दलहरूले उल्लंघन गरे निषेधाज्ञा
काभ्रे — दिनहुँजसो कोरोना संक्रमितको संख्या बढिरहे पनि काभ्रेमा राजनीतिक दलहरूले नै निषेधाज्ञा उल्लंघन गर्न थालेका छन् । जिल्ला प्रशासन कार्यालयले जारी गरेको निषेध आदेशमा भेला, जुलुस, सभा, सम्मेलन गर्न रोक लगाइए पनि राजनीतिक दलहरूले सभा, भेला, बैठक, जुलुस गर्न थालेका हुन् ।
कोरोना संक्रमणको दोस्रो लहर सुरु भएसँगै गत वैशाख १९ बाट जारी निषेध आदेश साउन २५ सम्म कायम छ । सार्वजनिक यातायात, पसल, व्यवसाय सञ्चालनमा आए पनि प्रशासनले सबै प्रकारका भेला, सभा, जुलुस, सम्मेलन, सिनेमा हल, पार्टी प्यालेस, स्विमिङ पुल, मनोरञ्जन स्थल, सैलुन, ब्युटीपार्लर, जिमखाना सञ्चालन गर्न अनुमति दिएको छैन । तर जिल्लामा एमालेको माधवकुमार नेपाल समूहले नेता नेपाललाई नै प्रमुख अतिथि बनाएर गत शनिबार जिल्ला कमिटी बैठक गर्यो ।
बनेपास्थित एक पार्टी प्यालेसमा भएको कार्यक्रममा ५ सयभन्दा बढी नेताकार्यकर्ता सहभागी थिए । बैठकको अध्यक्षता गरेका जिल्ला कमिटी अध्यक्ष टोकबहादुर वाइबा मण्डन देउपुर नगरपालिका प्रमुखसमेत हुन् । वाइबाले प्रशासनको मापदण्ड पूरा गरेरै बैठक गरिएको दाबी गरे । ‘स्वास्थ्य मापदण्ड पूरा गरेर नै बैठक बसेका हौं, भौतिक दूरीसमेत कायम गरिएको थियो,’ वाइबाले भने, ‘उल्लंघन भएको छैन ।’
नेकपा (माओवादी केन्द्र) को महाभारत गाउँपालिका कमिटीले पनि आइतबार विभिन्न पेसा, व्यवसायमा आबद्ध पालिकाका नेता तथा कार्यकर्ताको भेटघाट तथा प्रशिक्षण गरेको छ । पार्टीको स्थायी कमिटी सदस्य देवेन्द्र पौडेललाई प्रमुख अतिथि बनाएर गरिएको कार्यक्रममा पूर्वराज्यमन्त्री सूर्यमान दोङ, प्रतिनिधिसभा सदस्य गंगाबहादुर दोङ, प्रदेशसभा सदस्य रत्न ढकाललगायत करिब ५ सय नेताकार्यकर्ता सहभागी थिए ।
कार्यक्रमको अध्यक्षता गरेका जिल्ला कमिटी सदस्य सुजन तामाङले प्रशासनको अनुमति लिएरै कार्यक्रम गरेको दाबी गरे । प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले भने बैठक, सभा, सम्मेलन गर्न कसैलाई अनुमति नदिएको स्पष्ट पारे । जिल्लामा राजनीतिक अगुवाहरूले नै नियम उल्लंघन गर्ने गरेको उनको आरोप छ ।
सार्वजनिक यातायात खुल्नुअघि असार २१ सम्म ४ सय ७९ मा सीमित सक्रिय संक्रमितको संख्या मंगलबारसम्म ६ सय २१ पुगिसकेको छ । सोमबार एकै दिन जिल्लामा परीक्षण गरिएका मध्ये १ सय ९ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । पछिल्लो एक सातामा मात्रै
जिल्लामा ५ सय ५३ जना सक्रिय संक्रमित थपिएका छन् । निषेध आदेश खुकुलो भएसँगै संक्रमितको संख्या उकालो लागेको हो । असार ७ गतेदेखि निजी सवारीसाधन जोरबिजोर प्रणालीका आधारमा सञ्चालन गर्ने निर्णय गरेको प्रशासनले असार १४ देखि सार्वजनिक यातायात पनि जोरबिजोर प्रणालीका आधार सञ्चालन गर्ने निर्णय गरेको थियो ।
यो प्रणालीसमेत असार २१ गतेबाट खारेज भइसकेको छ । सबै खाले पसल, व्यवसाय, सार्वजनिक यातायातसमेत सञ्चालन भएका कारण जिल्लाका प्रमुख बजारमा मानिसको भीडभाड छ । बैंक, वित्तीय संस्था, सरकारी कार्यालयमा पनि मानिसको भीड लाग्ने गरेको छ । माक्स, सेनिटाइजर, भौतिक दूरीजस्ता स्वास्थ्यका मापदण्डसमेत पालना भएका छैनन् ।
प्रकाशित : श्रावण १४, २०७८ ०९:५६