वाग्मतीमा मुख्यमन्त्री छान्नै सकस

मकवानपुर — वाग्मती प्रदेशमा विपक्षी गठबन्धनलाई भावी मुख्यमन्त्रीको नाम टुंग्याउन सकस परेको छ । अष्टलक्ष्मी शाक्य नेतृत्वको प्रदेश सरकार औपचारिक रूपमा अल्पमतमा परिसकेको अवस्थामा विपक्षी गठबन्धनमा रहेका माओवादी केन्द्र, कांग्रेस र नेकपा (एकीकृत समाजवादी) को सरकार बन्ने निश्चित भइसकेको छ । तर प्रदेशको मुख्यमन्त्रीको विषयमा गठबन्धनमा सहमति नजुट्दा शाक्य नेतृत्वको सरकारको आयु लम्बिँदै गएको छ ।

एमाले विभाजन भएर गठन भएको एकीकृत समाजवादीले प्रदेशमा औपचारिक मान्यता पाउँदासम्म पनि नयाँ सरकारको नेतृत्व गठबन्धनबाट कसले गर्ने भन्ने अझै टुंगो लागेको छैन । गठबन्धनबाट मुख्यमन्त्रीको दौडमा कांग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानियाँ र एकीकृत समाजवादीका नेता राजेन्द्र पाण्डे छन् । बानियाँले आधा समयका लागि भए पनि आफ्नो नेतृत्वमा सरकार बन्नुपर्ने भन्दै प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष लबिइङ गरिरहेका छन् । पाण्डेले एकल बहुमत रहेको एमाले विभाजन भएर सरकार गठन हुने अवस्था सिर्जना भएको भन्दै आफूले नेतृत्व पाउनुपर्ने दाबी गरिरहेका छन् । माओवादीले मुख्यमन्त्रीमा आफ्नो दाबेदारी नरहेको यसअघि नै स्पष्ट पारिसकेको छ ।
गठबन्धनमा नेतृत्वको विषयमा टुंगो नलाग्दा माओवादीले सोमबार दिउँसो १२ बजे र कांग्रेसले दिउँसो २ बजेका लागि बोलाएको संसदीय दलको बैठक अचानक स्थगन गरेका थिए । एकीकृत समाजवादीले आफ्ना १३ सांसदसहित शाक्य नेतृत्वको सरकार हटाउने र भावी मुख्यमन्त्रीका रूपमा पाण्डेलाई अगाडि बढाउने भन्दै हेटौंडामा तयारी अवस्थामा रहे पनि माओवादी र कांग्रेसले संसदीय दलको बैठक नराख्दा चुप बस्न बाध्य भएको छ । वाग्मतीमा सरकार निर्माणका लागि ५५ मत आवश्यक छ । प्रदेशसभामा माओवादीको २३, कांग्रेसको २२ र एकीकृत समाजवादीको १३ मतसहित कुल ५८ मत छन् । स्वतन्त्र सांसद प्रेम तामाङको साथ पनि गठबन्धनलाई छ । उनी जसपानिकट हुन् । एमालेका ४३ सांसद छन् । साना दलको सहयोगमा पनि एमालेको सरकार टिक्ने अवस्था छैन ।
नेता पाण्डेले प्रदेश सरकारको नेतृत्व आफूले गर्ने दाबी गरिरहेका छन् । उनले प्रदेश १ मा समेत गठबन्धनका तर्फबाट एकीकृत समाजवादीले नै नेतृत्व गर्ने दाबी गरे । ‘गठबन्धनका तर्फबाट ६ वटा प्रदेशमध्ये कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीबाट २/२ मुख्यमन्त्रीको भागबन्डा भएको छ,’ उनले भने । उनका अनुसार गण्डकी र कर्णालीमा कांग्रेसले नेतृत्व गर्ने भन्दै कर्णालीमा माओवादीले कांग्रेसलाई छोड्ने निर्णय भइसकेको छ भने लुम्बिनी र सुदूरपश्चिममा माओवादीले मुख्यमन्त्री पाइसकेको छ ।
कांग्रेस नेता बानियाँले वाग्मतीमा मुख्यमन्त्रीको विषय टुंगिन बाँकी रहेको बताए । ‘मुख्यमन्त्रीको विषय केन्द्रबाटै टुंगिन्छ । त्यसलाई आत्मसात् गर्दै अगाडि बढ्न जरुरी छ । प्रदेशमा नेतृत्वसहित मन्त्रालयको भागबन्डा प्याकेजमै गरेर अगाडि बढ्नुपर्ने माओवादी पक्षको भनाइ छ । ‘नेतृत्वको विषय टुंगिएपछि बिस्तारै सवै विषय टुंगिन्छ । हामी प्याकेजमै सहमति गरेर अगाडि बढ्छौं,’ माओवादी नेता शालिकराम जम्मकट्टेलले भने । माओवादीले बानियाँको नेतृत्वमा जाँदा सहज हुने भन्दै उनको पक्षमा लबिइङ गरिरहेको छ । कांग्रेसले वाग्मतीमा एकीकृत समाजवादी र आफूले आधा/आधा कार्यकाल मुख्यमन्त्रीका रूपमा नेतृत्व गर्न पाउनुपर्ने दाबी गरिरहेको छ ।
प्रक्रियामा पनि अलमल
प्रदेश सरकार शीघ्र परिवर्तनको हतारमा रहेको गठबन्धनमा कुन प्रक्रियाबाट अगाडि बढ्ने समेत अलमल देखिन्छ । हालकै अवस्थामा सरकार परिवर्तन गर्न कि ३० दिनसम्म शाक्यले विश्वासको मत लिनुपर्ने समय कुर्नुपर्ने हुन्छ वा उनीमाथि अविश्वासको प्रस्ताव लगेर विशेष अधिवेशन बोलाउनुपर्छ । तर मुख्यमन्त्रीको विषयमा सहमति नहुँदा कुन प्रक्रियाबाट अगाडि बढ्ने निचोडमा गठबन्धन पुग्न सकेको छैन । भावी मुख्यमन्त्री चयन गर्न सबैभन्दा छोटो बाटो अविश्वासको प्रस्ताव हो । त्यसका लागि प्रदेश प्रमुखमार्फत विशेष अधिवेशन आह्वान गर्नुपर्ने हुन्छ ।
अविश्वासको प्रस्ताव दर्ता गराउन नयाँ मुख्यमन्त्रीको नामसमेत किटान गर्नुपर्छ । भावी मुख्यमन्त्री को हुने भन्ने विषय नटुंगिँदा यो प्रक्रिया तत्कालै सुरु हुने अवस्था छैन । प्रदेशसभामा अविश्वासको प्रस्ताव दर्ता गराएर प्रदेश प्रमुखलाई गठबन्धनमा बहुमत रहेको जानकारी गराएपश्चात् उनले १५ दिनभित्र संसद्को विशेष अधिवेशन आह्वान गर्नुपर्ने प्रावधान छ । हाल प्रदेशसभाको अधिवेशन स्थगन भएका कारण यस्तो अवस्था सिर्जना भएको हो । मुख्यमन्त्री शाक्यले आफ्नो सरकार अल्पमत परेको र आफूविरुद्ध अविश्वासको प्रस्ताव आउने डरले अधिवेशन स्थगन गरेकी हुन् ।
पदाधिकारी चयन
एकीकृत समाजवादीले वाग्मती प्रदेश संसदीय दलका पदाधिकारी चयन छ । संसदीय दलको सोमबार हेटौंडामा बसेको बैठकले प्रमुख सचेतकमा मुनु सिग्देललाई चयन गरेको हो । दलका नेता पाण्डेको अध्यक्षतामा बसेको बैठकले उपनेतामा कृष्ण खनाल र सचेतकमा बसुन्धरा हुमागाईंलाई जिम्मेवारी दिएको छ । बैठकले शाक्य नेतृत्वको प्रदेश सरकार अल्पमतमा परेकाले गठबन्धन सरकार बनाउने निर्णय गरेको सचेतक हुमागाईंले बताइन् ।
‘गठबन्धनमा रहेका दलहरू कांग्रेस र माओवादी केन्द्रसँग समन्वय गर्ने जिम्मवेवारी दलका नेता पाण्डेलाई दिइएको छ,’ उनले भनिन् । बैठकले गठबन्धन सरकार बन्ने निश्चित भएको भन्दै साझा न्यूनतम कार्यक्रम मस्यौदा गर्न माधव पौडेल, बसन्त मानन्धर, मीना ज्ञवाली र बसुन्धरा हुमागाईंलाई जिम्मा दिएको छ ।
प्रकाशित : भाद्र २९, २०७८ ०९:११