कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

रामेछापमा खुल्दै विद्यालय

रामेछाप — स्थानीय प्रशासनले निषेधाज्ञा खुकुलो गरेसँगै रामेछापका स्थानीय तहहरू विद्यालय खोल्ने तयारीमा जुटेका छन् । मन्थली नगरपालिकाले भदौ २५ देखि आधारभूत र माध्यमिक तहका सबै कक्षाको पढाइ विद्यालयमै गर्ने भएको छ । कोरोना संक्रमणको जोखिम कम गर्न भौतिक दूरी, मास्क, सेनिटाइजर, साबुनपानीलगायतका मापदण्ड पालनालाई अनिवार्य गरिएको छ ।

रामेछापमा खुल्दै विद्यालय

नगर प्रमुख रमेशकुमार बस्नेतले सरकारले तोकेका मापदण्ड पूरा गरेर विद्यालयमा पठनपाठन थाल्न अब ढिलाइ गर्नु नहुने बताए । अनलाइन कक्षा सीमित वर्गका बालबालिकाहरूको मात्रै पहुँचमा रहेकाले कोरोना महामारीमा शैक्षिक क्षेत्र चौपट भएको उनको भनाइ छ । उनका अनुसार नगर क्षेत्रभित्रका ६६ विद्यालयमध्ये बालबालिकाहरूको भौतिक उपस्थितिमा पठनपाठन गराउँदा ४ वटा विद्यालयहरूलाई केही असजिलो हुने अवस्था छ ।

यसैबीच, गोकुलगंगा गाउँपालिकाले आइतबारदेखि नियमित कक्षा सञ्चालन गर्दै छ । पालिका प्रमुख खड्गबहादुर सुनुवारका अनुसार सरकारले तोकेको कार्यविधिबमोजिम १ बेन्चमा २ जना विद्यार्थी राखेर विद्यालय सञ्चालनको तयारी गरिएको छ ।

रामेछाप नगरपालिकाले केही दिनभित्रै विद्यालय सञ्चालन गर्नेबारे निर्णय लिने नगर प्रमुख नरबहादुर थापामगरले बताए । दोरम्बा गाउँपालिकामा आधिकारिक निर्णय नभए पनि विद्यालयमा पठनपाठन थाल्ने विषयमा प्रधानाध्यापकबीच छलफल चलिरहेको प्रमुख प्रशासकीय अधिकृत धिराज मरासिनीले बताए ।

कोरोनाको दोस्रो लहर फैलिएपछि गरिएको निषेधाज्ञाका कारण जिल्लाका अधिकांश सामुदायिक विद्यालय ठप्प छन् । केही विद्यालयले वैकल्पिक माध्यम अपनाएका थिए । तर यस्तो कक्षा सबैको पहुँचमा नरहेको भन्दै अभिभावकले विरोध जनाएका थिए ।


प्रकाशित : भाद्र २१, २०७८ १३:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सत्ता भागबन्डा मिलाउन प्रदेशमा मन्त्रालय फुटाउने प्रवृतप्रति तपाईंको के टिप्पणी छ ?