‘पुरातात्त्विक’ वस्तुको संकलन न अध्ययन- वाग्मती - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

‘पुरातात्त्विक’ वस्तुको संकलन न अध्ययन

अनिश तिवारी

सिन्धुपाल्चोक — गत साता घरको जग खन्दा कमण्डलु भेटियो । कमण्डलुमा संस्कृतजस्तै लाग्ने शब्द कोरिएको थियो । ‘ऋषिमुनिको कमण्डलु मानेर पूजा गरेर राखेको छु,’ इन्द्रावती गाउँपालिका भीमटार गाउँका रामजी दनुवारले भने, ‘यसमा हाम्रो इतिहास लुकेको हुन सक्छ, त्यसैले जोगाएर राखेको हुँ ।’

उक्त स्थान नजिकै छ दनुवार समुदायका इष्टदेव भीमसेनको मन्दिर । यो ठाउँमा ऋषिमुनि तपस्याका लागि आउने भएकाले कमण्डलु भेटिएको हुन सक्ने स्थानीयको अनुमान छ । मन्दिर नजिकैको तल्लो टोलका सन्दीप दनुवारले पनि केही दिनअघि घरको जग खन्दा सिंहजस्तो लाग्ने मूर्ति भेटाएका थिए । ‘बाहिरी आवरण कलात्मक छ । देवताको मूति मानेर पूजा गरेर राखेको छु,’ उनले भने ।


भीमसेन मन्दिरमा ४० वर्षदेखि पूजा गर्दै आइरहेका रामविक्रम दनुवार मन्दिर आसपासको क्षेत्रमा उत्खनन गर्दा संस्कृतमा लेखिएको शिलालेख भेटेको सुनाउँछन् । उनका अनुसार २०४० सालमा अगुवा जगतलाल श्रेष्ठले भीमसेनको गधारत्न सारेर केही पर राख्न खोजेका थिए । ‘तर गधारत्नको मूर्तिको छेउ नै भेटिएन, बरु शिलालेख फेला पर्‍यो,’ उनले भने ।

पाँचतले यो मन्दिर २०७२ वैशाखको भूकम्पले भत्काएपछि अहिले खुला टहरामा मूर्ति स्थापना गरी पूजाआजा हुँदै आएको छ । ‘जात्रापर्वमा त्यही शिलालेख रथमा राखेर डुलाउँछौं,’ उनले भने, ‘त्यसमा लेखिएको कुरा खुल्यो भने यहाँको केही कुरा पत्ता लाग्थ्यो कि !’

ऐतिहासिक मान्यता रहेको र पुरातात्त्विक सम्पदा भेटिने गरे पनि यस क्षेत्रको उत्खननमा कसैको ध्यान पुगेको छैन । भेटिएका त्यस्ता सामग्री संकलन गरी अध्ययन गर्नुको सट्टा स्थानीयले आआफ्नै घरमा राखिरहेका छन् । ‘पुरातात्त्विक वस्तु भेटिएको जानकारी आएको छ, त्यसबारे पुरातात्त्विक विभागसँग समन्वय गरेर अगाडि बढ्छौं,’ गाउँपालिका अध्यक्ष वंशलाल तामाङले भने ।

प्रकाशित : आश्विन ६, २०७८ १२:५३
प्रतिक्रिया
पठाउनुहोस्

मन्त्री नियुक्तिले कांग्रेसमा असन्तुष्टि, पौडेल समूहले डाक्यो छुट्टै बैठक

कान्तिपुर संवाददाता

काठमाडौँ — प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीभित्र छलफलै नगरी नारायण खड्कालाई परराष्ट्रमन्त्री नियुक्त गरेको भन्दै वरिष्ठ नेता रामचन्द्र पौडेलको समूहले असन्तुष्टि व्यक्त गरेको छ ।

उक्त समूहले मन्त्रिपरिषद् विस्तारमा असन्तुष्टि व्यक्त गर्दै छुट्टै बैठक बोलाएको छ । ‘मन्त्रिपरिषद् विस्तारमा यसै पनि ढिला भइसक्यो । अब पनि एक जना मात्रै नियुक्त गर्ने कुरा कसरी हुन्छ ? फेरि पार्टीभित्र सल्लाह र छलफल पनि गर्नुपर्ने हो,’ एक नेताले भने ।

देउवाले यसअघि कांग्रेसबाटै गृहमन्त्री बालकृष्ण खाण, कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठलाई नियुक्त गरिसकेका छन् । यी तीनै जना पार्टीभित्र देउवाका विश्वासपात्र मानिन्छन् । देउवाले मन्त्रिपरिषद् विस्तार गर्दा आफ्नो पक्षलाई सहभागी नगराएको भन्दै पौडेल समूहका नेता असन्तुष्ट छन् ।

यसै क्रममा देउवाले बुधबार दिउँसो ३ बजे सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बोलाएका छन् । त्यसभन्दा अगाडि पौडेलले आफ्नो पक्षको रणनीति तयार गर्न अलग्गै बैठक डाकेका छन् । दिउँसो १ बजे महामन्त्री शशांक कोइरालाको महाराजगन्जस्थित निवासमा बैठक बस्न लागेको पौडेलका सहयोगी चिरञ्जीवी अधिकारीले जानकारी दिए । बैठकमा मन्त्रिपरिषद् विस्तारसँगै पार्टीको १४ औँ महाधिवेशनको तयारी र १३ जिल्लाका क्रियाशील सस्यताको टुंगो लगाउने विषयमा छलफल हुने जनाइएको छ ।

देउवाले प्रधानमन्त्री नियुक्त भएको ७२ दिनपछि बुधबार परराष्ट्रमन्त्रीमा नारायण खड्कालाई नियुक्त गर्न सिफारिस गरेका थिए । राष्ट्रपति विद्यादेवी भण्डारीले नियुक्त गरेपछि मन्त्री खड्काले आजै शपथग्रहण गरी कार्यभार सम्हाल्दै छन् ।

प्रकाशित : आश्विन ६, २०७८ १२:५१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×