कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मकवानपुरका आइसोलेसन बन्द

सुवास विडारी

मकवानपुर — कोरोना संक्रमण घटेसँगै मकवानपुरमा स्थापना गरिएका सबै आइसोलेसन सेन्टरहरू बन्द गरिएको छ । दैनिक रूपमा थपिने संक्रमितको संख्या घटेसँगै आइसोलेसन सेन्टरहरू बन्द गरिएको हो । कोरोनाको दोस्रो लहरसँगै हेटौंडा उपमहानगरपालिका–६ गौरीटार रंगशालामा १ सय २० बेडको आइसोलेसन सञ्चालनमा आएको थियो ।

संक्रमितलाई आवश्यक औषधि र खाद्यान्नको समेत व्यवस्था उपमहानगरले गर्दै आइरहेको थियो । तर लामो समयसम्म आइसोलेसन संक्रमितविहीन बनेपछि बन्द गराइएको उपमहानगरका जनस्वास्थ्य निरीक्षक भोला चौलागाईंले दाबी गरे ।

जिल्लामा संक्रमितको चाप बढेसँगै जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रले २ निजी अस्पताललाई पनि आइसोलेसन सञ्चालन गर्न निर्देशन दिएको थियो । उक्त निर्देशनअनुसार हेटौंडाको चुरेहिल अस्पतालमा १० बेडको आइसोलेसन सञ्चालनमा आएको थियो । उक्त आइसोलेसन पनि बन्द गरिएको छ । मनहरी गाउँपालिकाको २५ बेडको आइसोलेसन सेन्टर पनि अहिले बन्द छ । जिल्लाका १० वटै स्थानीय तहले स्थापना गरेका आइसोलेसन पनि पूर्ण रूपमा बन्द भएका स्वास्थ्य कार्यालयले जनाएको छ ।

संक्रमण पुष्टि भएका अधिकांश व्यक्ति होम आइसोलेसनमै बस्न रुचाएका कारण पनि संस्थागत आइसोलेसन बन्द भएका चौलागाईंको भनाइ छ । पछिल्लो समय दैनिक ३०–४० जनासम्म संक्रमित थपिइरहेको र सबैजसो घरमै बस्दै आएका उनले बताए । ‘तर अधिकांश संक्रमितहरू परिवारमा घुलमिल भएको पाइयो । संक्रमितहरू परिवारका अन्य सदस्यसँगै खाने, बस्ने तथा घरबाहिर पनि निर्धक्क हिँडिरहेका छन्,’ उनले भने । भदौ १४ सम्म जिल्लामा कोरोनाका कारण मृत्यु हुनेको संख्या १ सय ६१ पुगेको छ ।

२५ प्रतिशतले लगाए पूर्ण खोप

मकवानपुरका १८ वर्षमाथिका झन्डै २५ प्रतिशतले कोरोनाविरुद्धको खोपको पूर्ण मात्रा लगाएका छन् । संघीय सरकारले माघ १४ देखि ७ वटै प्रदेशबाट खोप अभियान सुरु गरेको थियो । त्यस दिन जिल्लाका १ सय १३ जना स्वास्थ्यकर्मी अभियानमा सामेल भएका थिए । त्यसयता भदौ १४ सम्म ७५ हजार ६ सय ७७ जनाले खोप लगाइसकेका कार्यालयका सूचना अधिकारी लक्ष्मण घिमिरेले बताए ।

जिल्लामा ४ लाख ६४ हजार ६ सय १३ जनसंख्या छ । १८ वर्षभन्दा बढी उमेर भएकाको संख्या ३ लाख ४ हजार ६ सय ४७ छ । ‘त्यसमध्ये खोप लगाउनेको प्रतिशत २४.८४ छ,’ उनले भने, ‘पहिलो मात्रा लगाउने संख्या १ लाख ९ हजार ७ सय ५५ छ ।’

प्रकाशित : भाद्र १६, २०७८ ०७:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?