कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

चेपाङ बस्तीमा खाद्यान्न संकट

कान्तिपुर संवाददाता

धादिङ — यतिखेर गाउँमा मकै पाकेको छैन । ज्याला मजदुरी गर्न विकास निर्माणका काम ठप्प छन् । काम नपाएपछि धादिङका चेपाङ समुदाय अहिले खाद्यान्नको समस्या व्यहोरिरहेका छन् ।

जिल्लाको दक्षिण भेकका महाभारत पहाडका जंगल छेउछाउ हरेक वर्ष नयाँ जग्गामा अस्थायी बसोबास गर्दै बालीनाली लगाउने चेपाङहरूले केही वर्षयता एकै स्थानमा गृहस्थी जमाएका छन् । तर, उनीहरूलाई वर्षभरिका लागि खाद्यान्नको भने समस्या हुन थालेको छ ।

कुलमान चेपाङ बेनीघाट रोराङ–८ का निर्वाचित वडा सदस्य हुन् । जिल्लामा सबैभन्दा बढी चेपाङ समुदायको बसोबास रहेको बेनीघाटमा कुलमानको ६ जनाको परिवार छ । उनको परिवारमा खानेकुराको अभाव हुन थालेको छ । ‘निषेधाज्ञापछि गाउँका पसलेले उधारो पनि दिन छोडेका छन् । ज्याला गर्नेहरूले स्वतन्त्र रूपमा हिँडडुल गर्न पाएका छैनन् । बाहिर हिँड्नै नपाएपछि काम गर्न पाउने भएनन्,’ उनले भने, ‘गाउँभरि भोकमरी आइसक्यो । कसै कसैकोमा त सिस्नुमा मिसाउने पिठो पनि छैन । मेरो वडाको सबै चेपाङ परिवारमा खाद्यान्नको अभाव सुरु भएको छ ।’

महाभारत लेकमा रहेका चेपाङ बस्तीका मानिस खानेकुराको खोजी गर्न जंगल चहार्न थालेको बेनीघाट रोराङ–८ का वडाध्यक्ष वीरबहादुर श्रेष्ठले बताए । ‘वडामा लगभग तीन सय ५० चेपाङ परिवार छन् । अधिकांशलाई चैतदेखि साउनसम्म हातमुख जोर्न समस्या हुन्छ,’ उनले भने । महाभारत लेकको दुर्गम बस्तीमा मोटर बाटो, बिजुली, खानेपानी सुविधा छैन । यहाँ सामान्य लेखपढ गर्न सक्ने भेट्टाउन पनि मुस्किल हुन्छ । यतिबेला खाद्यान्न अभाव भएका बस्ती यारवाङ, भारिङटार, जिरवाङ, केततुङ, दुङवाङ, जिरवाङ, धाङमाङ, साचाक, मिजार गाउँ र वरपुर हुन् । यी बस्तीका हरेक परिवारमा पाँचदेखि १४ जनासम्म छन् । वडाध्यक्ष श्रेष्ठले भोक र रोगसँग एकसाथ लड्दै आएका चेपाङ समुदायको समस्याबारे गाउँ कार्यपालिका बैठकमा पनि उठाउँदै आएको बताए ।

गत वर्ष कोरोना महामारी रोक्न गरिएको लकडाउनले मकैमा मल हाल्न नपाउँदा उत्पादन कम भएको थियो । त्यसले पनि यो वर्ष चाँडै खाद्यान्न सकिएको हो । चेपाङ बस्तीमा भोकमरी परेको गुनासो आएपछि गाउँपालिकामार्फत वडाध्यक्षको सिफारिसमा परिवारको अवस्था हेरेर ५ देखि १० हजारसम्मको खाद्यान्न खरिद गरिदिने निर्णय भएको गाउँपालिका अध्यक्ष पित्तबहादुर डल्लाकोटीले बताए ।

प्रकाशित : श्रावण १४, २०७८ ०९:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?