कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

वृद्धभत्ता लिन ५ किलोमिटर पैदल

अनिश तिवारी

सिन्धुपाल्चोक — एक हातमा चप्पल, अर्कोमा लौरो र छाताको सहारा । करिब ५ किलोमिटर पैदल हिँडेपछि थकित ज्येष्ठ नागरिकको एक समूह उर्लिएको बराङ्जी ठाडो खोलाछेउ पुगेर रोकियो । केहीबेर सुस्ताएपछि खोला तर्न कस्सिए, त्यहीबेला जलस्तर बढ्यो । खोलाको बीचतिर पुगेका उनीहरूमा खैलाबैला मच्चियो । अन्ततः हाते साङ्लो बनाएर खोला पार गरे ।

वृद्धभत्ता लिन ५ किलोमिटर पैदल

जुगल गाउँपालिका–५ ढाडे बजारबाट वृद्धभत्ता बुझेपछि आफ्नो थातथलो फर्किरहेका बराम्ची, सानो झिर्गाउँ, ठूलो झिर्गाउँ र दोबङका ज्येष्ठ नागरिकले खेपेको सास्ती हो यो । ठाउँठाउँमा पहिरो, हिलाम्मे र भासिएको सडक, ठाडो खोलामा उर्लिएको भेलका कारण बर्खायता गाउँपालिकाका सबैजसो ग्रामीण सडक ठप्प छन् । जसका कारण वृद्धभत्ता लिन पनि ज्येष्ठ नागरिकहरूलाई घण्टौं हिँड्नुपर्ने बाध्यता छ । ‘जोखिम पनि उत्तिकै छ,’ ७२ वर्षीया छोन्साङकुमारी लामाले भनिन्, ‘बर्खाभर यस्तै हुन्छ, भत्ताकै लागि दिनभर नहिँडी हुँदैन ।’

एक्लै आउँदा जोखिम हुने भएकाले सामूहिक रूपमा बजार झरेको उनको भनाइ छ । ‘भत्ता र नुनतेल लिन आउने चक्करमा कुन खोला र पहिरोले कहाँ कहिले बगाएर बेपत्ता बनाउँछ, ठेगान हुन्न । एकदमै डर मर्नु छ यहाँको यात्रा,’ लामो श्वास फेर्दै लामाले दुखेसो पोखिन् । वृद्धभत्ता लिन गाउँपालिकाका सबै ज्येष्ठ नागरिक ढाडेबजारस्थित बैंक पुग्नुपर्छ । ‘उता बाढीले ध्वस्त हेलम्बुतिर त घरघरै भत्ता पुर्‍याए भन्छन्, हाम्रोतिर आफैं बजार नपुगी सुख छैन,’ बराम्चीका ७२ वर्षीय ज्यानदोर्जे लामाले भने, ‘जसोतसो बैंक पुगे पनि सजिलै कहाँ पाइन्छ र ? घण्टौं लाइन बस्नुपर्छ ।’


बर्खा लाग्नुअघि अधिकांश ग्रामीण सडक सञ्चालनमा थिए । तर हिजोआज सबैजसो सडक क्षतविक्षत भएकाले सवारीसाधन हत्तपत्त गाउँ नआउने गरेका उनले सुनाए । जसका कारण ठूलो झिर्गाउँ, सानो झिर्गाउँ, पोखरी, दोबङ, खाग्रल, बोराङ, ओङवुजे, गोङ्मेलगायत दुर्गम क्षेत्रका ज्येष्ठ नागरिकलाई घण्टौं पैदलै बजार पुग्नुको विकल्प छैन । जुगल–५ का अध्यक्ष सनत अधिकारीका अनुसार भत्ता लिनकै लागि बजार धाउनुपर्ने ज्येष्ठ नागरिकको संख्या गाउँपालिकाभर एक हजारको हाराहारीमा छ ।

प्रकाशित : भाद्र १७, २०७८ १०:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?