जीर्ण पुलले लियो किशोरीको ज्यान- वाग्मती - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

जीर्ण पुलले लियो किशोरीको ज्यान

हालसम्म चार जनाले ज्यान गुमाइसक्दा पनि सरोकारवालाको छैन चासो, स्थानीय भन्छन्– 'कतिन्जेल हामी यसरी खोलामा बग्नुपर्ने हो'
अनिश तिवारी

खाग्दल (सिन्धुपाल्चोक) — घाँसपात होस् या बिहे–व्रतबन्ध, घट्टमेल वल्लो–पल्लो गाउँ तर्ने एक मात्रै विकल्प क्षतिग्रस्त तल्लो घट्ट झोलुंगे पुल । तल उर्लिरहेको डरलाग्दो खाग्दल खोला, अघिल्लो र यही बर्खाले झोलुंगे पुललाई चुँडाउन मात्रै बाँकी राखेन् । दुवै गाउँबीच सम्पर्क टुटाइदियो । झोलुंगे पुल पुनर्निर्माणको लागि स्थानीय तहदेखि प्रदेश केन्द्रलाई स्थानीयले खुबै गुहारे । वडादेखि नगरपालिकामा धेरै पटक निवेदन दिए । तर केही भएन ।

स्थानीय सरकार आएपनि ज्यान हत्केलामा राखेर वारपार गर्न बाध्य बनिरहेकी बाह्रबिसे नगरपालिका वडा–३ की ३० वर्षीया माइली थापा निकै दिक्क थिइन् । बुधबार त्यही पुलबाट वारी गाउँ तर्न खोज्दा खोलामा बगेर १४ वर्षीया छोरी गुमाएपछि उनको धैर्यताको बाँध टुट्यो । आफैलाई सम्हाल्न सकिनन् ।

‘सरकारले पुल नहाल्दा मैले कलिली छोरी गुमाए, सरकार दोषी हो । कतिन्जेल हामी यसरी खोलामा बग्नुपर्ने हो । हाम्रो दुःख कसले पो बुझिदेला ?,’ छोरीको शव र क्षतिग्रस्त पुल हेर्दै खोलाछेउ भक्कानिएकी उनले भनिन् । पल्लो गाउँको गोठमा घाँसपात सकेर फर्किएकी थापालाई वारी तर्न खोज्दा जीर्ण पुलबाट खसेर खाग्दल खोलामा डुबेर घटना घटेको उनले उल्लेख गरिन् । छोरी गुमाएपछि बेहोसझैं बनेकी उनीसहित असन्तुष्ट स्थानीय आक्रोशित भेटिए ।

अघिल्लो ०७७ असारमा जीर्ण पुलबाट पारी तर्न खोज्दा बाह्रबिसे नगरपालिकाकै ४३ वर्षीय अमृत बस्नेतले पुलबाट खस्दा खोलामा डुबेर ज्यान गुमाए । बर्खैपिच्छै बाढीले ध्वस्त बनाइरहने चुडिने अवस्थामा पुगेको घट्टे झोलुंगे पुल तर्न खोज्दा अहिलेसम्म स्थानीय चार जनाले ज्यान गुमाइसकेका छन् । बाह्रबिसे नगर वडा–५ रुम्टारका स्थानीय सुवेश थापाका अनुसार सरकारकै सहयोगमा २०५५ सालमा खाग्दल खोला तर्न तल्लो घट्टेमा झोलुंगे पुल हालिएको थियो । काठ र फलामे तार हालेर प्रयोगमा ल्याइएको पुल मक्किएर जीर्ण बन्यो । स्थानीय युवा क्लब र सामुदायिक वनको सहयोगमा पुल मर्मत गरियो । २०७७ साल असारमा उर्लिएको भोटेकोसी र खाग्दल बाढीले तल्लो घट्टे झोलुंगे पुललाई ध्वस्त बनाउनुका साथै खाग्दलको २१ घरलाई बगर तुल्याइदिएको थियो ।

‘वडा र नगरपालिकामा धेरै पटक निवेदन दिएर यहाँको समस्या बताएर गुहार्‍यौं । तर कसैले वास्ता गरेनन्स । समयमै झोलुंगे पुल पुनर्निर्माण नगर्दा यस्तो अवस्था छ,’ थापाले दु:खेसो पोखे । उनका अनुसार पुल प्रयोग गर्ने बाह्रबिसे नगर वडा ३ र ५ का तामाङ गाउँ, रोक्का गाउँ, बस्नेत गाउँ, कुखुरे, कल्लेरी, सोलीघोप्टे र रुम्टारका पाँच सय परिवार छन् । बाह्रबिसे नगरको पल्लो गाउँ कल्लेरी र रुम्टारबाट नुनतेल खाद्यान्न जस्ता अत्यवाश्यक सामाग्री र उपचारका लागि यही पुल प्रयोग गर्न बाहेक कुनै विकल्प छैन ।

‘कहिलेसम्म यस्तो दु:खद् खबर सुनिरहनुपर्ने हो थाहा छैन । यहाँ पुल बनाइदिने पाए भगवान बनाएर पुज्थेँ,’ बाह्रबिसे नगर वडा ५ सोलीघोप्टेका ६३ वर्षीया बलमाया विकले भनिन् । यसबारे बाह्रबिसे नगरपालिकाका मेयर निमफुञ्जो शेर्पासँग बुझ्न खोज्दा उनको फोन सम्पर्क हुन सकेन । बाह्रबिसे नगरपालिकाका सूचना अधिकारी ज्ञानेन्द्र महतले भने पुलबारे निवेदन आएको र माथिल्लो निकायमा विवरण पठाएको बताए । ‘पुलबारे माग आएपछि सस्पेन्सन ब्रीज डिभिजनमा पठाएका हौं । त्यहाँबाट केही प्रतिक्रिया आएको छैन,’ उनले भने ।

बाह्रबिसे नगर वडा–३ का अध्यक्ष टेकबहादुर भण्डारीले भने नगरको कार्यपालिकाको बैठकमा पुलको समस्याबारे बारम्बार आवाज उठाउँदा पनि सुनवाई नहुँदा आफै दिक्क भएको बताए । ‘जनतालाई जवाफ दिन सकेको छैन । कार्यपालिका बैठक र प्रत्येक छलफलमा कुरा उठाउँदा केही हुँदैन । अनि कसलाई के भन्ने र ?,’ उनले भने ।

घटना लगत्तै बाह्रबिसे नगरपालिका वडा ३ र ५ का स्थानीयले झोलुंगे पुलको समस्या र यसबाट ज्यान गुमाएको घटनाबारे बुझिदिन जनप्रतिनिधिलाई आग्रह गरेका छन् ।

प्रकाशित : आश्विन ९, २०७८ १३:३४
प्रतिक्रिया
पठाउनुहोस्

स्थानीय तहमा जनताको मन जित्ने नेतृत्व चयन गर्न देउवाको आह्वान

कान्तिपुर संवाददाता

काठमाडौँ — प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवाले नगर र गाउँपालिका अधिवेशनले जनताको मन जित्ने गरी नेतृत्व चयन गर्ने अपेक्षा व्यक्त गरेका छन् । शनिबारदेखि कांग्रेसका स्थानीय तहस्तरको अधिवेशन सुरु भएको सन्दर्भमा देउवाले कोभिड–१९ को महामारीको समयमा स्वास्थ्य मापदण्डको पालना गरी अधिवेशनमा सहभागी हुनसमेत आग्रह गरेका छन् ।

‘तपाईंहरुको पार्टीप्रतिको विश्वास र प्रतिबद्धताले कांग्रेसलाई थप बलियो बनाउने छ । जनताको मन जित्ने गरी नगर र गाउँपालिकामा आफ्नो भूमिकालाई प्रभावकारी बनाउनु हुनेछ भन्ने अपेक्षा पनि गरेको छु,’ देउवाले सामाजिक सञ्जालमार्फत भनेका छन् ।

कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत शनिबार वडा तहको अधिवेशन भइसकेका जिल्लामा गाउँ तथा नगरपालिकाको अधिवेशन हुँदैछ । कांग्रेसले १३ जिल्लामा भने क्रियाशील सदस्यताकै टुंगो लगाउन सकेको छैन ।

प्रकाशित : आश्विन ९, २०७८ १३:११
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×