कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

‘मकवानपुरका विद्यालय यसै वर्षभित्र पुनर्निर्माण’

कान्तिपुर संवाददाता

हेटौंडा — २०७२ वैशाखको भूकम्पले विद्यालय भवन क्षतविक्षत बनाएपछि विद्यार्थी घाम, पानी र सिरेटो सहँदै टहरामा पढ्दै आएका थिए । त्यही टहरा पनि पर्याप्त नहुँदा एउटै कोठामा २ वटा कक्षाका विद्यार्थी पढाउनुपर्ने बाध्यता थियो ।

‘मकवानपुरका विद्यालय यसै वर्षभित्र पुनर्निर्माण’

जाइकाको ४ करोड ६९ लाख १ हजार रुपैयाँ आर्थिक सहयोगमा केही महिनाअघि तीनतले सुविधायुक्त भवन बनेपछि थाहा–७ डाँडावासस्थित सुन्दरदेवी माविका ४ सय विद्यार्थीलाई पढ्न सहज भएको छ ।

भूकम्पप्रतिरोधी र अपांगमैत्री भवनको निर्माण तोकिएको समयभन्दा ६ महिनाअघि सकिएको प्रधानाध्यापक प्रतापसिंह गोलेले बताए । प्राविधिक विषयको पढाइ हुने उक्त विद्यालयमा ९५ प्रतिशत तामाङ समुदायका बालबालिका पढ्छन् । भूकम्पले मकवानपुरका ५ सय १६ विद्यालयमध्ये ४ सय ९ विद्यालयका २ हजार ३ सय १० कक्षाकोठामा पूर्ण क्षति पुगेको थियो ।

पछिल्लो ३ वर्षयता त्यस्ता विद्यालयको ३ वटा मोडालिटीमा पुनर्निर्माण कार्य अगाडि बढाइएको थियो । जसअनुसार गत असार मसान्तसम्म ३ सय ७५ विद्यालयका १ हजार ६ सय ६५ कक्षाकोठा निर्माण भई पठनपाठनसमेत थालिएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाइ (शिक्षा) का प्रमुख बद्री पाठकले बताए । उनका अनुसार ३४ विद्यालयका २ सय ८२ कक्षाकोठा निर्माणाधीन छन् ।

हाल एसियाली विकास बैंकको ऋण सहयोगमा थप ४ विद्यालयका भवन निर्माण गर्न टेन्डर आह्वान भएको छ । चालु आवभित्रै सबै विद्यालयको पुनर्निर्माण भइसक्ने उनको भनाइ छ । जग्गा अभाव, न्यून विद्यार्थी, यातायातको पहुँच नपुगेका र मर्जरजस्ता कारणले अन्य १ सय ३८ विद्यालयलाई निर्माण कार्यक्रममा समावेश गर्न नसकिएको उनले बताए ।

प्रकाशित : श्रावण १९, २०७८ १०:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?