छ ।’ नमुना बस्तीमा सडक, विद्युत्, खानेपानी, बालउद्यानलगायतका पूर्वाधार बनेका छन् । नजिकै विद्यालय र स्वास्थ्य चौकीसमेत छन् ।

प्रकाशित : आश्विन १०, २०७८ ११:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?