कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

दोलखामा सकियो पुनर्निर्माण

दोलखा — दोलखामा भूकम्पपीडितको निजी आवास पुनर्निर्माण सकिएको छ । अनुदान सम्झौता सुरु गरेको सिंगटीबाट शुक्रबार राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख सुशील ज्ञवालीले काम सकिएको घोषणा गरेका हुन् ।

दोलखामा सकियो पुनर्निर्माण

२०७२ फागुन ३० गते सिंगटीका ७७ वर्षीय जगतबहादुर खत्रीले आवास बनाउन पहिलो अनुदान सम्झौता गरेका थिए । उक्त सम्झौताको ६ वर्षमा काम लगभग सकिएको हो । प्राधिकरणका अनुसार भूकम्प अति प्रभावित १४ सहित ३२ जिल्लामा ९१ प्रतिशत निजी आवास निर्माण सकिएको छ । मंसिरसम्ममा अरू सबै काम सकिने ज्ञवालीले बताए । ९ प्रतिशत निजी आवासको काम जिल्ला कार्यान्वय इकाइ भवन तथा आवासबाट हुनेछ । प्राधिकरणले सबै जिल्ला कार्यान्वयन समन्वय इकाइका कार्यालय खारेज गरेको छ । ‘पुससम्म प्राधिकरणको पनि सबै काम हस्तान्तरण गरेर खारेज हुन्छ,’ ज्ञवालीले भने ।

भूकम्पले क्षति पुर्‍याएका अति प्रभावित १४ जिल्लाका ८ लाख ५५ हजार १ सय ४८ मध्ये ७ लाख १८ हजार ३ सय ९१ जनाले अनुदान सम्झौता गरेका छन् । हालसम्म ६ लाख १६ हजार ५२ वटा घर निर्माण भइसकेका छन् । दोलखामा कुल लाभग्राहीमध्ये ९७ प्रतिशतले घर निर्माण सकिसकेका छन् । बाँकी रहेको निजी आवासको पुनर्निर्माणको काम जिल्ला कार्यान्वय इकाइ भवन तथा आवासबाट हुनेछ । उक्त कार्यालयहरुलाई धमाधम समन्वय इकाइबाट सम्पूर्ण कागजातसहित काम हस्तान्तरण गरिएको छ ।

‘निजी आवास निर्माणको सबै कामको जिम्मा लिएका छौं,’ जिल्ला कार्यान्वयन इकाइका प्रमुख अर्जुन तामाङले भने, ‘केही दिन काम गर्न अन्योल हुन्छ, जनशक्ति व्यवस्थापनको चुनौती पनि छ ।’ खासगरी लाभग्राही सूचीमा भएर अनुदान सम्झौता गरेकाहरुलाई किस्ता भुक्तानीमा अन्योल हुने उनले बताए । ‘दोलखामा ३ हजार १ सय घर पुनर्निर्माण हुन बाँकी भएको तथ्यांक हामीले पाएका छौं,’ उनले भने, ‘मंसिरसम्ममा यी घर बनाउने लक्ष्य छ ।’

पुनर्निर्माणको जिम्मा पाएका कार्यालयहरु भने काम कसरी अघि बढाउने भन्नेमा अन्योलमा छन् । जिल्लाका विद्यालयहरु शिक्षा मन्त्रालयले कसलाई जिम्मा दिन्छ अझै टुंगो लाग्न सकेको छैन । निजी आवाससहित स्वास्थ्य र सरकारी भवन भने जिल्ला कार्यान्वयन इकाइलाई हस्तान्तरण गरिएको छ । असोज १ गतेबाट निजी आवासको सम्पूर्ण काम यी कार्यालयबाट हुनेछ ।

प्रकाशित : आश्विन २, २०७८ २०:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?